logo
  • शनिबार, साउन ३० २०८३

कतारमा “गौरा पर्व” मनाइँदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार, कतार भदौ १८ ।
सुदूरपश्चिम प्रदेशको मौलिक गौरा पर्व कतारमा भब्यताका साथ मनाइने भएको छ । कतारमा स्थापित सुदूर पश्चिमेली नेपाली समाज कतारको आयोजनामा समाजको दशौँ वार्षिकोत्सव तथा गौरा विशेष २०२५ आगामी शुक्रवार मनाइने भएको हो ।

समाजले हरेक वर्ष धूमधामका साथ मनाउँदै आएको पर्व यसवर्ष पनि शुक्रवार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभाहलमा तय गरिएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र गौरा विशेष कार्यक्रमको लागी सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार लोक तथा देउडा गायक महेश कुमार औजी र उमाशङ्कर जोशी बिहीबार कतार आइपुग्ने  कार्यक्रम संयोजक पारूँ भट्टले जानकारी दिइन ।

कतारमा रहेका झन्डै एक दर्जन कलाकारहरूको सामूहिक नृत्य, एकल गायन तथा विविध मनोरञ्जनात्मक कार्यक्रम रहने कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक सङ्घ संस्था, जातीय संस्था, संस्था, समाजसेवी बुद्धिजीवी, कलाकार तथा पत्रकारहरूलाई कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई भव्य रूपमा सफल बनाइदिन समाजका अध्यक्ष गोरख चन्द ठकुरीले अनुरोध समेत गरेका छन् । शुक्रवार बिहान ११ बजे देखी कार्यक्रम सुचारु हुने कार्य तालिका रहेको छ ।

गौरा विशेष

गौरा पर्व विशेष गरेर सुदूरपश्चिमका पहाडी समुदायमा मनाइने गौरालाई दशैभन्दा पनि बढी महत्त्व दिने गरिन्छ । पौराणिक कालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको सँस्कृतिविदहरुको भनाइ छ ।

यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्छन् । महिलाहरूले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख–शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको छ । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौरा घरमा गई गरिने शिव र गौरीको पूजा अर्चनामा बिरुँडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । यो पर्व चार दिनसम्म मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend