साझा नेटवर्क
अजिज अलि, दोहा ।
लाखौ नेपालीहरुको कार्यक्षेत्र रहेको कतारमा नेपाली चिकित्सकहरु सहितको पूर्ण नेपाली व्यवस्थापनमा ‘कान्तिपुर मेडिकल सेन्टर’ स्थापना भएको छ । कतारका लागि नेपाली राजदुत प्रोफेसर डाक्टर रमेश प्रसाद कोइराला द्वारा उद्घाटन गरिएको उक्त मेडिकल सेन्टर कतारमा लामो समय देखि व्यवसाय गर्दै आइरहेका व्यवसायी बिकास प्रसाई र राजेन्द्र कुमार (आरके) शर्मा को सयुक्त लगानीमा संचालनमा ल्याइएको हो ।
कतारमा पहिलो पटक स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्ने कारण बताउदै सन्चालकद्वयले लाखौ संख्यामा नेपाली समुदाय विभिन्न क्षेत्रमा कार्यरत रहेको कतारमा भाषागत समस्याले सामान्य रोगको पनि उपचारमा कठिनाइ भोगिएको र नेपाली दक्ष चिकित्सकहरुको सेवा अत्यावस्यक देखिएकोले खास गरेर श्रमिकहरुलाइ सहज र नेपाली दक्ष चिकित्सक द्वारा सेवा दिने हेतुले मेडिकल सेन्टर संचालन गरिएको बताए ।
आवस्यकता अनुसार सेवा सुबिधा बढाउदै लैजाने बताउदै हाल आवस्यक प्रबिधिहरु सहित ३ जना नेपाली डाक्टरहरु डा. नितेश अर्याल (जनरल फिजिसियन) डा. सबित सुनार (जनरल फिजिसियन) र डा. नितेश पोख्रेल (छाला रोग बिशेसज्ञ) रहेका छन ।
उक्त उद्घाटन कार्यक्रममा बोल्दै दोहाका पुराना एवं सफल व्यवासायी बद्रि पाण्डेले २००३ तिर नेपालीहरुको स्वास्थ्यलाई ख्याल राख्दै आफुहरुले पनि मेडिकल सेन्टर स्थापना गर्ने लामो प्रयास गरेको तर कतार सरकारबाट मान्यता पाउने प्रक्रिया निक्कै कठिन भएकाले त्यो तत्कालिन अवस्थामा प्रयास सफल नभएको र ढिलै भए पनि प्रसाई र शर्माद्वयले त्यो सपना साकार पार्नु भएकोमा धन्यबाद व्यक्त गर्दै व्यवसायिक सफलताको कामना गरेका थिए ।
अर्का व्यवासायी एवं सामाजिक कार्यमा सक्रिय सागर नेपालले कतारमा रहेका सबै नेपालीका लागि हर्षको बिषय भएकोले यसको प्रचार प्रसार गरेर सहयोग गर्ने प्रतिबदता व्यक्त गरे ।
एनआरएनए आइसीसी सल्लाहकार टीबी कार्की र एनसीसी कतारका अध्यक्ष बिनेश तामांगले पनि शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थामा कार्यरत सामाजिक अगुवा व्यवसायीहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको सहजीकरण संचारकर्मी अजिज अलिले गरेका थिए ।
८० प्रतिशत नेपाली कामदारहरु बस्ने क्षेत्र सनैयाको २३ नम्बरमा अवस्थित उक्त मेडिकल सेन्टरको स्पोन्सरको रुपमा कतारी नागरिकहरुद्धय मोहमद खालिद अल–खत्तर र इस्सा अल कुवारी अध्यक्ष छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend