साझा नेटवर्क
सज्जन ढकाल, गुल्मी २९ पुस । देशभर युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका बेला गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङ्ग स्थित धुवाँखोलामा गाउँमै सम्भावना खोज्ने अभ्यास सफल बन्दै गएको छ।
पेशाले गाडी चालक रहेका राजु गुरुङले व्यावसायिक रूपमा थालेको किवी खेती अहिले उल्लेखनीय आम्दानीको स्रोत बनेको छ। समुद्र सतहदेखि करिब १६०० मिटर उचाइमा रहेको धुवाँखोला क्षेत्रमा गुरुङले १० रोपनी जमिनमा २०० बोट किवी रोपेका छन्। ‘तमु कृषि तथा पशु फर्म’ मार्फत यस वर्ष उनले ८ क्विन्टल किवी उत्पादन गरी करिब तीन लाख रुपैयाँ बराबरको कारोबार गरेका छन्।
किवी प्रतिकिलो ३५० रुपैयाँका दरले बिक्री भएको र बजारका लागि बुटवलसम्म ढुवानी गरेको बताए। चार वर्षअघि सुरु गरिएको यो खेती निजी लगानी संगै कृषि ज्ञान केन्द्र गुल्मीको प्राविधिक सहयोग तथा अनुदानमा अघि बढाइएको हो। किवीको बोट रोपेको तेस्रो वा चौथो वर्ष देखि फल दिन थालेको र आगामी वर्षमा उत्पादन अझै बढ्ने अपेक्षा गरिएको छ। सुरुमा पानीको अभावका कारण थोपा सिँचाइ प्रणाली प्रयोग गरिएको थियो।उत्पादन सम्भावना देखिए पनि स्थायी बजार र मूल्य सुनिश्चितता चुनौतीका रूपमा रहेको गुरुङको भनाइ छ। “उत्पादन गर्न किसान तयार छन् । संकलन केन्द्र र चिस्यान गृहजस्ता संरचना आवश्यक छन्।
यस विषयमा सम्बन्धित निकायले ध्यान पुग्नु जरुरी देखिन्छ । समुन्द्री सतहको १४०० देखि १६०० मिटर उचाई आसपासको क्षेत्र किवी खेतीका लागि उपयुक्त मानिन्छ।किवीको बोट रोपेपछी तेस्रो वा चौथो वर्ष देखि फल दिन सुरु गर्ने भएकाले प्रारम्भिक धैर्य र दीर्घकालीन सोच आवश्यक पर्ने गुरुङको अनुभव छ। उपयुक्त प्रविधि, सरकारी सहकार्य र बजार पहुँच सुनिश्चित भए पहाडी जिल्लामा किवी खेती दीर्घकालीन आम्दानीको आधार बन्न सक्छ। गुरुङको प्रयास ग्रामीण उद्यमशीलता र आत्मनिर्भरताको उदाहरणका रूपमा देखिएको छ। राज्यको नीतिगत समर्थन र बजारीकरण व्यवस्थापन सुदृढ भए यस्ता अभ्यासले विदेश पलायन घटाउन र गाउँमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend