logo
  • शुक्रबार, असोज ९ २०८३

यातायात कार्यालय कलैयाका भ्रष्टाचार छताछुल्ल, अख्तियार दुरुपयोग मौन 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

रंजित चौरसिया,वीरगंज १८ जेष्ठ ।  यातायात व्यवस्था कार्यालय कलैया बारामा भ्रष्टाचारको सिमा नाघ्दा सो कार्यालयमा घुसको रकम फालाफाल भएको समाचार प्राप्त हुन आएको छ । सो घुसखोरी कार्यलाई रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले हाल कति जना दैनिक उत्तीर्ण भए/नभएको रिपोर्टिङ लिइरहे पनि भ्रष्टाचारमा संलग्न भ्रष्ट कर्मचारीहरूलाई कारवाही गर्न सूक्ष्म तरिकाले अनुसन्धान प्रक्रिया अगाडि बढाउन नसकेकोमा सचेत नागरिकहरू आश्चर्यमा परेका छन् ।

कार्यालय प्रमुख अविन्दर दास आए देखि सूक्ष्म तरिकाले भ्रष्टाचार भइरहेको तथ्य बाहिरिएको छ । प्रमुख दासले व्यक्तिगत रुपमा केही मोटरसाइकलहरू किनि सेटिङ् भएका परीक्षार्थीहरूको ठाउँमा ड्रेस परिवर्तन गराउँदै फुर्तिलो चालकहरुलाई प्रयोग गर्दै प्रयोगात्मक परीक्षा दिन लगाईरहेको स्रोतले जनाएको छ । फुर्तिलो चालकहरूले दिइरहेको प्रयोगात्मक परीक्षामा सिसिटिभी क्यामरा भए पनि टाउकोमा हेल्मेट, मुखमा माक्स लगाएको कारण उनीहरूलाई (चिन्न) छुट्याउन एकछिन गाह्रो भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिसिटिभी फुटेज नियन्त्रणमा लिई सुक्ष्म तरिकाले अनुसन्धान गर्दा नक्कली प्रयोगात्मक परीक्षा दिनेहरूको पर्दाफास हुने नै हो भनी समाचार स्रोतको कथन रहेको छ ।

प्रमुख दासले आउँदा तत्कालीन अवस्थामा प्रयोगात्मक परीक्षा दिइरहेका परीक्षार्थीहरूको सिसिटिभी क्यामराको फुटेजमा ईडिट रबि चौधरीले गरिरहेका थिए । जुन कार्यालयका कर्मचारी होइनन् । सो सिस्टममा माथिको मिति ईडिट गर्न सकिने भए पनि तलको मितिको ईडिट कुनै पनि हालतमा हुन नसक्ने जानकारहरूको भनाई रहेको छ । सो कार्यालयमा लिखित दिने सेटिङ् भएका परीक्षार्थीहरूलाई ५/६ वटामा सङ्केत चिन्ह लगाउने र बाँकी खाली छोड दिए पछि लिखित प्रमुखको सहमतिमा कर्मचारीहरूले नै सङ्केत चिन्ह लगाई पास गराउने गरेको परीक्षामा सहभागी एक परीक्षार्थीले बताए ।

लिखित परीक्षा पछि हुने प्रयोगात्मक परीक्षामा सेटिङ्ग भएका परीक्षार्थीहरू सँग ट्रायल प्रमुख र ट्राफिक प्रहरीको सहमतिमा प्रमुख दासले व्यक्तिगत रुपमा किनेका मोटरसाइकलबाट फुर्तिलो चालकहरुलाई अनुहार छोप्ने गरी हेल्मेट र माक्स लगाउन लगाई ट्रायल लिइरहेको परीक्षामा सहभागी एक परीक्षार्थीले नाम नछाप्ने शर्तमा बताए । ट्रायल परीक्षा सकिएपछि ट्रायल प्रमुख प्रयोगात्मक परीक्षाका केन्द्राध्यक्ष) को नेतृत्वमा मेकानिकल सुपरभाईजर इन्जिनियर सहित ट्रायलमा खटिएका अन्य कर्मचारीहरू निरीक्षकको हैसियतमा सङ्ख्या किटान गरी उत्तीर्ण भएको सिफारिस गरेपछि मात्र परीक्षा समितिले सो लाई माईनुट बुक उठाई निर्णय गरी सदर गर्ने गरेका छन् । सो कार्यालयमा तत्कालीन अवस्थामा लिखित प्रमुख मुकेश कुशवाहा र ट्रायल प्रमुख जिवन पौडेल रहेका थिए भने हालको अवस्थामा लिखित प्रमुख जिवन पौडेल र ट्रायल प्रमुख मेकानिकल सुपरभाइजर संतोष सिंह रहेका छन् ।

परीक्षा समितिको प्रमुखमा अविन्दर दास र सदस्यहरुमा मेकानिकल सुपरभाइजर संतोष सिंह र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिपक केसी सहित तीन जना रहेका छन् । सो कार्यालयको मोटरसाईकलको आन्तरिक दररेट ८ हजार, अटो टेम्पोको १० हजार, कार जिपको १३ हजार र हेभी गाडी तथा मेशिनरीहरुको २० हजार रहेको भुक्तभोगीहरु बताउंदछन् । प्रमुख दासले परिचालन गरेको बिचौलियाहरुले सेवाग्रहीहरुबाट जति ठगे पनि आफुलाई आफ्ना कार्यालयको आन्तरिक दररेट अनुसार नै लिने गरेको एक बिचौलियाले बताए । प्रमुख दास रौतहट यातायात कार्यालयमा कार्यरत्त रहंदा आफु सँगै राख्ने गरेका आफ्ना नातेदार सिकेन्द्र दासलाई बारा जिल्लामा आउंदा लिदै आएका छन् । प्रमुख दासका बढी विश्वासपात्रका रुपमा सिकेन्द्र दास नै रहेको स्रोतको भनाई रहेको छ ।

नक्कली प्रयोगात्मक परीक्षाका परीक्षार्थीहरूलाई व्यवस्थापन देखि लिएर असुली सम्मको जिम्मा प्रमुख दासले सिकेन्द्र दासलाई नै दिने गरेको बताईन्छ । मासिक रुपमा करोडौं भ्रष्टाचार भईरहेको सो आम्दानीबाट प्रमुख दासको भागमा २० प्रतिशत, ट्राफिक प्रहरी निरीक्षक दिपक केसीको भागमा २० प्रतिशत, ट्रायल प्रमुख र त्यसमा खटिने कर्मचारीहरुको भागमा २० प्रतिशत, मेकानिकल सुपरभाइजर संतोष सिंहको भागमा १५ प्रतिशत र विविधमा २५ प्रतिशत भाग जाने गरेको स्रोतको भनाई रहेको छ । प्रहरी निरीक्षक केसीको विश्वासपात्रको रुपमा ट्रायलमा खटिएका प्रहरी नायब निरीक्षक किरण कार्कीले हिसाब किताब गरी केसीलाई बुझाउने गरेको र सो बाट केही भाग मधेश प्रदेश ट्राफिक प्रहरी पथलैयाका प्रहरी उपरिक्षक राजकुमार सिलवाललाई जाने गरेको स्रोतले जनाएको छ ।

यातायात कार्यालय कलैयाका भ्रष्टाचार सन्दर्भमा त्यहाँका केही राजनैतिक दल र युवाहरुको जमातले केही महिना पहिले बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको ध्यानाकर्षण गराउदां उनले प्रमुख दासलाई बोलाएर करिब एक महिना सेटिङ्गमा काम नगर्न सुझाएको स्रोतको कथन रहेको छ । तर सूक्ष्म तरिकाले भ्रष्टाचार गर्नमा सिपालु मानिएका प्रमुख दासले करिब एक महिना काम नहुँदा सरकारको राजस्व गुम्ने कुरा देखाई प्रमुख जिल्ला अधिकारी अधिकारीलाई भ्रमित पार्दै यहाँको आदेशलाई स्वीकार्दै केही दिन बन्द गर्ने वाचा गरेको ती स्रोतको कथन रहेको छ । प्रमुख दासले आफ्नो वाचा अनुसार केही दिन फेयर काम गरी प्रमुख जिल्ला अधिकारी अधिकारीलाई रिझाउदै पुनः लाईसेन्सको काम सेटिङ्गमा सुरु गरेको र विविधमा छुटयाईएको २५ प्रतिशतबाट अधिकारीको भाग जाने गरेको सो कार्यालयमा कार्यरत्त एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । कार्यालयको तमाम बेथितिको बारेमा प्रतिक्रिया लिन कार्यालय प्रमुख दास सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend