साझा नेटवर्क
कमल पौडेल २७ माघ, बडिगाड । बडिगाड गाउँपालिकामा एच.पि.भी. खोप अभियान सुरु भएको छ। पाठेघरको मुखको क्यान्सर रोक्नका लागि देशैभर चलिरहेको अभियान अन्तरगत बडिगाड गाउँपालिकामा पनि खोप अभियान सुरु भएको हो। बडिगाड गाउँपालिकामा आइतबार देखि सुरुभएको अभियान फागुन ३ गते सम्म चल्ने बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भएको छ। बडिगाडमा ३७ खोप केन्द्रबाट १ हजार ६ सय १० जना किशोरीहरूलाई खोप लगाउने कार्यक्रम रहेको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसिले जानकारी दिनुभयो।

बडिगाडमा ७४ जना स्वयंसेवक तथा ३७ खोप कार्यकर्ता मार्फत खोप दिन लागिएको हो। आज पहिलो दिन १० वटै वडामा ११ खोप केन्द्रबाट खोप सुरु गरिएको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। यसै बीच एचपिभि खोप अभियानको शुभारम्भ तथा सन्देश प्रवाह कार्यक्रममा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले ढुक्क भएर खोप अभियानमा जोडिन सम्बद्ध सवैमा आह्वान गर्नुभएको छ। दैनिक ४ जना महिलाहरू पाठेघरको क्यान्सरका कारण मृत्यूवरण गर्नुपरेको भन्दै त्यसबाट जोगिन खोप अभियानमा सरिक हुनुपर्ने बताउनु भएको छ।

त्रिभुवन मावि खर्वाङमा भएको सो कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल, गल्कोट नगरपालिका वडा नं. ११ का अध्यक्ष डम्बर श्रीस, जिल्ला समन्वय समिति बागलुङका पूर्व उपप्रमुख विष्णु प्रसाद भुसाल, वडा नं. २ का कार्यवाहक अध्यक्ष विष्णु अर्याल लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थीहरूको सहभागिता रहेको थियो। बडिगाड गाउँपालिका खोप समन्वय समितिको आयोजना तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्वाङको व्यवस्थापनमा भएको कार्यक्रमको सञ्चालन हेल्थ असिस्टेन्ट पप्पु कुमार शाहले गर्नुभएको थियो। अभियानको पहिलो दिन ८ सय ६५ जनालाई खोप लगाउने तयारी रहेको जनस्वास्थ्य निरीक्षक हेम पुनले जानकारी दिनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend