साझा नेटवर्क
गुल्मी, २४ पौष । रेसुङ्गा नगरपालिका, गुल्मीको १८ औं नगरसभा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीज्यूले चालु आ.व. २०८२-८३ को प्रगति समीक्षा प्रस्तुत गर्दै यस आ.व.को हिउँदे अधिवेशन सम्पन्न भएको छ ।रेसुङ्गा नगरपालिकाको आ.व. ०८२/८३ को आन्तरिक राजश्वतर्फ रु. १ करोड ९८ लाख प्रक्षेपण गरिएकोमा हालसम्म रु. १ करोड १५ लाख ७७ हजार ४ सय २२ रकम संकलन भईसकेको त्यसैगरी भौतिक प्रगति करिब ४० प्रतिशत र वित्तीय प्रगति चालु तर्फ ३८ प्रतिशत र पूँजीगत तर्फ १८ प्रतिशत गरी जम्मा ३२ प्रतिशत वित्तीय प्रगति भएको नगर प्रमुख पन्थीले बताउनु भएको थियो ।
नगरपालिकाका विधान समितिका संयोजक कृष्ण प्रसाद पाण्डेले सभामा पेस गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नगरसभाबाट सर्वसम्मतरुपमा पारित भएको छ । उक्त नगरसभामा नगरप्रमुख खिलध्वज पन्थीले प्रस्तुत गरेको वक्तव्यको पुर्ण पाठ:

रेसुङ्गा नगरपालिकाको यस गरिमामय नगरसभामा उपस्थित नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, विषयगत समितिका संयोजकज्यूहरू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू, नगरपालिका अन्तर्गतका विभिन्न समिति तथा उप-समितिका संयोजक तथा सदस्यज्यूहरू, सञ्चारकर्मी मित्रहरू, नगरपालिकाका शाखा प्रमुख लगायतका सम्पूर्ण कर्मचारीहरू तथा उपस्थित महानुभावहरूमा न्यानो अभिवादन प्रकट गर्दछु ।
आदरणीय नगरसभाका सभासदज्यूहरू, लोकतन्त्रको स्थापना, नागरिक स्वतन्त्रताको संरक्षण तथा सामाजिक न्याय र समानताको सुनिश्चितताका लागि विभिन्न कालखण्डमा भएका आन्दोलन र संघर्षका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात तथा अज्ञात सहिदहरूप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँहरूको अद्वितीय साहस, त्याग र बलिदानकै कारण आज हामी अधिकारसम्पन्न, न्यायमुखी र समावेशी विकासतर्फ अघि बढ्न सक्षम भएका छौँ। सहिदहरूको सपना र आदर्शलाई आत्मसात् गर्दै राष्ट्र निर्माणको पवित्र यात्रामा निरन्तर समर्पित रहने दृढ संकल्प समेत व्यक्त गर्दछु।
आदरणीय नगरसभाका सदस्यज्यूहरू, रेसुङ्गा नगरपालिकाको नगरप्रमुखको हैसियतले यस सम्मानित सभासमक्ष आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको प्रगति विवरण प्रस्तुत गर्न पाउँदा आफुलाई अत्यन्तै गौरवान्वित ठानेको छु । राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, नागरिक स्वतन्त्रता, सामाजिक न्याय, समानता, समता र सम्वृद्धिका लागि संघर्ष गर्नुहुने महान नागरिकहरुप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।जसको जगबाट हामीले सभ्य, आधुनिक र न्यायपूर्ण समाज निर्माणमा ज्ञान, विवेक र वर्कतले भ्याएसम्म मिहिन रूपमा घोत्लिएका छौं जसबाट परिणाममुखी अनुभूति हासिल भएको छ ।
यस नगरपालिका विविधताले भरिपूर्ण रहेको बेहोरा सबै सम्मानित नगरसभाका सदस्यहरुलाई विदितै छ। यसै सन्दर्भमा विविधता बीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै लैङ्गिक विभेद र सबै प्रकारका जातिय छुवाछुत तथा घरेलु हिंसाको अन्त्य गरी आर्थिक समानता र समता कायम राख्दै सामाजिक न्याय सुनिश्चित गर्न समानुमातिक, समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा रही सम्पादन गरिएका क्रियाकलापको जगबाट नेपालको संविधानको भावना बमोजिम समतामूलक समाज निर्माण गर्ने अभियानमा निरन्तर लागि परेका छौं ।
आदरणीय नगरसभाका सदस्यज्यूहरू, मुख्य कुरा चिन्तन हो, शब्दहरू त विचारका घोडा मात्र हुन् ।विचार विनाको रित्तो घोडाजस्ता शब्दहरू केवल शब्दजाल मात्रै हो । यस अर्थमा हाम्रा योजना र कार्यक्रमहरू दुरदर्शी र धरातलीय यथार्थमा आधारित नै छन् ।
समृद्ध अर्थतन्त्र रोजगारीसहित जीवन निर्वाहका लागि प्रयाप्त आम्दानी आधारभूत भौतिक सुविधाको उपलब्धता,सुरक्षा र स्वच्छ वातावरण कायम रहने आत्मनिर्भर एवम् समुन्नत नगरपालिकाको रूपमा रूपान्तरण गर्नु हाम्रो दीर्घकालीन सोच हो ।समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समावेशी, सन्तुलित र दिगो विकासको माध्यमबाट नगरबासी नागरिकहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु हाम्रो लक्ष्य हो ।
नेपाली जनताको सात दशकदेखिको सपना अर्थात संविधान सभाबाट देश संचालन गर्ने मुख्य कानुनि दस्तावेज (संविधान) जारी गर्ने सपना २०७२ असोज ३ गते दोस्रो संविधान सभाबाट नेपालको संविधान जारी भएपश्चात पुरा भएको थियो । जुन संविधान बाट संघियतासहितको गणतन्त्रात्मक व्यवस्था कार्यान्वयन भइरहेको छ ।राज्य पुनसंरचना हुँदा ७५३ वटा स्थानीय सरकारहरूको व्यवस्था भए बमोजिम नागरिकलाई नजिकबाट सेवा सुविधा दिदै आइरहेको छन् ।
यसैमा रेसुङ्गा नगरपालिकाको तर्फबाट देखिने र भेटिने सरकारको अनुभुति दिलाइरहेका छौं ।सुशासनको शर्त उदार लोकतन्त्रसंग जोडिन्छ आधारभूत स्वतन्त्रता, विधिको शासन र शक्ति पृथकीकरण सहितको संवैधानिक उदारवादमा सक्षम र जवाफदेही शासन संयन्त्र र सदाचारी एवम् सुयोग्य राजनीतिक तथा प्रशासनिक नेतृत्वले नै समुन्नत समाजको संकल्प पुरा गर्न सक्छ । सुशासनबारे आमनगरबासी नागरिकहरुको आलोचनात्मक चेतको उच्च सम्मान प्रकट गर्दै संवैधानिक उदारवादको अभ्यासमा सुधार गर्दै जेन जी आन्दोलनको मर्म र भावना बमोजिम अझ खरो रुपमा उत्रनु पर्ने ऐतिहासिक आवश्यकताको जरुरी छ । नागरिकको जीवनलाई सुन्दर,सुखी र खुशी बनाउने विषयमा निरन्तर प्रयत्नशील छौं ।नागरिक प्रति उत्तरदायी व्यवस्थामा पुँजी संग्रह र आर्थिक वृद्धि महत्वपूर्ण साधन हुन् ।तर विकासको साहस भनेको नागरिकको स्वतन्त्रता, सक्षमता र सवलीकरण नै हो । सवल स्वास्थ्य, पोषण, शिक्षा, सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण सवालहरुमा आम नागरिकहरूको पँहुच पुर्र्याउने विषयमा निरन्तर लागि परेका छौं । विभिन्न जातजाती, भेषभुषा, कला, संस्कृति, परम्परा तथा मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आर्थिक, सामाजिक रुपान्तरण, सामाजिक न्यायसहितको विकास प्रशासनको जगमा डोर्याउदै अगाडी बढिरहेका छौं ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४, नगरपालिकाले स्वीकृत गरेका विभिन्न ऐन, कार्यविधि, मापदण्ड, योजना तथा नीतिले परिकल्पना गरेका समग्र विकासात्मक तथा प्रशासनिक कार्य सञ्चालन र यसबाट प्राप्त उपलब्धी नागरिकसामु न्यायोचित एवं सन्तुलित रूपमा पुर्याउन सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधिहरू, नागरिक समाज, कर्मचारीहरू एवं सबै सरोकारवालाहरूबाट सहयोग हुने विश्वास लिएको छु ।
आदरणीय नगर सभाका सदस्यज्यूहरू,
देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो ।देशप्रतिको अविचलित निष्ठा, सुशासन विकास र समुन्नति राजनीतिको अनिवार्य सर्त हो । दिगो विकासका लक्ष्यहरुलाई आत्मसात गर्दै र विभिन्न पक्षसँगको छलफलवाट रेसुङ्गा नगरको सुशासन, विकास, बस्तु तथा सेवाको न्यायोचित वितरण गर्ने हाम्रो नीतिगत प्राथमिकतालाई केन्द्र भागमा राख्दै हामीले पाँच वर्षे आवधिक नगर विकास योजना तर्जुमा गरेका छौ । विगतका वर्षका नीति तथा कार्यक्रममा समेटिएका विषयवस्तुहरुको कार्यान्वयन पक्षको समीक्षा गर्दै भएगरेका कामको सफलताको जगमा उभिएर औचित्य र आवश्यकताका आधारमा यो आर्थिक वर्षमा पनि ती कामलाई निरन्तरता दिदैं विभिन्न सरोकारवालाहरुसँग विभिन्न चरणमा व्यापक छलफलवाट वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेका थियौं । हामीले तय गरेका वार्षिक नीति, कार्यक्रम तथा बजेटलार्इ सार्थक तुल्याउन निरन्तर लागि परेका छौं । रेसुङ्गा नगरपालिकाको समुन्नति एवं विकासका लागि हामी, हाम्रो नेतृत्वको स्थानीय सरकार कुनैपनि किसिमका पूर्वाग्रहबाट मुक्त रहेको विषयमा जगजाहेर नै छ।जसको परिणाम स्वरूप हाल उत्पन्न विद्यमान विषम परिस्थितिबाट यस पालिकाले कुनै क्षति व्यहोर्नु परेन् । यस अर्थमा पनि हामीले प्रदान गरेको सेवा प्रवाहको स्तरबाट नागरिकहरु सन्तुष्ट हुनुहुन्छ भन्ने पुष्टि भएको छ।
आदरणीय नगर सभाका सदस्यज्यूहरू,
रेसुङ्गा नगरपलिकाको नगरप्रमुखको हैसियतले यस सम्मानित सभासमक्ष आर्थिक वर्ष ०८२/८३ को हालसम्मको प्रगतिको सार संक्षेप प्रस्तुत गर्दछु । सामाजिक न्यायसहित आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गरी प्रत्येक नागरिकलाई स्वावलम्बी र आत्मनिर्भर बनाउने हाम्रो संकल्प हो । रेसुङ्गा नगरबासी सबै बुवा आमा, दाजु भाई, दिदी बहिनीहरूलाई पर्ने कुनै पनि समस्यामा प्रत्यक्ष भौतिकरूपमा देखिने र भेटिने सरकारले दिने सेवामा हामी निरन्तर लागी परेका छौं । संग सगैं जवाफदेही सरकारको अनुभूति तथा जिम्मेवार नागरिक बनाउँदै सुशासनको पालना सवै पक्षबाट भयो भने मात्र समुन्नति हासिल गर्न सकिने विषयमा जिम्मेवारी वोद्य गराउने अभियानमा निरन्तर लागि परेका छौं। अर्थात् नागरिकलाई सेवा प्रदान गर्ने कार्यमा सदैव तत्पर रहेका छौं । हाम्रो प्रतिबद्धता अनुसार “समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान” भन्ने मूल नारा लाई सार्थक बनाउन अगाडि बढिरहेका छौं ।
आदरणीय नगरसभाका सदस्यज्यूहरू, म स्वयं नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षका हैसियतले संघीय सरकार र प्रदेश सरकारका मौजुदा नीतिगत र कानूनी व्यवस्थाबाट नागरिकको नजिकको सरकारको रूपमा रहेको स्थानीय सरकारद्वारा सेवाप्रवाह गर्दा भोग्नुपरेको समस्या तथा सास्तीको विषयमा विशिष्ट महत्व दिई संघीय सरकार र प्रदेश सरकारसंग थप सुधारका लागि पटकपटक छलफल र संवाद गरिरहेको छु ।साथै अन्तर सरकार समन्वय बैठकमा सवै तहका सरकारहरुको कार्यविस्तृतिकरणको विषयमा सुक्ष्मरुपमा अन्तरसंवाद हुँदा सेवाप्रवाहका क्रममा झन्झटिला प्रकृया पुरा गर्नुपर्ने मौजुदा कानुनहरू संशोधन गरी सेवाप्रवाहलाई सरलीकृत बनाई स्थानीय सरकारलाई सेवा प्रवाहको जिम्मेवारी प्रदान गर्न दबाबमूलक छलफल गरिएको छ ।यसप्रकारले स्थानीय सरकारको हस्तक्षेपकारी भूमिकाबाट कानून संसोधन हुने अपेक्षामा छौं ।जसबाट नागरिकले नजीकको सरकारबाट प्राप्त गर्ने सेवाहरू प्रभावकारी रूपमा हासिल गर्न सक्नेछन् ।कतिपय कानूनहरु विकास प्रशासन र सार्वजनिक सेवाप्रवाहको बाधकको रुपमा रहेका छन् ।ती कानूनहरुलाई नीतिगत हस्तक्षेप (policy intervention) द्वारा पनि सरलीकृत गराउने अधिकतम् प्रयासमा छौं ।
आदरणीय नगरसभाका सदस्यज्यूहरू,
सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन नगरपालिकामा नागरिक सहायता कक्षको माध्यमवाट सेवा सञ्चालनमा सहजता प्रदान गरिएको छ। सेवा प्रवाहलाई विश्वाशिलो, छिटोछरितो, पारदर्शी, जनमुखी र परिणाममुखी बनाउन प्रचलित कानून तथा प्रशासकीय कार्य फर्छ्यौट नियमले तोकेको समयसिमाभित्र सेवा प्राप्त गर्न सक्ने संयन्त्रको विकास गरिएको छ । यस कार्यालयबाट प्रदान गरिने सबै प्रकारका सेवा प्राप्त गर्न लाग्ने समयसीमा भित्रै उपलब्ध गराइएको छ । साथै सामी परियोजना अन्तर्गत बैदेशिक रोजगारीलाई सहज, सरल र विश्वसनीय तुल्याउन जिल्ला प्रशासन कार्यालयको आप्रवासन सूचना केन्द्र मार्फत उक्त कार्यलाई नजिकवाट समन्वय तथा सहजिकरण गरेका छौं। सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न ऐन, नियम तथा कार्यविधि तर्जुमा तथा समयानुकूल संशोधन गरिएको छ ।सार्वजनिक सेवालाई अझबढी प्रभावकारी र चुस्तदुरुस्त गर्दै लगिने र बेरुजु न्यूनीकरणका लागि प्रयास गरिएको छ। नगरपालिकाको संस्थागत क्षमता विकासको साथै वित्तीय सुशासन कायम गर्दै आएका छौं।नागरिकले स्थानीय सरकारको महसुस गर्ने कुरालाई प्राथमिकतामा राखी वडा नं. ११ को राङ्वासमा घुम्ती शिविरमार्फत कृषि, पशु, स्वास्थ्य, जेष्ठ नागरिक, अपाङ्गता लगायतका क्षेत्रसँग सम्बन्धित सेवाहरु नागरिकका घरदैलोमै उपलब्ध गराईएको छ।स्वास्थ्य शाखाबाट प्रदान गरिएको सेवाबाट १४६ जना, कृषि विकास शाखाबाट प्रदान गरिएको सेवाबाट ६३ जना ,पशु सेवा शाखाबाट प्रदान गरिएको सेवाबाट ६२ जना र महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट प्रदान गरिएको सेवाबाट २३ जना गरी कूल २९४ जना नागरिक लाभान्वित हुनुभएको छ। साथै यस प्रकारको सेवालाई चालु आ.व.मा सवै वडामा पुर्याउने लक्ष्य राखिएको छ।पारदर्शिता, उत्तरदायित्व र वित्तीय अनुशासनका लागि सामाजिक परीक्षण, सामाजिक लेखापरीक्षण, सार्वजनिक परीक्षण, नागरिक प्रतिवेदन (नागरिक सन्तुष्टि परीक्षण) र पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ। “नागरिकसँग मेयर कार्यक्रम” मार्फत् वडा नं. ११ को राङ्वासमा पुगि सेवा प्रवाह, विकास निर्माण लगायतका विषयहरूमा नागरिकसँग साक्षात्कार गरिएको छ र सोही बमोजिम नागरिकका गुनासाहरु सम्बोधन गर्न लागि परेका छौ।
न्यायिक समितिको काम कारवाहीलाई अझ प्रभावकारी बनाउन १४ वटै वडाका सूचीकृत मेलमिलापकर्ताहरुलार्इ क्रियाशिल बनाईएको छ। सबै वडाहरुमा टोल विकास संस्थाहरु गठन गरी नगरपालिकाका योजना तथा कार्यक्रम कार्यान्वयन साथै आर्थिक, सामाजिक, पूर्वाधार विकासका तथा सरसफार्इका कार्यहरु निरन्तर अगाडि बढेका छन।
नगरपालिकाभित्र जन्म र मृत्युको दर्ता प्रमाणपत्र सेवाग्राहीको घरमै गएर वितरण गर्ने कार्यलाई निरन्तरता दिइएको छ। यस अवधिमा सामाजिक सुरक्षातर्फ जेष्ठ नागरिक १९६३ जना, जेष्ठ नागरिक दलित २९७ जना, जेष्ठ एकल महिला २४६ जना, विधवा ५७८ जना, पूर्ण अशक्त अपाङ्ग ८७ जना, आंशिक अपाङ्ग १७५ जना, बालबालिका दलित १८४ जना गरी कुल ३७३१ जनालाई चालु आ.व. को प्रथम त्रैमासिकमा रु. ३,५१,५७,२१८ (३ करोड ५१ लाख ५७ हजार २ सय १८) सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।साथै पञ्जिकरणतर्फ यस अवधिमा जन्म दर्ता ३१५ जना, मृत्य दर्ता १२६ जना, सम्बन्ध विच्छेद १९ जना, विवाह दर्ता १५४ जना, बसाईसराई गरी आउने परिवार संख्या २६ र बसाईसराई गरी जाने परिवारको ३९ संख्या रहेको छ।
नगरपालिकाले गुल्मी अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरको सेवालाई दीगो बनाउन गत आ.व. सम्म एक मात्र हाडजोर्नी विशेषज्ञ सेवाबाट प्रारम्भ गरिएकोमा हाल स्त्रीरोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, Internal Medicine विशेषज्ञ सेवा र सामान्य तथा आकस्मिक सेवा सुरुवात गरी ६ जना विशेषज्ञ डाक्टरलाई उहाँहरुले पाउने बराबरको तलब प्रोत्साहनस्वरूप उपलब्ध गराउने सम्झौता गरेका छौं ।यस निर्णयसँगै गुल्मी अस्पतालमा सेवा लिँदै आएका गुल्मी लगाएत छिमेकी जिल्लाहरुका बिरामीहरुले गुणस्तरीय स्वास्थ्य सुविधा पाउने विश्वास गरिएको छ।
“गुल्मी अस्पताल, मेरो अस्पताल” भन्ने नारालाई सार्थकता दिन गुल्मी अस्पतालमा मृगौला रोग पिडितहरुका लागि जिल्लामै पहिलो पटक हाम्रो पहलमा मृगौला डायलाइसिस सेवा प्रारम्भ गरिएको कुरा जगजायर नै छ। यो सेवाबाट नियमित रुपमा १ जना महिला र २२ जना पुरुष गरी जम्मा २३ जना बिरामीले नियमित सेवा लिईरहनु भएको छ। जम्मा ५ वटा मेसिन मार्फत बिरामीहरुले नियमित डायलाइसिस सेवा लिइरहेको सन्दर्भमा उक्त मृगौला डायलाइसिस सेवा विस्तार गर्ने क्रममा हाल करिब ६० लाख बराबरको ३ वटा डायलाइसिस मेसिन हस्तान्तरण गरी अब ८ वटा मेसिनको प्रयोगमार्फत झन्डै ४० जना बिरामीहरूलाई नियमित रूपमा डाइलाइसिस सेवा प्राप्त गर्नुहुनेछ । यो केवल सेवा विस्तार मात्र होइन, मिर्गौला पीडित नागरिकहरूप्रति हाम्रो संवेदनशीलता, प्रतिवद्धता र नीतिगत स्पष्टताको ठोस उदाहरण हो। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्राथमिकता हो, र हामी यस क्षेत्रमा अझ थप प्रभावकारीताका साथ काम गर्न निरन्तर लागि रहनेछौं । यो संगै बुटवल, काठमाडौंजस्ता सहरहरुमा डायलाइसिस गराईराख्नु भएका बिरामीहरुलेसमेत घर फर्की गुल्मी अस्पतालमै सेवा लिईराख्नु भएको अवस्था छ जसका कारण जिल्ला बाहिर गई सेवालिनु पर्ने सास्तीको अन्त्य भएको छ भने विरामीहरुको करोडौ रकम बचत भएको छ।
रेसुङ्गा नगरपालिका, गुल्मीले स्वास्थ्य सेवा क्षेत्रको समग्र विकास र गुणस्तरीय उपचार सुनिश्चित गर्ने उद्धेश्यले संघीय सरकारको सहयोगमा गुल्मी अस्पताललाई करिव ३३ लाख बराबरको अत्याधुनिक एनेस्थेसिया मेसिन हस्तान्तरण गरेको छौं। यसले बिरामीलाई शल्यक्रिया गर्दा दुखाइ र पीडा कम गर्नुका साथै स्वास्थ्य उपचार अझ सुरक्षित र प्रभावकारी हुनेछ भन्ने विश्वास गरेका छौं।
गुल्मी अस्पतालको निर्माणाधिन भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र पटक पटकको ताकेतापछि बाँकी काम पूरा गरी समयमै अस्पतालको स्वीकृत क्षमता अनुसार सबै विशेषज्ञ सेवा सञ्चालन गर्न/गराउन निरन्तर पहल गरिएको छ । नगरपालिकाको प्रत्यक्ष सहयोग, समन्वय तथा सहजिकरणमा गुल्मी अस्पतालमा शुरु गरिएको विशेषज्ञसहितको हाडजोर्नी सेवाका कारण चालु आ.व.मा ३७५४ जना बिरामिले सेवा लिनुभएको छ भने ७९ जना विरामीको जटिल र सामान्य शल्यक्रिया गरिएको छ । त्यसैगरी २५७८ जनाले बाल रोग विशेषज्ञ सेवा र २०८४ जना बिरामीले स्त्रीरोग विशेषज्ञ सेवा प्राप्त गर्नुभएको छ जसमध्ये ५१ जनाको शल्यक्रिया गरिएको छ । यसका साथै २२ जना बिरामीको मुटुको ईको कार्डियोग्राम गरिएको छ ।
विगतका वर्षहरुमा झै नगरपालिकाको सहयोगमा जिल्ला आँखा उपचार केन्द्र मार्फत मोतिया विन्दुको निशुल्क अप्रेशन सेवालाई निरन्तरता दिइएको छ।जसवाट यस आ.व.मा. ४३ जनाले मोतिया विन्दुको निशुल्क अप्रेशन सेवा लिइसकेका छन् ।
रेसुङ्गा नगरपालिकाभित्रका १४ वटै वडाका स्वास्थ्य संस्थाहरुबाट प्रत्येक महिना ग्रामीण अल्ट्रासाउण्ड सेवा संचालन भईरहेको छ। उक्त सेवाबाट ३८ जना नयाँ सहित हालसम्म २१८ जना गर्भवती महिला लाभान्वित भएका छन।
“घरघरमा स्वास्थ्य सेवा” भन्ने मूल नाराका साथ दम, निमोनिया र स्वास-प्रस्वासमा समस्या भएका १८४ जना बिरामीहरुलाई निःशुल्क रुपमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराईएको छ। मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका ७८ जना विरामीहरुलाई श्रावणदेखि आश्वीनसम्मको औषधि उपचार खर्च सम्बन्धित विरामीको खातामा पठाईएको छ ।”आमासँग उपमेयर” कार्यक्रममार्फत् गर्भवती महिलाहरुलाई पोषण प्याकेज उपलब्ध गराईएको छ।
शैक्षिक प्रतिष्ठा र विद्यार्थीको आकर्षण पुनःस्थापित गर्ने लक्ष्यका साथ रेसुङ्गा नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क भर्ना सुविधा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिईएको छ। यसअन्तर्गत जुनसुकै स्थानबाट यहाँ अध्यन गर्न आउने स्नातक तह प्रथम वर्षमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई सम्पूर्ण भर्ना शुल्क निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ। नगरपालिकाले आर्थिक कारणले उच्चशिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने मात्र नभई, युवाहरूमाझ गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने, क्याम्पसको भौतिक र शैक्षिक संरचना मजबुत पार्ने, तथा शैक्षिक क्षेत्रमा नगरको पहिचान अझ सुदृढ गर्दै स्थानीयस्तरमै उच्चशिक्षा सहज र सुलभ बनाउने ऐतिहासिक अवसरका रूपमा यस कार्यक्रमले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएका छौं ।यस प्रकारको सुविधा प्रयोगबाट विद्यार्थीको भर्ना अनुपातमा वृद्धि भएको छ। गत वर्षको शैक्षिक सत्रमा स्नातक प्रथम वर्षमा २०६ जना र चालु शैक्षिकसत्रमा १६३ जना गरी स्नातक तहमा कुल जम्मा ३६९ जना विद्यार्थी भर्ना भएका छन। त्यसैगरी स्नातकोत्तर तह प्रथम वर्षमा ४० जना भर्ना भएका छन् भने दोस्रो वर्षमा ४२ जना विद्यार्थी अध्यनरत छन् ।
गर्जुरा क्षेत्रमा जिपलाइन तथा साइक्लिङ सञ्चालन गर्ने हाम्रो महत्वाकाङ्क्षी र दीर्घकालीन सपना अब कार्यान्वयनको चरणमा रहेको छ। पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना तथा क्षेत्रीय विकासलाई केन्द्रमा राख्दै गरिएको निरन्तर प्रयास, समन्वय र अथक मेहनतको परिणामस्वरूप निर्माणस्थलका लागि आवश्यक गर्जुरा क्षेत्रको जग्गाको भोगाधिकार अन्ततः संघीय सरकारबाट प्राप्त गर्न हामी सफल भएका छौं।यस महत्वपूर्ण उपलब्धिसँगै गर्जुरा क्षेत्रमा साहसिक पर्यटनसँग सम्बन्धित विविध पूर्वाधार संरचना निर्माणका लागि कानुनी तथा प्रशासनिक अवरोधहरू हटेका छन्। यसले उक्त क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्न नयाँ सम्भावनाको ढोका खोलेको छ।यस प्रक्रिया अन्तर्गत यस जग्गाको सट्टामा रेसुङ्गा नगरपालिकाले आवश्यक जग्गा खरिद गरी नेपाल सरकारको नाममा विधिवत रूपमा जग्गा हस्तान्तरण गर्ने कार्यसमेत सफलतापूर्वक सम्पन्न गरेका छौं ।
यस उपलब्धीसँगै यस क्षेत्रको समग्र आर्थिक, सामाजिक तथा पर्यटन विकासमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ। स्थानीय समुदायको प्रत्यक्ष सहभागिता, रोजगारी सिर्जना तथा यस क्षेत्रको पहिचान स्थापित गर्न यो परियोजना कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ।
रेसुङ्गा नगरपालिका गुल्मीले संचालन गरेको गुल्मी जिल्लाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्र रेसुङ्गा जाने सडक, अर्जुन भगवती मन्दिरतर्फ जाने सडक सरसफाई अभियान अन्तर्गत रेसुङ्गा नगरपालिकाभित्र क्रियाशील विभिन्न संघ संस्थाहरूको स्वत स्फुर्त सक्रिय सहभागिताले पुण्य भुमि, तपोभूमि, देव भुमि, अमृत भुमि र तपोभूमिको महिमा बोकेको रेसुङ्गा क्षेत्रमा आवागमन गर्ने पर्यटकीय मार्गको आसपासमा सरसफाई गरी प्राकृतिक सौन्दर्यिकरण गरिएको छ।जसबाट प्रकृतिको अनुपम उपहारको रूपमा रहेको सुन्दर मनमोहक हिमशृंखला, मनोरम दृश्यहरुको सहजै अवलोकन गर्न सकिन्छ । त्यसैगरी तम्घास-नेटा सडकमा सरसफाइ अभियान संचालन गरिएको छ । यस अभियानमा सहयोग पुर्याउने सम्पूर्ण संघ-संस्थालाई स्वामी शशिधरको समाधि स्थलमा रेसुङ्गा नगरपालिकाको कार्यपालिका बैठक आयोजना गरी धन्यवाद ज्ञापन तथा सम्मान व्यक्त गरिएको छ । तम्घासदेखि रेसुङ्गा जाने सडक खण्डलाई स्वच्छ र सफा राख्ने उद्देश्यका साथ सडकलाई विभिन्न खण्डमा विभाजन गरी ३६ वटा संघ-संस्थालाई जिम्मेवारी वाँडफाड गर्दै सवै संघसंस्थाहरुको अपनत्व हुने गरी तोकिएका स्थानहरूमा पहिचानसहितका होर्डिङ बोर्ड राख्ने कार्य सम्पन्न गरिएको छ।
हाम्रा धार्मिक सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यता लाई दिगो पर्यटनमार्फत आर्थिक लाभका लागि सदुपयोग गर्न सकिन्छ । पर्यावरणमैत्री पर्यटन ,पहलहरुको विकास र प्रवर्द्धनले भविष्यका पुस्ताका लागि अद्वितीय सम्पति संरक्षण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ । रेसुङ्गा क्षेत्रको धार्मिक, ऐतिहासिक, जैविक विविधताको संरक्षण र पर्यटनको विकास गर्न “जाउँ हिँड रेसुङ्गा” अभियानलाई निरन्तरता दिईएको छ । रेसुङ्गा नगरपालिकाले स्थापना गरेको पर्यटन सूचना केन्द्रको अभिलेख अनुसार चालु आ.व.मा श्रावणदेखि हालसम्म करिब ४० हजारले रेसुङ्गा भ्रमण गर्नुभएको छ। “जाउँ हिँड रेसुङ्गा” अभियान सञ्चालन भएसँगै रेसुङ्गा गर्जुरा पार्क, अर्जुन क्षेत्र, उनायचौरको ट्रि हाउस, इस्माकोट, धुर्कोटको विचित्र गुफा, भुवाने पार्क, तम्घासस्थान मन्दिर, तम्घास बजार क्षेत्रमा पर्यटकहरुको व्यापक चहलपहल देखिएको छ जसका कारण आर्थिक गतिविधिहरुमा सकारात्मक प्रभाव परेको देखिन्छ। साथै यस क्षेत्रका विभिन्न विधाका व्यवसायीहरुमा सकारात्मक उर्जाका साथ आशा पलाएको अनुभूति गर्न सकिन्छ।सहरी सौन्दर्यीकरणका निम्ति रेसुङ्गा नगरपालिकाभित्र निर्माण भएका भित्ताहरुमा यस क्षेत्रको महत्व झल्किने विभिन्न आकृतिका आकर्षित चित्रकला पेन्टिङ्ग गर्ने कार्य निरन्तरता दिएका छौं। यस अभियानलाई थप प्रभावकारी बनाउन रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र पाल्पाको तानसेन नगरपालिका संगको समन्वय, सहकार्य र सहजिकरणमा ‘जाउँ हिड रेसुङ्गा’ अभियानलाई थप प्रचारप्रसार गर्न तत् तत् स्थानीय सरकारले अनुमति प्रदान गरेको स्थानमा ‘जाउँ हिड रेसुङ्गा’ को आधिकारिक लोगो अंकित होर्डिङ बोर्ड राख्ने कार्यको प्रारम्भ गरिएको छ ।
बजारको फोहोर मैला नगर विकास तथा वातावरण संरक्षण संस्थासंग सम्झौता गरी व्यवस्थापन गरिएको छ । फोहोरमैला व्यवस्थापनको दिगो समाधानका लागि नगरपालिकाको नाममा जग्गा खरिद गर्ने काम सम्पन्न गरी फोहोरमैला प्रशोधन केन्द्र स्थापना गर्नको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी आवश्यक वजेटको व्यवस्थाका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको छ ।बजारलाई व्यवस्थित गर्न नगर प्रहरी परिचालन गरिएको छ। बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाईएको छ। त्यसैगरी सडक छेउमा लगाईएका फूलहरुको संरक्षण गरिएको छ।लेन्थ वर्करको व्यवस्था गरी सडक सरसफाई र व्यवस्थित गर्ने कार्यको थालनी गरिएको छ।
रेसुङ्गा नगरपालिका क्षेत्रभित्र अव्यवस्थित तवरले घरमा पालिएका सुँगुर तथा बंगुरको कारणले वातावरण र जनस्वास्थ्यमा गम्भिर असर पारेको भन्ने व्यापक लिखित तथा मौखिक जनगुनासो सम्बोधन गर्ने सन्दर्भमा प्राविधिक प्रतिवेदनका आधारमा सुँगुर बंगुर व्यवस्थापन तथा स्थानान्तरण अभियान अन्तर्गत करिब ५७ भन्दा बढी सुँगुर बंगुर व्यवस्थापन कार्य सम्पन्न गरिएको छ । पशु विकास सेवातर्फ चालु आ.व.को हालसम्म १९६ गाई र भैसीमा नि:शुल्क कृत्रिम गर्भाधान कार्यक्रम सम्पन्न भएको छ भने १४००० डोज खोरेत विरुद्ध खोप गाई/भैसी/भेडा/बाखा/वंगुहरुमा लगाएको छ। रेसुङ्गा न.पा. भित्र रहेका व्यवसायिक तथा अन्य किसिमले पशुपालन गर्दै आएका कृषकहरुलाई मध्यनजर गर्दै पशुहरुलाई हरियो घाँस तथा पोषण तत्वको अभाव परेको समयमा सो पुर्ति गर्नका लागि निःशुल्क रुपमा वर्सिम, जै, घाँस को विउ वितरण गरिएको। पशुहरुमा देखा परेको समस्याअनुसार हाल सम्ममा जम्मा ७०४ कृषकहरुका हजारौ पशुपछींहरुलाई निःशुल्करुपमा औषधि वितरण गरिएको छ।
लामो समयसम्म निर्माण व्यवसायीले गरेको ढिलासुस्ती प्रति निरन्तरको पहल, मन्त्रालय तथा सम्बन्धित निकासँग पटक-पटक गरिएको छलफल, ताकेता र दबाब पछि तम्घासको मुटुमा रहेको चिदीचौरलाई आकर्षक बनाउन तीव्ररुपमा निर्माण कार्य अगाडि बढिरहेको छ । वर्षाको समयमा क्षतिग्रस्त भएका सडकहरू मर्मत गरी सहज यातायात सेवा निरन्तर गरिएको छ भने नागरिकका आवश्यकतालाई मध्यनजर गरेर केही नयाँ ट्रयाकहरु खोल्ने कार्य अगाडि बढाईएको छ। वडा नं. ३ ,१२ को वडा कार्यालय भवन निर्माणको कार्य सम्पन्न भई उक्त भवनबाट सेवा प्रवाह भईरहेको छ। त्यसैगरी वडा नम्बर ११ को वडा कार्यालय भवन निर्माण सम्पन्न भई सेवा संचालनको कार्य अन्तिम चरणमा रहेको छ ।
हालसम्म उपभोक्ता समिति मार्फत १०९ वटा योजना सम्झौता भएका छन् जसमध्ये ६६ वटा सम्पन्न भएका छन् त्यसैगरी ५१ वटा योजना निर्माण व्यवसायी मार्फत कार्यान्वयन गर्ने गरी सम्झौता भएका छन् जसमध्ये ३० वटा योजना तथा कार्यक्रम सम्पन्न भैसकेका छन् । संघीय र प्रदेश सरकारका विभिन्न निकायबाट संचालित योजनाहरूको सघन अनुमगन गरी पृष्ठपोषण दिइएको छ ।
सात रङ्गहरुको संयोजनबाट सिर्जित इन्द्रेणीले प्रेम, समृद्धि, प्रेरणा, उर्जा, तत्परता, सद्भाव र समुन्नति जस्ता विषयको दिसाबोध गरेझैँ शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, शहरी विकास, खानेपानी, सरसफाई तथा विपद व्यवस्थापन सडक तथा भौतिक पूर्वाधारभित्र संकल्पित सपनाहरू नगरबासीहरूको सदभाव र मायाले सार्थक भैरहेका छन् । स्वस्थ र दक्ष मानव पुँजीको निर्माण, स्रोत र साधनको सन्तुलित उपयोग, समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण, गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन, वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद् व्यवस्थापन मार्फत नगरलाई समुन्नतिको यात्रामा अघि बढाउन प्रयासरत रहेका छौं । विगतदेखि रुग्ण तथा अलपत्र परेका आयोजनाहरु हाम्रो पटक-पटकको पहलबाट सञ्चालनमा ल्याउन सकिएको एवं नयाँ आयोजनाहरु बहुवर्षिय आयोजनाको रुपमा स्वीकृत गरी काम प्रारम्भ गराउन सफल भएका छौं। संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त रुपमा एवं समन्वयात्मक प्रयासबाट थुप्रै बजेट स्वीकृत गराउन सफल भई सम्पन्न भएका आयोजनाहरुको प्रगतीको सारसंक्षेप प्रस्तुत गर्दछु।
चालु आ.व.को हालसम्म सडक पूर्वाधारतर्फ निम्नानुसार कालोपत्रे तथा सडक ढलान र स्तरोन्नती कार्य सम्पन्न गरिएको छ।
यही भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि संघीय सरकारद्वारा बजेट रोक्का गरिएका दोभान डाँडापोखरी तारनेटा गौशाला सडक स्तरोन्नति रू.३ करोड, भनभने नुनथला पदेलपोखरा सडक निर्माण रू. ३ करोड, गहते खेल मैदान रू ३. करोड़, त्रिभुवन मा.वि. रे.न.पा. १४ भौतिक पूर्वाधार निर्माण रू. १ करोड , सिद्धबाबा मा.बि रे.न.पा ८ पूर्वाधार निर्माण रू. १ करोड, रेसुङ्गा खानेपानी आयोजना (दोस्रो खण्ड तथा वडा नं. १ समेत) रू. ३ करोड (मझेंग), रेसुङ्गा क्षेत्रको पर्यटन पूर्वाधार निर्माण रू. ३ करोड लगायतका आयोजनाहरुको बजेट फुकुवा गर्न निरन्तर पहल गरिएको छ ।
आदरणीय नगरसभाका सदस्यज्यूहरू,
रेसुङ्गा नगरपालिकाको आ.व. ०८२/८३ को आन्तरिक राजश्वतर्फ रु. १ करोड ९८ लाख प्रक्षेपण गरिएकोमा हालसम्म रु. १ करोड १५ लाख ७७ हजार ४ सय २२ रकम संकलन भईसकेको छ । त्यसैगरी भौतिक प्रगति करिब ४० प्रतिशत र वित्तीय प्रगति चालु तर्फ ३८ प्रतिशत र पूँजीगत तर्फ १८ प्रतिशत गरी जम्मा ३२ प्रतिशत वित्तीय प्रगति भएको छ । बाँकी योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न आ-आफनो तर्फबाट सहयोग गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।
आदरणीय नगरसभाका सदस्यज्यूहरू, नेपालको संविधान,संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र कार्यान्वयन त्यसकै जगमा मुलुकलाई समुन्नतितर्फ डोर्याउनु नै आजको मुख्य जिम्मेवारी भएको मनन् गर्दै यसको आदर्श र श्रेष्ठतालाई जुझारु, कर्मठ, स्वाभिमानी र इमान्दार नगरबासी नागरिकको अपार स्नेह र समर्थनको आत्मविश्वास र अठोटका साथ् स्थानीय सरकारको सबलीकरणको जगबाट मुलुकलाई समुन्नत नेपाल र सम्मानित नेपालीको संकल्प पुरा गर्नुपर्ने दृढता र विश्वास लिएका छौं । सबै नगरबासीको पहिचान,पँहुच, प्रतिनिधित्त्व, प्रगति र प्रतिष्ठामा नै नगरको पहिचान उच्च हुन्छ भन्ने मान्यताका साथ आम नगरबासीको जीवनमा गुणात्मक परिवर्तन ल्याउने अठोट सहितको समुन्नत नगरपालिकाको आकांक्षा पुरा गर्न आफ्नो अभियानमा सामेल हुन देश विदेशमा रहनुभएका सम्पूर्ण नगरबासी बुवाआमा,दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछु ।
आदरणीय नगरसभाका सदस्यज्यूहरू, नारा सडकमा गुञ्जिन्छ विचार शान्त रातमा जन्मिछ । शब्द शान्त हुन्छ तर अर्थ विद्रोही हुन्छन् राजनीति भाषणमा होइन आत्मसम्मानमा परिपक्क हुन्छ। राजनीति सत्ता प्राप्तिको लागि होइन मानव निर्माणको साधन हो ।अहिलेको बाटो आत्मसम्मान, संयम र जन उत्तरदायित्व हो । सत्यसंग सम्झौता नगर्ने राजनीतिको नाम नै लोकतन्त्र हो ।
तसर्थ, हामी लागि परेका छौं,
न्याय, सुशासन र विकासको अनुभूति दिलाउन,
फर्काउन कोशिस गरिरहेका छौं शहरी सुविधा र अवसरको खोजी गर्दै शहरतिर झरेकाहरुलाई,
अडाउने कोशिस गरिरहेका छौं नगर छोडेर बसाईसराईको जमर्को गरेका नगरबासीहरूलाई,
विकास, अवसर र स्थायित्वका आधारहरू तय गरेर। ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य नै हाम्रो पहिलो सर्त हो । हाम्रो संकल्प, समानता, स्वतन्त्रता र स्वराजको अनुभूति दिलाउनु हो ।सुन्दर, शान्त, समृद्ध र समुन्नत नगरपालिका निर्माण गर्न आउनुहोसः हातेमालो गरौं, यिनै संकल्पका साथ विदा हुन चाहन्छु । धन्यवाद !
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend