logo
  • शुक्रबार, असोज ९ २०८३

अभियानका सञ्चालकहरु नियन्त्रणमा, पिडितहरुद्वारा चितवन प्रहरी प्रशासनको प्रशंसा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रंजित चौरसिया, चितवन कार्तिक ३० ।
अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि.ले एसी प्रोजेक्टको छैठौं किस्ता चिठ्ठा कार्यक्रम चितवन जिल्लाको रेनफोरेष्ट रिसोर्टमा लुकिछिपी खेलाउदै गर्दा त्यहाँको प्रहरी प्रशासनले हस्तक्षेप गरी ठगी धन्दाको कार्यक्रम बन्द गराउदै केहीलाई नियन्त्रणमा लिएको समाचार प्राप्त हुन आएको छ ।

एसी प्रोजेक्टको ६ हजार ९ सय ९९ जना सदस्यहरु सँग प्रति व्यक्ति मासिक रुपले २२५० को दरले १ करोड ५७ लाख ४७ हजार ७५० असुल्दै आएका छन् । सो प्रोजेक्टको छैठौं चिठ्ठा कार्यक्रम रेनफोरेष्ट रिसोर्टमा खोलिरहंदा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको निर्देशनमा प्रहरीले छापामारी कार्यक्रम बन्द गराउदै सञ्चालकहरु नियन्त्रणमा लिंदा पिडितहरु हर्षित भएका छन् ।

अभियानका सञ्चालकहरु वीरगंज घडिअर्वा निवासी दिपेश वर्णवाला, रानीघाट निवासी सुशिल सर्राफ, नगवा निवासी ऋषिकान्त गुप्ताले वर्षौ देखि पर्साका प्रहरी प्रशासनको संरक्षणमा चिठ्ठा कार्यक्रम निर्वाध रुपमा चलाउदै आएका थिए । विभिन्न मिडियाहरुले चिठ्ठाको विकृति विरुद्ध समाचार लेख्दा सञ्चालकहरुले जति समाचार आए पनि अथवा जसले जे गरे पनि केही नहुने भन्दै पर्साका प्रहरी प्रशासन आफुहरु सँग नै रहेको हवाला दिदै सदस्यहरुलाई सान्तवना दिदै आएका थिए ।

अभियानको कार्यालय पर्सा जिल्लाको वीरगंजमा रहे पनि ठग सञ्चालकहरुले पिडित सदस्यहरुको डरले अन्य–अन्य जिल्लामा लुकिछिपी चिठ्ठा खोल्दै आएका थिए । तत्कालिन अवस्थामा अभियान डिजिटल वल्र्ड प्रा.लि.को नामले २६ किस्ता चलाई करिब २५ करोड असुली अझ पनि तत्कालिन चिठ्ठाका सदस्यहरुलाई उपहारहरु नदिई लुकिछिपी अभियान कै नामले एसी प्रोजेक्ट सुरु गरेको करिब ६ महिनामा ९ करोड ४४ लाख ८६ हजार ५ सय असुली सकेका छन् ।

एसी प्रोजेक्टमा तत्कालिन अभियान डिजिटल वल्र्ड प्रा.लि. काठमाडौंको नामले सदस्यहरुलाई लोभ्याउने ब्राउसर (बुक) वितरण गरे पनि अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. र डिजिटल ईलेक्ट्रोनिक्स सप्लायर्सको नाममा गरिमा विकास बैंक लिंकरोड वीरगंजमा खाता खोली रकम जम्मा गर्ने गरेका छन् ।

सञ्चालकहरुले टिभी एसेम्बलिङ्ग गरी विक्री वितरण गर्न अनुमति लिए पनि सो नगरी सोझासाझा जनतालाई विभिन्न प्रलोभनमा पारी सदस्य बनाउदै लुकिछिपी चिठ्ठा खेलाउदै ठगी गर्दै आएका हुन् ।चितवनका प्रहरी उपरिक्षक गौतम मिश्र सँग अभियानका चिठ्ठा कार्यक्रममा छापामारी भएको सुनियो, त्यसमा के भईरहेको छ ? भनि जिज्ञासा राख्दा उहाँले केहीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बताए ।

चिट्ठा ऐनले के भन्छ ?

चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ । ३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्रि भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ ।

त्यसपछि बाकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ । तर गैरकानुनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend