साझा नेटवर्क
रंजित चौरसिया,वीरगञ्ज कार्तिक २० ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बी.एस.सी. नर्सिङ १५औं ब्याचद्वारा आयोजना गरिएको खेलौना प्रदर्शनी कार्यक्रम भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल हेल्थ कोर्प्सले यस कार्यक्रममा विशेष सहयोग प्रदान गरेको थियो । कार्यक्रमको उद्घाटन नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक श्री शाहनवाज अन्सारीले रिबन काटेर गर्नुभएको थियो ।
यस प्रदर्शनीको मुख्य उद्देश्य बालबालिकामा सृजनात्मकता, सिकाइ र अन्तरक्रियात्मक शिक्षाको विकास गर्नु रहेको आयोजक समितिले जनाएको छ । कार्यक्रममा प्रमुख उपस्थितिहरूमा प्रबन्ध निर्देशक श्री शाहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ, अस्पताल निर्देशक डा. ईशरत जाहान अन्सारी, भर्ना तथा मार्केटिङ निर्देशक श्री अबिद हुसेन अन्सारी, प्राचार्य प्रा. डा. के. एन. सिंह, प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप चौधरी, मार्केटिङ म्यानेजर श्री जितेश चन्द्र दास, साथै नेपाल हेल्थ कोर्प्सका अध्यक्ष डा. प्रशान्त भण्डारी र विद्यार्थी क्लब टोलीको उल्लेखनीय सहभागिता थियो । नर्सिङ संकायबाट निर्देशक, उप-प्रिन्सिपल नर्सिङ तथा प्राध्यापकहरू गंगा गुरुङ, बबिता सिंह, रमा श्रेष्ठ, ममता सिंह, कबिता पौडेल, सबिता राई, प्रमिला महतो, चन्दनी मल्ल, अश्मिता चौधरी, सन्ध्या प्रधान, ऋचा सिंह र मनिषा चौधरीले सक्रियता देखाउनुभएको थियो ।
प्रदर्शनीमा छ वटा विद्यालयका कूल ६२५ बालबालिका सहभागी थिए । विद्यार्थीहरूले विभिन्न शैक्षिक र मनोरञ्जनात्मक खेलौनाहरूको अवलोकन गर्दै “खेल्दै सिक्ने संस्कृतिको” अनुभव प्राप्त गरे। नर्सिङ विद्यार्थी, शिक्षक, व्यवस्थापन तथा नेपाल हेल्थ कोर्प्सका स्वयंसेवकहरूको उत्कृष्ट समन्वयले कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाएको थियो । नेशनल मेडिकल कलेजले यस्ता शैक्षिक तथा सामुदायिक गतिविधिहरू मार्फत “मेडिसिन भन्दा पर, मानवताको तर्फ” भन्ने मूल सन्देशलाई निरन्तर प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend