logo
  • शुक्रबार, असोज ९ २०८३

बागलुङका स्थानीय सरकारका न्यायिक समितिको दोस्रो सम्मेलन सम्पन्न  ( फोटो फिचर सहित )


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

कमल पौडेल, फागुन २३, बागलुङ । बागलुङ जिल्लाको स्थानीय सरकारका न्यायिक समितिको दोस्रो जिल्ला सम्मेलन बडिगाड गाउँपालिकामा सम्पन्न भएको छ। पर्यटकीय स्थल बडिगाड गाउँपालिकाको वडा नं. ७ मा अवस्थित थामचौरमा भएको सम्मेलनले १५ बुँदे आचारसंहिता तथा १२ बुँदे थामचौर घोषणापत्र जारी गरेको छ। जिल्लाका १० स्थानीय तहका उपप्रमुख समेत रहेका न्यायिक समितिका संयोजकहरुले हस्ताक्षर गरेको घोषणापत्रमा समुदाय स्तरका सामुदायिक मेलमिलाप केन्द्रलाई थप व्यवस्थित गर्ने, न्याय सम्पादनमा सबै नागरिकलाई सम्मान र निष्पक्षता सुनिश्चित गर्दै पछाडि परेको समुदायलाई प्राथमिकीरण गर्ने, न्यायिक समितिका पदाधिकारी नैतिक आचरणयुक्त रहने, न्याय सम्पादन प्रक्रियामा प्रविधिको अधिकतम प्रयोग गर्ने, न्याय सम्पादनलाई पारदर्शी बनाउने, न्यायिक दस्तुर फैसला लगायतलाई समयसापेक्ष गराउने लगायतका बुँदाहरू समेटिएको छ।

त्यस्तै १५ बुँदे आचारसंहितामा, न्यायिक समितिको क्षेत्राधिकार, हदम्याद लगायत मेलमिलापकर्ताको भूमिकाको अनुगमन, उजुरी लगायतको पक्षसँग बाझिन सक्ने स्वार्थ प्रति चनाखो रहने, न्याय सम्पादनमा नागरिकलाई समान व्यवहारबाट निष्पक्ष र निष्कलंक भई काम गर्ने, नागरिकलाई समयमै न्याय दिने, भेदभावरहित न्याय प्रदान गर्न प्रतिवद्ध रहने लगायतका बुँदाहरू समेटिएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन बनले जानकारी दिनुभएको छ।

बडिगाड गाउँपालिकाले व्यवस्थापन गरेको कार्यक्रममा बागलुङ जिल्लाका १० वटै स्थानीय तहका उपप्रमुख सहित गुल्मी जिल्लाका मुसीकोट नगरपालिका तथा मालिका गाउँपालिकाका उपप्रमुखहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले सम्मेलनले न्यायिक सम्पादनमा थप सहजता आउने विश्वास गर्दै कार्यक्रमको स्थल पर्यटकीय क्षेत्रको रुपमा प्रवद्र्धन गर्न सघाउ पुग्ने बताउनु भएको छ। सो कार्यक्रमको सहजिकरण बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्त पौडेलले गर्नुभएको थियो।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, गल्कोट नगरपालिकाका उपप्रमुख फमलाल न्यूरे, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, ढोरपाटन नगरपालिकाका उपप्रमुख धन बहादुर कायत, बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, निसिखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्ति, तमानखोला गाउँपालिकाका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिम बहादुर रोका, बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुन, गुल्मीको मुसीकोट नगरपालिकाका उपप्रमुख गंगा श्रेष्ठ, मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्याल लगायतले आफूहरूले गरेको असल अभ्यास, चुनौती र सम्भावनाको विषयमा बोल्नुभएको थियो। कार्यक्रममा जिल्लाभरका न्यायिक समितिका सदस्यहरुको समेत सहभागिता रहेको थियो।  

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend