साझा नेटवर्क
कमल पौडेल, बागलुङ पुस २२ ।
बडिगाड गाउँपालिका गाउँसभाको १८औं अधिवेशन मंगलवार ग्वालीचौरमा सम्पन्न भएको छ । अधिवेशनले बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को निति तथा कार्यक्रमको प्रगति समिक्षा, उपाध्यक्ष भिमसेन बनले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को बजेट तथा वार्षिक कार्यक्रम माथिको संशोधन तथा विधायन समितिका संयोजक जंग बलालले प्रस्तुत गर्नुभएको आर्थिक कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतीले पारित गरेको छ।

आर्थिक वर्षको करिव मध्य अवधि अर्थात हाल सम्म कुल बजेटको ४९.६७ प्रतिशत अर्थात ३५ करोड ९ लाख ५५ हजार अनुदान तर्फ कुल आम्दानी भएको गाउँसभामा जानकारी गराइएको छ । त्यस्तै खर्च तर्फ चालु खर्चमा २६.९ प्रतिशत अर्थात १४ करोड ९८ लाख ४ हजार ८ सय २१ रुपैया तथा पुँजिगत तर्फ १०.६५ प्रतिशत अर्थात १ करोड ६२ लाख १८ हजार ७ सय ५० रुपैया खर्च भएको छ। आन्तरिक आम्दानी तर्फ २९ लाख ९४ हजार ९ सय उन्सत्तरी रुपैयाँ उठेको अध्यक्ष अधिकारीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सभाले पारित गरेको बजेट तथा वार्षिक कार्यक्रममा १ करोड ४१ लाख ११ हजार बजेट संसोधन गरिएको छ। संसोधनमा समपुरक कोषबाट ६५ लाख संसोधन गरि आधारभूत अस्पताल संचालन तथा व्यवस्थापनमा ५० लाख, नयाँगाउँ निगलपानी गंगरे मोटरवाटोको लागि १० लाख तथा पुरानो हेल्थपोष्ट देखि आधारभूत अस्पताल मोटरवाटो स्तरोन्नतीको लागि ५ लाख विनियोजन गरेको छ।

त्यस्तै फोहरमैला व्यवस्थापनमा विनियोजित १० लाख बजेटबाट ८ लाख संसोधन गर्दै बडिगाड भूपू सैनिक कल्याण संघ सामुदायीक भवन निर्माणमा ५ लाख, गिरिङ्दी सिमलचौर मोटरबाटोको लागि १ लाख, आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्वाङ मोटरबाटोको लागि १ लाख र दोभानखोला साँघु निर्माणको लागि १ लाख छुट्याएको छ।
त्यस्तै पोषणमैत्री कार्यक्रम संचालन, कानुनी साक्षरता कार्यक्रम, सामाजिक सुरक्षा कोष संचालन लगाएतका शिर्षकबाट बजेट संसोधन गर्दै प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब भत्ताको लागि १० लाख विनियोजन गरेको छ।
उपाध्यक्ष बनले प्रस्तुत गरेको संसोधित बजेटमा सुत्केरी विदा सट्टा शिक्षण अनुदानलाई संसोधन गरि सक्न्यार गाउँघर क्लिनिक व्यवस्थानमा १ लाख, विपद् व्यवस्थापन सामाग्रि खरिद को १५ लाख बाट ११ लाख संसोधन गर्दै माइस्थान प्रावि, वडा कार्यालय पहिरो हटाउने, ताल घुम्ती निर्माण, झोलुङ्गे पुल मर्मत लगाएतमा खर्च गरिने भएको छ।
गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम बाट क्वालजिङ बालविकास केन्द्र शौचालय निर्माणमा १ लाख तथा खड्क देवी माविको रङ्रोगनमा २ लाख विनियोजन गरेको छ। त्यस्तै विभिन्न शिर्षकहरुलाई संसोधन गर्दै खाल्ले खेल मैदान व्यवस्थानमा ३ लाख, अदुवावारी सामुदायिक भवन निर्माणमा २ लाख लगाएत विनियोजन गरेको छ भने विभिन्न वडाका शिर्षक नमिलेका योजनाहरुको नाम संसोधन गरेको छ।
सभाको शुन्य समयमा गाउँसभा सदस्यहरु इश्वरमान विक, राजु थापा, विष्णुमाया अर्याल र लाल बहादुर छन्त्यालले सवाल उठाउनुभएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend