साझा नेटवर्क
रंजित चौरसिया, वीरगंज माघ ९ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरले उत्कृष्टताको उपाधि हासिल गरेको छ। २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार आयोजित विशेष समारोहमा वर्षकै उत्कृष्ट गढीमाई बाहिनीलाई घोषित गरियो।
बाहिनीपति डिआईजी गणेश ठाडामगरलाई गृहमन्त्री रमेश लेखक र सशस्त्र प्रहरी बलका प्रमुख (आईजीपी) राजु अर्यालले संयुक्त रूपमा “उत्कृष्ट बाहिनी अवार्ड” प्रदान गरे।
उत्कृष्टताको मान्यतासहित पुरस्कृत गढीमाई बाहिनीले सुरक्षा व्यवस्थापन, अनुशासन, दक्षता, र प्रभावकारी कार्यसम्पादनका क्षेत्रमा अग्रणी भूमिका खेलेको प्रमाणित भएको छ। डिआईजी ठाडामगरको नेतृत्वमा बाहिनीले सशस्त्र प्रहरी बलको मापदण्डलाई उच्च स्तरमा पुर्याएको सराहना गरिएको छ।
गणेश ठाडामगरको नेतृत्व क्षमता यसअघि २०७८ सालमा पनि प्रमाणित भएको थियो, जब उनले महोत्तरीस्थित नं. २ छिन्नमस्ता बाहिनीलाई उत्कृष्ट बाहिनीको अवार्ड दिलाएका थिए। दुईपटक उत्कृष्टताको उपाधि दिलाउन सफल ठाडामगरले आफ्नो रणनीतिक सोच र नेतृत्व कौशल फेरि एकपटक प्रमाणित गरेका छन्।
गृहमन्त्री लेखकले अवार्ड वितरण समारोहमा सशस्त्र प्रहरी बलको राष्ट्रिय सुरक्षामा योगदान र अनुशासनको प्रशंसा गर्दै उत्कृष्टता कायम राख्ने प्रेरणादायी कार्यको प्रशंसा गरेका थिए।
सशस्त्र प्रहरी बलका ८ बाहिनीमध्ये उत्कृष्ट ठहरिएको गढीमाई बाहिनीले आगामी दिनमा अझ उच्चस्तरको सुरक्षा र सेवा दिन प्रतिवद्ध रहेको जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend