साझा नेटवर्क
दर्शन सुनार, कतार जेठ ३१।
कतारमा रहेका गुल्मेलीहरूको साझा सामाजिक संस्था गुल्मी सेवा समाज कतारले आफ्नो वार्षिक भेला कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। समाजका अध्यक्ष मित्र बिएसको सभाअध्यक्षता तथा समाजका प्रमुख संरक्षक बुद्ध पाण्डेयको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच “२३ औ बार्षिक भेला कार्यक्रम २०२६” सम्पन्न गरेको हो ।

बिधीगत रूपमा ब्यानर अनावरण तथा दिप प्रज्वलन गर्दै बार्षिक भेलाको अवसरमा केक काटेर कार्यक्रमको उद्वंघाटन गरिएको थियो। समाजका वरिष्ठ उपाध्यक्ष सुरज चन्द बोहोराले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाले स्थापना कालदेखि नै गर्दै आएको सामाजिक गतिविधिहरुको बारेमा समाजका सल्लाहकार भिम तरामु मगरले स्पष्ट पारेका थिए ।

कतारमा रहेका गुल्मेली तथा गैरगुल्मेलीहरुको उल्लेखनीय सहभागिता रहेको बार्षिक भेलामा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको मातहतमा रहेका जिल्ला संस्थाहरुको समेत उपस्थिति रहेको थियो । बार्षिक भेलालाई सम्बोधन गर्दै वक्ताहरूले गुल्मी सेवा समाज कतारले स्थापना कालदेखि नै कतारमा रहेका नेपाली श्रमिक विशेषगरी गुल्मेली समुदायको सुख दुःखमा साथ दिँदै आएको उल्लेख गरेका थिए ।साथै गृह जिल्ला गुल्मीमा संस्थाले चलाएको छात्रवृत्ति अभियानको बारेमा आर्थिक अभावमा रहेका परिवारलाई सहयोगको बारेमा समेत खुलेर प्रशंसा गरेका थिए ।

समाजले एक बर्षमा गरेका उत्कृष्ट कार्यसम्पादनको प्रतिवेदन समाजका सचिब कुमार राहाडी मगरले भेलामा पेश गरेका थिए । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष साजन लौडारीले विदेशमा रहेर पनि आफ्नो जन्म भूमिप्रतिको दायित्व निर्वाह गर्दै आएको गुल्मी सेवा समाज कतारले सञ्चालनमा ल्याएको सामाजिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिन आग्रह गरे । उनले समाजले कतार र गृह जिल्ला गुल्मी बीच सामाजिक सम्बन्धको रूपमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ व्यापक सामाजिक अभियान सञ्चालन गर्न सुझाव समेत दिएका थिए।

गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक बुद्ध पाण्डेयले आफ्नो मन्तव्य व्यक्त गर्दै समाजले गृह जिल्ला गुल्मीमा विगत लामो समयदेखि सञ्चालन गर्दै आएको छात्रवृत्ति अभियान कोरोना महामारीपछि उक्त अभियानलाई निरन्तरता दिन नसकिएकोमा दुःख व्यक्त गरे । पान्डेयले समाजले अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेको बताउँदै कतारमा रहेका सम्पूर्ण गुल्मेली तथा गैर गुल्मेली दाजुभाई तथा दिदीबहिनीहरूलाई उक्त कोषमा आबद्ध भई सहयोग गर्न आग्रह गरे ।
समाजका अध्यक्ष मित्र बिएसले बार्षिक भेलालाई सम्बोधन गर्दै समाजले प्रवासमा रहेर पनि मातृभूमिको विकास र समाजसेवामा निरन्तर योगदान दिँदै आएको संस्था भएको उल्लेख गर्दै आगामी दिनमा पनि कतार तथा गृह जिल्ला गुल्मीमा भई परि आउने समस्याहरुमा सहयोगका लागी संस्थाको महत्त्वपूर्ण भुमिका रहनुका साथै सामाजिक अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कतारमा रहेका नेपाली श्रमिकहरुलाई आईपरेका समस्याहरुमा तथा आपतकालिन राहत तथा अन्य संघ संस्थाहरुले सञ्चालन गरेका सामाजिक कार्यमा गुल्मी सेवा समाज कतार सदैब हातेमालो गर्न तयार रहेको बिएसको भनाई रहेको थियो । कार्यक्रमको सहजीकरण समाजका सचिब कुमार राहादी मगरले गरेका थिए ।
गुल्मी सेवा समाज कतारले बिगत लामो समय देखि कतारमा पनि विभिन्न सामाजिक तथा मानवीय गतिविधि सञ्चालन गर्दै आएको छ। गुल्मी सेवा समाज कतारको प्रतिबद्धता” निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मुल नाराका साथ कतारमा सन २००३ मा स्थापित सामाजिक संस्था हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend