साझा नेटवर्क
सज्जन ढकाल गुल्मी २० असोज । गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका वडा नम्बर ७,भुर्तुङ्ग नेटा निवासी हाल लण्डनमा रहनुहुने सुरेश केसीले स्वर्गीय पिता कर्ण बहादुर केसीको स्मृतिमा शिव प्राथमिक विद्यालय नेटाको प्राङ्गणमा सार्वजनिक धारा निर्माण गरिदिनु भएको हो । केसी लण्डनमा विभिन्न संघ संस्थामा आबद्ध रहँदै सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ । केसी शिव प्राथमिक विद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।
पछिल्लो समय गाउँमा एक घर एक धारा सञ्चालनमा आएपछि सार्वजनिक धारा नहुँदा सडकमा यात्रा गर्ने यात्री लगायत बटुवालाई पानी पिउनको लागि असहज वातावरण सृजना हुँदै पसलमा बोतलको पानी किन्नु पर्ने बाध्यता रहँदै आएको छ । तसर्थ यो धारा निर्माणले केही टेवा पुर्याउने देखिएको छ ।
प्यास लाग्दा तिर्खा मेटाउन मानव जीवनमा धारा, कुवा, पँधेरो, पानीको टङ्की निस्वार्थ भावले निर्माण गरिदिनुलाई महान् दानका रुपमा लिइन्छ । पछिल्लो समय गाउँघरमा सार्वजनिक खानेपानी धारा लोपोन्मुख अवस्थामा रहेका छन् । भद्रगोल सडक निर्माण कार्यले गर्दा बर पीपल स्वामी भएका चौतारी पनि मासिदै गएका छन् । सार्वजानिक धारा चौतारी निर्माणमा स्थानीय सरकारले चासो देखाउन सकेको छैन । तसर्थ व्यक्तिगत लगानीमा सार्वजनिक धारा निर्माण गरिदिनु ऐतिहासिक कार्य मानिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend