साझा नेटवर्क
कमल पौडेल,गुल्मी असार १४ ।
वामीटक्सार, गुल्मी मुसिकोट नगरपालिकाले सामाजिक सञ्जालमा उठेका आलोचनाबारे स्पष्टिकरण दिंदै पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । हालै नगरप्रमुख जिवलाल खरेल ‘जीवन’लाई लक्षित गर्दै सामाजिक सञ्जालमा आएका टीका–टिप्पणीलाई असत्य, भ्रमपूर्ण र नियोजित बताउँदै नगरपालिकाले आधिकारिक विज्ञप्ति मार्फत खण्डन गरेको हो ।
नगर प्रवक्ता हरिहर सापकोटाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा नगरले पूर्वाधार, कृषि, पर्यटन, उद्योग, जलवायु अनुकूलन र सामाजिक योजनामा भएका प्रगतिलाई गलत ढंगले प्रस्तुत गर्दै आगामी बजेट तर्जुमा नै प्रभावित पार्ने प्रयास गरिएको आरोप लगाइएको छ। इन्धन खर्च र गाडी भाडासम्बन्धी प्रष्टिकरण इन्धन र सवारीसाधन उपयोगसम्बन्धी उठेका प्रश्नहरूबारे पनि स्पष्ट गरिएको छ। नगरसँग हाल एक मात्र ४ पांग्रे सवारी रहेको र आवश्यकताअनुसार गाडी भाडामा लिने निर्णय मितव्ययी हुने ठहर गर्दै नयाँ गाडी खरिद नगरेको जानकारी दिइएको छ ।
त्यस्तै, एकैदिन मेयरको नाममा ४५० लिटर इन्धन प्रयोग गरिएको भनिएको सन्दर्भमा, इन्धन विवरण प्रविष्टिमा प्राविधिक ढिलाइ भएको र त्यसपछि PAMS प्रणालीमा एकैपटक प्रविष्ट गर्दा सबै विवरण एकैदिन देखिएको स्पष्टिकरण दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले पत्रकारहरूसँगको छलफलमा डेटा प्रविष्टिमा मानवीय त्रुटि भएको स्वीकार गर्दै अब यस्ता त्रुटि नदोहोऱ्याउने प्रतिबद्धता जनाए ।
उनले गाडी भाडाको दर गुल्मी जिल्लाको दररेटअनुसार उल्लेख भएको र विवरण पूरा नहेरी गलत निष्कर्ष निकालिएको बताउनुभयाे। समीक्षात्मक वातावरण र पारदर्शिताको प्रतिवद्धता नगरप्रमुख खरेलले समीक्षात्मक वातावरणलाई आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिँदै पारदर्शिता, जवाफदेहिता र मितव्ययिता कायम राख्दै विकासको गति अविचलित बनाइराख्ने प्रतिबद्धता दोहोर्याउनु भयो ।
पत्रकार असुरक्षा र कर्मचारी आन्दोलनबारे जवाफ पत्रकार असुरक्षाको सवालमा, सार्वजनिक स्थानमा खिचिएको भिडियो हटाउन दवाव दिएको आरोपलाई दुखद् भन्दै खरेलले छानबिनका लागि नगरपालिका पूर्ण रूपमा तयार रहेको बताउनुभयाे। कर्मचारी आन्दोलनबारे उठेको प्रश्नमा उनले न्यायिक समितिका सदस्यको संयोजकत्वमा छानबिन समिति गठन भइसकेको र त्यसको प्रतिवेदन गाउँसभामा प्रस्तुत गरिने जानकारी दिनुभयाे ।
नगरपालिकाले जारी विज्ञप्तिमार्फत नगरवासी, सञ्चारकर्मी तथा शुभचिन्तकहरूलाई समर्थनका लागि धन्यवाद दिँदै आधारहीन प्रचारप्रति सचेत रहन आह्वान गरेको छ। साथै आफ्नो कर्तव्यप्रति दृढ भएर अघि बढ्ने संकल्प पनि व्यक्त गरेको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend