logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीको मुसिकोटमा आ.व. २०८२/८३ को लागि निति तथा कार्यक्रम पारित, असार १० गते बजेट प्रस्तुत हुने ।


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

 

कमल पौडेल ०५ असार, २०८२ । गुल्मीको मुसिकोट नगरपालिकाको दोस्रो नगरसभाको १८ औं अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ को लागि नगरप्रमुख जिवलाल खरेल जिवनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको छ। “सामाजिक तथा भौतिक पूर्वाधारमा गुणस्तरीयता र व्यापक सुधार, सुशासन सहित कृषि उद्यम, सामाजिक सुरक्षा र पर्यटन विकासमा उदार” भन्ने सोंच सहितको निति तथा कार्यक्रम आगामी वर्षको लागि पारित भएको हो।

निति तथा कार्यक्रममा वित्तिय अनुशासनलाई उच्च प्राथमिकता दिँदै करको दायरा वृद्धि गरी पुँजी निर्माणलाई प्राथमिकता दिने, चालु खर्च घटाउने, पुँजीगत खर्च बढाउने र पुँजी निर्माणमा ध्यान पुर्याउने उल्लेख गरिएको छ। आवधिक योजनाले देखाएका क्षेत्रहरु र मध्यमकालिन खर्च संरचनाको मर्म अनुरुप स्रोत परिचालन गर्ने उल्लेख गरिएको निति तथा कार्यक्रममा जापानको ओइता प्रान्तको बुङगोआनो नगरपालिका संग गरेको भगिनि सम्बन्धबाट मुसिकोट नगरपालिकाको आर्थिक, शैक्षिक, साँस्कृतिक विकासमा वित्तिय र प्राविधिक सहयोग विस्तार हुने अपेक्षा राखिएको छ।

कृषि क्षेत्रलाई विविधिकरण, यान्त्रिकीकरण र आधुनिकीकरण मार्फत व्यवसायी प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाएको निति तथा कार्यक्रममा अघिल्लो वर्षमा जस्तै आगामी वर्षमा पनि कृषि उपज संकलन तथा विक्रि सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिने शित भण्डार तथा कृषि एम्बुलेन्सको लागि पहल गर्ने, कृषि प्राविधिक सहित धुम्ति शिविरका रुपमा कृषि सेवा सञ्चालन गर्ने उल्लेख गरिएको छ। “पख्नोस तपाईका लागि हामी केहि गर्दैछौं”, “कफि लगाऔं–आम्दानी बढाऔं”, “आफ्नो गाउँ फर्कि आउँ” लगाएत अघिल्लो वर्षका कार्यक्रमलाई निरन्तरता दिएको निति तथा कार्यक्रममा कृषि वन पैदावार जन्य साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने, भूमि बैंक स्थापना गर्ने कार्यक्रम समावेश गरिएको छ।

पशु सेवा संग सम्बन्धित डोर टु डोर सेवा कार्यक्रम सञ्चालन गर्ने, पशु विमा नमुना कार्यक्रम वडा नं. १ र ७ मा सञ्चालन गर्ने, वामीटक्सारमा भेटेरीनरी अस्पतालमा पशु चिकित्सक सहितको सेवा विस्तार गर्ने लगाएतका कार्यक्रम निति तथा कार्यक्रममा समेटिएको छ। सिप विकास र रोजगार प्रवर्धन कार्यक्रम अन्तरगत मेड्पा, सिटिइभिटि संगको समन्वयमा सिप विकास तालिममार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने, पर्यटन तर्फ “निर्मित सार्वजनिक सम्पत्तीको संभार” नामक कोषको व्यवस्थापन र परिचालन गर्दै ऐतिहासिक एवं सामाजिक धरोहरको संरक्षण र एवं सम्वद्र्धन गर्ने विषय निति तथा कार्यक्रममा समेटिएको छ।

सालिमेदह जाने पदमार्गीहरुको लागि ट्रेल रुटको विस्तार गर्ने र “पुण्य भूमिमा पदयात्रा” अभियान सञ्चालन गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ। भने सामाजिक विकास तर्फ विद्यार्थीहरुलाई विद्यालयमा “ल्याउन, टिकाउन र सिकाउन” कार्यक्रमलाई व्यवस्थीत गर्ने, ६–८ को स्थानीय पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक निर्माण गरि निशुल्क पाठ्यपुस्तकको पहुँचको व्यवस्था गर्ने, झक्कले–भुकुवा क्षेत्रमा होटल म्यानेजमेन्ट कक्षा सञ्चालनको लागि सिटिइभिटि संग समन्वय गर्ने, बालमैत्री नगर स्थापना गर्ने, बालवालिका सँग उपप्रमुख कार्यक्रम सञ्चालन गर्ने, खेलजन्य गतिविधिमा लगानी बढाउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यस्तै स्वयंसेवक शिक्षकहरु नियुक्ति गर्ने, कक्षा ११ र १२ मा उत्कृष्ट हुने २ जना विद्यार्थीलाई क्षमता विकासको लागि जापान पठाउने, पूर्णखोप युक्त नगरपालिका घोषणा गर्ने, चिकित्सक सहितको विभिन्न स्वास्थ्य शिविर संचालन गर्ने, स्वास्थ्य चौकीहरुमा ग्रामिण अल्ट्रासाउण्ड सेवा विस्तार कार्यक्रमलाई निरन्तरता दिने, प्रयोगशाला सेवालाई गुणस्तरीय बनाउने, निशुल्क रक्तसंचार कार्यक्रमलाई निरन्तरता दिने, र आगामी वर्षको लागि सहुलियत फार्मेसी सेवा सुरु गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ। खानेपानी वितरण प्रणालीमा शुद्धिकरणको व्यवस्था मिलाउने, गत आर्थिक वर्षमै सञ्चालनमा आएको “विपद र गरिबीमा हाम्रो नगरको भरः आवास क्षेत्र र शौचालय सुधार, घर नभएकालाई घर” कार्यक्रम लाई निरन्तरता दिने उल्लेख गरिएको छ।

भौतिक पूर्वाधार विकास तर्फ दिगो विकास लक्ष्य अनुरुप विकास र वातावरणलाई तादम्यता मिलाएर सडक प्राथमिकताका आधारमा स्तरोन्नती गर्ने, नगरपालिका भित्रका सडक सञ्जाललाई बाह«ै महिना सवारी चल्ने गरि नियमित र व्यवस्थीत गर्ने, नगरपालिका भित्र भवन निर्माण पूर्व नक्सा पास गर्ने कार्य अनिवार्य गर्ने, नगरपालिका भित्रका जग्गा वर्गीकरण र नक्सांकन गर्ने, आयोजनामा संलग्न कामदारको अनिवार्य सामुहिक दुर्घटना विमा गर्ने, विपद्जन्य घटनाका कारण आफ्नो वासस्थान गुमाउने प्रभावितहरुलाई जग्गा प्राप्तिको लागि प्रति आना १२ हजार ५ सय कानुन बनाएर उपलब्ध गराउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ। जग्गा प्राप्त भएका वडाहरुको कार्यालय भवन निर्माण गर्ने, भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गर्ने लगाएतका विषय निति तथा कार्यक्रममा समावेश गरिएको छ। निति तथा कार्यक्रम पारित भैसकेकोले बजेट असार १० गते प्रस्तुत हुने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend