साझा नेटवर्क
रन्जीत चौरासिया, वीरगंज १८ असाेज । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साको रकम मोहले भ्रष्ट प्रवृत्तिका लेखापाल मन्दिप महतोलाई छिपहरमाई गाउँपालिकामा थप जिम्मेवारी दिइएको छ । श्रम कार्यालय पर्सामा लेखापाल महतोको दरबन्दी रहेपनि उनी काजमा पर्साको पोखरिया नगरपालिकामा कार्यरत रहेका छन् । सो नगरपालिकामा कार्यरत रहँदा उनकै भ्रष्टाचारकै कारण नगरपालिका गन्हाएको स्थानीयहरु बताउँछन् । कमिसनको मामिलामा सेवाग्राहीहरू सँग अग्रिम पिसी (पर्सनल कमिशन) नलिईकन चेक नबनाउने बानी बसालेका महतोले रकमको मातमा नगरपालिकालाई बदनाम गराउँदै ऐयासी जीवन बिताउनमा मस्त रहने गरेको कर्मचारीहरू नै बताउँछन् ।
भ्रष्ट प्रवृत्तिका लेखापाल सामान्य परिवारका व्यक्ति हुन्, तर उनी वीरगञ्जमा कैयौँ ठाउँमा घडेरीहरू किनेका छन् भने ४ ठाउँमा फ्ल्याट लिएको खुलेको छ । वीरगंजको राधेमाई, पावरहाउस चौक, ओम आश्रम श्रीपुर र अशोक वाटिकामा फ्ल्याटहरु भाडामा लिएको स्रोतले जनाएको छ । लेखापाल महतोले भ्रष्टाचार गर्ने र सो भ्रष्टाचारको रकमबाट अलग–अलग ठाउँमा फ्ल्याट लिएर ऐयासी जीवन बिताउने उनको दिनचर्या नै बनेको ती स्रोतको भनाई रहेको छ ।
पोखरिया नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा आएको सशर्त अनुदानको रकम २२ करोड २८ लाख ८८ हजार मध्ये २ करोड ३० लाख ८५ हजार ३२१ रुपैया ५६ पैसा फिर्ता गर्नु पर्ने रकम शीर्षकलाई मिची अन्य शीर्षकमा खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्सालाई थाहा हुँदा हुँदै पनि भ्रष्ट प्रवृत्तिका लेखापाल महतोलाई कारवाही गर्नुको साटो उनलाई प्रोत्साहन स्वरुप मोटो रकम लिएर छिपहरमाई गाउँपालिकामा पठाउँदा कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साको निकै आलोचना भइरहेको छ ।
सशर्त अनुदानको रकम जुन शीर्षकमा छ, त्यसै शीर्षकमा सो बजेट चलाउनु पर्नेमा लेखापाल महतोले कमिसन मोहका कारण शीर्षकलाई गोलमटोल गरी बढी कमिसन आउने कार्यमा खर्च गरेको स्रोतको भनाई रहेको छ । आर्थिक बजेट सञ्चालन नियमावली अनुसार सशर्त अनुदानबाट मौज्दात रहेको रकम अन्य शीर्षकमा खर्च गर्नु पर्ने प्रावधान नरहे पनि लेखापाल महतोले नियम कानुनलाई धोती लगाउदै बढी कमिसन कुम्ल्याउनकै लागि सो रकम अन्य शीर्षकमा खर्च गरेको जानकारहरू बताउँछन् ।
स्रोतका अनुसार शीर्षक मिची निकासा गरिएका शीर्षकहरुमा बढी भन्दा बढी तालिम, जिन्सी सामानहरूको फर्जी बिल राखी रकम झ्वाम पार्ने कार्य गरिएकोमा ती २ करोड ३० लाख ८५ हजार ३२१ रुपैयाँ ५६ पैसा कहाँ, किन र कुन शीर्षकमा खर्च गरिएको हो ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायले फाइलहरू नियन्त्रणमा लिई छानबिन गरेमा भ्रष्टाचारका कालाकर्तुतहरु घाम जस्तै छर्लङ्ग हुने पोखरियावासीहरुको कथन रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend