logo
  • शुक्रबार, असोज ९ २०८३

रेडियो नेपालको बुर्तिवाङमा स्थलगत बहस, नयाँ सहरी आयोजना र ढोरपाटन सिकार आरक्षको काममा स्थानीयको गुनासो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

कमल पौडेल,बागलुङ, १२ फाल्गुन ।

ढोरपाटन सिकार आरक्ष र स्थानीय बिचको असमझदारीले मध्यवर्ती क्षेत्र घोषणा कार्यक्रम अलपत्र परेको छ। देशकै एकमात्र सिकार आरक्ष ढोरपाटनमा रेडियो नेपालले गरेको स्थलगत बहसमा स्थानीय र आरक्ष विच समन्वय नहुँदा मध्यवर्ती घोषणा कार्यक्रम नै अलपत्र परेको खुलेको हो। बहसमा ढोरपाटनका स्थानीयले सदियौं देखि पुर्खाले जोगाएको आरक्ष क्षेत्रलाई मध्यवर्ती घोषणा गरेर राज्य दमनमा उत्रेको आरोप लगाएका थिए। आरक्ष क्षेत्रमा विकास निर्माणको काम गर्न नपाएको, चोरी सिकारी निरन्तर बढेको, सरकारी संयन्त्र समेत स्रोत दोहनमा लागेको लगायत आरोप स्थानीयले लगाएका छन्।   

जवाफमा ढोरपाटन शिकार आरक्षका निमित्त प्रमुख संरक्षण अधिकृत पशुपति अधिकारीले स्थानको असहयोग र समन्वय अभावमा चोरीशिकारी बढेको स्वीकार गर्नुभएको थियो। संरक्षण अधिकृत अधिकारीले मध्यवर्ती क्षेत्र घोषणा कार्यक्रम कार्यान्वयन नभएसम्म जनताको अपेक्षा पुरा हुन नसक्ने भन्दै कानून अभावमा स्थानीय सरकारसँग समेत समन्वय गर्न नसकिएको बताउनुभएको थियो।

सोही क्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायत (कल्याण) ले आरक्षले नीति नियम देखाउने र स्थानीयले आफ्नो भोगाधिकार खोज्दा समस्या भएको भन्दै आगामी दिनमा नगरपालिकाले पनि समन्वयमा तदारुकता देखाउनु प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

नेपाल सरकारले २०५२ सालदेखिनै मध्यवर्ती क्षेत्र अवधारणा ल्याएपनि स्थानीयको अवरोधका कारण हालसम्म सो योजना कार्यान्वयन हुन सकेको छैन। त्यस्तै मध्यवर्ती क्षेत्र घोषणामा ढिलाई हुँदा बर्सेनी आउने करोडौँ बजेट स्थानीयको हितमा खर्च हुन नसकेको आरक्ष कार्यालयले जनाएको छ। आरक्षको तथ्यांक अनुसार विभिन्न स्रोतबाट ढोरपाटनमा वार्षिक २ देखि ३ करोड सम्म राजश्व संकलन हुनेगरेको छ।

त्यस्तै रेडियो नेपालको अर्को स्थलगत बहसमा नयाँ शहर आयोजना कार्यालय बुर्तिवाङले प्रभावकारी काम गर्न नसकेको सरोकारवालाले आरोप लगाएका छन्। राष्ट्रिय गौरवको आयोजना मध्य पहाडि लोकमार्ग नजिक १० नमुना शहर बनाउने योजना वि.सं. २०७२ बाट सुरु भएको र आयोजनामा हरेक वर्ष करोडौंको बजेट परे पनि अत्यावश्यकीय पूर्वाधार विकास हुन नसकेको स्थानियले बताएका हुन्। तर पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट विनियोजन नहुँदा समस्या भएको आयोजना कार्यालयका निमित्त प्रमुख इन्जिनियर कोमलचन्द्र शाहले बताउनु भएको छ। बहसमा नागरिकहरूले साँघुरो बजारमा सडक पनि साँघुरो भएको, बसपार्क नदिकिनारमा बनाइएको, सिटिहल लगायत सरकारी भवन अपायक ठाउँमा भएको लगाएत गुनासो गरेका थिए। जवाफमा इन्जिनियर साहले उपयुक्त निर्माण स्थल छनौटमा स्थानियकै हात हुने भन्दै सिमित बजार क्षेत्र मात्रै भन्ने नबुझ्न र ठूलो क्षेत्रमा सहरको कल्पना गरिएको भन्दै विकेन्द्रित ढंगले भौतिक निर्माणको प्रयत्न भएको बताउनु भएको थियो।

संघिय सरकारले हाल सम्म सो आयोजनाका लागि करिव ७० करोड बढि रकम लगानी गरिसकेको छ। हालसम्म १७ किलोमिटर सडक ढलान, साढे ६ किलोमिटर नाली निर्माण, एउटा पाँचतले भवन निर्माण, दुई सय ७२ वटा सौर्य बत्ति जडान र ५६ रोपनी जग्गा खरिद गरेको कार्यालयले जनाएको छ। हाल एउटा बसपार्क र पार्क निर्माणाधीन अवस्थामा रहेको छ। रकम अभावमा ल्याण्डफिल्ड साइट, हाट बजार, खेलमैदान, खानेपानी व्यवस्थापन लगायत महत्वपूर्ण कामहरु गर्न नसकेको आयोजनाले जनाएको छ।

त्यस्तै बहसमा सहभागि हुँदै ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायत (कल्याण)ले नगरपालिका र नयाँ सहर आयोजना मिलेर काम गर्ने गरि समिति समेत गठन भएको बताउनु भएको छ। कार्यवाहक मेयर कायतले पहिले केहि नमिलेको भएपनि अव दुवै सरकारी निकाय मिलेर आवश्यकता अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।  

बहसमा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेले नगरपालिकाको परिचय दिँदै विकासले पारेको प्रभाव, संभावना र चुनौतिको जानकारी गराउनुभएको थियो।

सो बहसमा उद्योग वाणिज्य संघ बुर्तिवाङका अध्यक्ष ढालेन्द्र छन्त्याल, राजनितिकर्मि टंक पौडेल, ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नं. ७ का अध्यक्ष धन बहादुर अदै, वडा नं. ७ का पूर्व अध्यक्ष तिलक थापा, स्थानियहरु लक्ष्मी वानीया, शिव चालिसे, दल बहादुर भण्डारी, पूर्णपति कँडेल, राम घर्ति लगाएतले भागलिनुभएको थियो। भने पत्रकारहरु लोकेन्द्र सुनार, छविलाल पाण्डेले टिप्पणी तथा समिक्षा गर्नुभएको थियो। रेडियो नेपालको सो स्थलगत बहस कार्यक्रमको सहजिकरण कार्यक्रम अधिकृत भानुभक्त खड्का, मुकुन्द भण्डारी तथा स्थानीय संवाददाता कमल पौडेलले गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend