साझा नेटवर्क
सुवास वि.सी, पाल्पा जेठ २५।
कृषि उद्यमी नगेन्द्रराज पाण्डेयले अनारको व्यवसायिक खेती सुरु गरी मदनपोखरालाई कृषि पर्यटनको केन्द्र बनाउन सफल हुनुभएको छ । उद्यमशील कृषक पाण्डेयले पाल्पा जिल्ला मदनपोखरा –५ वडेआँपस्थित आफ्नै बारीमा थाइल्याण्ड र भारतबाट ल्याएको भाग्वा जातको २ सय वटा अनारका वोटले उत्पादन दिन थालेको बताउनुभयो ।

८ रोपनी बारीमा लगाइएका अनारले यो वर्ष प्रति वोट ६ किलो, अर्को वर्ष १२, त्यसपछि ३० किलोसम्म लगातार २५ वर्ष उत्पादन लिन सकिने जानकारी दिनुभयो । पाण्डेयले यस वर्ष करिव १ हजार किलो अनार उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ । साउन १४ गते २ वर्ष पुग्ने अनारका बोटमा लागेका ९० प्रतिशत फुल टिपेर हटाएको र बाँकी १० प्रतिशतले प्रतिवोट ६ किलोसम्म उत्पादन दिने पाण्डेयको दावी छ ।
पाण्डेयको बारीमा अनारकोे भाग्वा जातका अतिरिक्त कान्धारी १ र २, सिन्दुरिया, मृदुला, गणेश, रैथानै गरी ७ प्रजाती पनि रहेका छन् । नर्सरीमा हाल २ हजार अनारका विरुवा रहेका छन् । एक विरुवाको बिक्री मूल्य २ सय रुपैँया रहेको छ । सम्भावना बोकेका जिल्लामा नर्सरी स्थापना गर्ने र अनार रोपणको कार्यक्रम ल्याउने हो भने ५ वर्षभित्र अनारमा आत्मनिर्भर भई निर्यात गर्न सकिने पाण्डेको भनाई छ ।
‘मध्य पहाडी जिल्लाका चिलाउन घारीलाई अनार घारी बनाउन सकिन्छ ।’ २०३२–०३३ सालदेखि कृषिका विभिन्न प्रविधिको परीक्षण गर्नुभएका पाण्डेयले वंगुरपालन, जर्मनी भेंडापालन, अंगोरा जातको खरायोपालन, परेवा, भैंसीपालन, कुखुरापालन, मौरीपालनको अभ्यास गर्नुभएको छ । कफी खेती, कुरिलो खेती, व्यवसायिक तरकारी, बेमौसमी गोलभेंडा, प्लाष्टिक घरभित्र गोलभेंडा खेती गरी कृषि उद्यमीमा रुपमा आफूलाई परिचित गराउनुभएको छ ।
पाण्डेयले विकास गर्नुभएको प्लाष्टिक टनेल र प्लाष्टिक पोखरी आज देशभर प्रचलनमा आएको छ । आत्मनिर्भरताका लागि उत्पादन भन्ने प्रसंग चलिरहेका बेला पाण्डेयले मध्य पहाडी भेगमा अनारको व्यवसायिक खेती गर्न सकिने र लटररम्म फलाएर राम्रो आम्दानी लिन सकिने प्रविधि परीक्षण गरेकाले अनार खेतीको जानकारी लिन कृषक भित्रिएको हो ।
पाण्डेयले आजै प्यूठानबाट आएको कृषकहरुलाई अनार खेतीले स्वरोजगारको अवस्था सृजना हुने र आयात प्रतिस्थापन भै आम्दानी बढाउन सकिने विश्वास दिलाउनुभयो । व्यवसायिक तरकारी खेतीका लागि प्रसिद्धी कमाएको मदनपोखरालाई पाण्डेको मेहनत र अनार खेती प्रविधि विस्तारले थप टेवा पुग्ने स्थानीय बासिन्दाको भनाई रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend