logo
  • शुक्रबार, असोज ९ २०८३

पौंदी न्वागी मेलाको प्रमुख आकर्षणमा भलिवल, २ लाख बढिको पुरस्कार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ कार्तिक २९ ।
पौंदिवासीको पहिचानको रुपमा रहेको ग्वालीचौर, खारबजारमा हुने न्वागी मेलाको प्रमुख आकर्षण भलिवल हुने भएको छ। विगत वर्षमा जस्तै यस वर्षपनि मंसिर ३ गते देखि ८ गते सम्म सञ्चालन हुने मेलामा सर्वाधिक राशिको खुल्ला पुरुष भलिवल प्रतियोगिता सहित विविध कार्यक्रम हुन लागेको हो। मेलाको मुख्य आकर्षणको रुपमा रहेको भलिवल प्रतियोगिताको प्रथम पुरस्कार राशि २ लाख ५ हजार तथा द्धितिय पुरस्कार राशि १ लाख ५ हजार रहेको भलिवल खेल संयोजक काजिमान गौचनले जानकारी दिनुभएको छ।

मेलामा खुल्ला पुरुष भलिवल सहित खुल्ला लोक भजन, पौंदि न्वागी डान्स च्याम्पियन, खुल्ला समुहगत रेकर्ड डान्स, सोरठी भैलो, नौमति बाजा लगाएतका प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको खेल संयोजक बुद्ध परियारले बताउनु भएको छ। त्यस्तै कार्यक्रममा वृहत कृषि मेला प्रदर्शनी, कराँते प्रदर्शनी लगाएत लाखेनाच, घाटुनाच तथा हेम्फैनाचको समेत प्रदर्शनी हुने आयोजकले जनाएको छ।

पौंदिवासीहरुको पहिचान, न्वागी मेलाको संरक्षण र सम्मान भन्ने नारासहित आयोजना हुन लागेको मेलामा प्रकाश दूतराज, राज गुरुङ, खुमन अधिकारी, दिलु सलामी, शान्तिरानी परियार, कालिका रोका, इश्वर सिंह, उज्वल गिरी, तारा थापा लगाएतका कलाकारहरुको प्रस्तुती रहने भएको छ।

विगत जस्तै यस वर्षपनि पौंदि न्वागी मेला तथा संस्कृति संरक्षण समितिले आयोजना गर्नेे कार्यक्रमलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरुले काम गरिरहेका छन्। जसअन्तरगत भलिवल संयोजकमा काजिमान गौचन, खेल संयोजकमा वुद्ध परियार, सांस्कृतिक संयोजकमा राम बहादुर कुँवर, प्रचार प्रसार संयोजकमा राम प्रसाद घिमिरे लगाएत रहेको कोषाध्यक्ष रमेश बहादुर घिमिरेले जानकारी दिनुभएको छ।

नयाँधान भित्राएपछि नयाँचामललाई दहिमा भिजाएर बनाएको पहिलो परिकारलाई न्वागी भनिन्छ। सो न्वागी खाने प्रचलन १५ औं शताब्दीमा पौंदि क्षेत्र इस्मा राज्यमा परेपछि सुरुभएको मानिन्छ। खार बजारको न्वागीमेलालाई पश्चिमाञ्चल क्षेत्रकै ऐतिहासिक एवं प्राचिन मेलाको रुपमा लिने गरिएको प्रचार प्रसार संयोजक रामप्रसाद घिमिरेले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend