साझा नेटवर्क
दर्शन सुनार, कतार साउन १० ।
वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेकी ललितपुरकी सिर्जना डंगोलको स्तन (ब्रेस्ट) क्यान्सरका कारण उपचारका क्रममा निधन भएको छ। करिब १७ महिनाअघि कतारको एक निजी क्लिनिकमा कार्यरत रहन पुगेकी सिर्जनाको गत जुलाई ७ मा दोहास्थित हमद अस्पतालमा निधन भएको हो।
कतार पुगेको करिब एक वर्षपछि उनलाई स्तन क्यान्सर भएको पुष्टि भएको थियो। रोग पत्ता लागे लगत्तै कतारको सरकारी हमद अस्पतालमा उनको उपचार सुरु गरिएको थियो। त्यस क्रममा उनले चार चरणको जटिल ‘किमोथेरापी’ समेत गराएकी थिइन्।
सिर्जना बिरामी परेदेखि नै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले उपचार, कागजी प्रक्रिया र समन्वयमा निरन्तर सहयोग गरिरहेको थियो। एनआरएनए एनसीसी कतारका उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक सन्तोष पौडेल, उपाध्यक्षद्वय टोकल लामा र रोशन अर्याल तथा पत्रकार तिलु शर्मा पौडेलले हमद अस्पताल पुगेर शव व्यवस्थापन एवम् नेपाल पठाउने कानुनी प्रक्रियामा सहजीकरण गरेका थिए।
कानुनी र प्रशासनिक प्रक्रिया पूरा भएपछि सिर्जनाको पार्थिव शरीरलाई कतार एअरवेजको उडानमार्फत उनका श्रीमान् दिनेश डंगोलले स्वदेश फर्काएका छन्। मृतक सिर्जनाका श्रीमान् र दुई छोराहरू छन्। परिवारका अनुसार आजै काठमाडौँको पशुपति आर्यघाटमा धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिँदैछ।
श्रमिक विभाग संयोजक सन्तोष पौडेलले प्रवासमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरूलाई आफ्नो श्रम स्वीकृति, स्वास्थ्य बीमा तथा अन्य अत्यावश्यक कागजातहरू सधैँ अद्यावधिक (नवीकरण) राख्न आग्रह गरेका छन्।
प्रवासमा कुनै पनि बेला गम्भीर स्वास्थ्य समस्या वा आपत्कालीन अवस्था आउन सक्छ। यस्तो बेला श्रम स्वीकृति र बीमा कागजात अद्यावधिक भएमा उपचार सेवा, बीमा दाबी तथा उद्धारका प्रक्रियाहरू निकै सहज र द्रुत हुने पौडेलले बताए । कागजातको बेवास्ता गर्दा दुःखको घडीमा थप प्रशासनिक जटिलता व्यहोर्नुपर्ने भएकाले सबै श्रमिक साथीहरू सचेत हुनुपर्ने उनको भनाई रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend