logo
  • शनिबार, साउन ३० २०८३

कतारमा रहेका लुम्बिनी वासीले भव्य रूपमा मनाए तिज (फोटो फिचर)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार, कतार भदौ १४ ।
कतारमा रहेका लुम्बिनी प्रदेश वासीहरूले भव्य रूपमा तिज मनाएका छन् । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको आयोजना तथा प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा “तिज विशेष तथा दरखाने कार्यक्रम” भव्य रूपमा मनाएका हुन । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारकी कावा अध्यक्ष मनीषा खडकाको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोकमाया केसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रवार सनैयामा अवस्थित फुलवारि रेस्टुरेन्टको सभाहलमा विधिगत रूपमा व्यानर अनावरण तथा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरिएको कार्यक्रममा कतारमा रहेका आधा दर्जन कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । तीज लहर आयो बरिलै, घन्काइदेऊ मादलु ताल, सबैले भन्छन् पातली नाच्छे, आहै मेरो बलमा, लाहुरेले लैन केरे, जस्ता एक दर्जन भन्दा बढी गितहरुमा रातो, साडी, हरियो चुरा, पोते र सुनका गहनाले झलमल्ल सजिएका महिला दिदीबहिनीहरू छमछम नाचिरहे ।

नेपाली नारीहरूको महानपर्व हरितालिका तिजको अवसरमा रोल्पा जलजला सेवा समाज कतारले कार्यक्रममा सगुन कोसेली प्रदान गरेको थियो । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूको शुभकामना मन्तव्य राखेका थिए । हरितालिका तीज केवल उपवास, गीत वा नृत्यमा मात्र नभएर यो पर्वले धार्मिक आस्था, सांस्कृतिक मौलिकता समेत जोडने वक्ताहरूको भनाई रहेको थियो, प्रमुख अतिथि केसीलाई स्टेजमा दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो ।

प्रमुख अतिथि केसीले पछिल्लो समय प्रदेशले आयोजना गरेका हरेक कार्यक्रम भन्दा आजको कार्यक्रम अत्यन्तै सौहादपुर्ण रहेको र भव्य रूपमा सम्पन्न गरेको जिकिर गरिन । तिज सकिएपछि पनि हाम्रो चाडबाडमा हामी कसरी खुसी हुन सकिन्छ भन्ने गतिलो उदाहरण लुम्बिनी प्रदेशले दिएको बताईन।

केसीले नेपाली महिला समाज कतार र लुम्बिनी प्रदेश समन्वय परिषद् कतार सगंको सम्बन्ध सदैब रहने बिश्वास व्यक्त गरिन । उनले हामी प्रवासमा छौ, हामीलाई दुखले कति बेला छुन्छ, दुख र सुखको सारथी हाम्रो समाज नै हो तसर्थ कतारमा रहेका नेपाली दिदीबहिनीहरुलाई समाजसँग जोडिन आग्रह समेत गरिन ।

सभापति खड्काले आफ्नो मन्तव्य बोल्दै तिज विशेष कार्यक्रमको आयोजना गरेर कतारमा रहेका दिदीबहिनीहरूलाई दर खुवाउने अवसर मिलेकोमा खुसी व्यक्त गरिन । कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोगी संघ-संस्था तथा हलमा उपस्थित सम्पूर्णलाई हार्दिक आभार व्यक्त गरिन ।

प्रदेश समन्वयका उपाध्यक्ष टेकराज थापाले स्वागत मन्तव्य राखेका थिए । महासचिव देवराज पुनले सहजीकरण गरेको कार्यक्रमको संयोजक बिवश बेल्वासेको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend