logo
  • शुक्रबार, असोज ९ २०८३

मुसीकोट नगरपालिकामा वार्षिक समीक्षा सम्पन्न, पुँजीगत तर्फ ७४ र चालुतर्फ ८६ प्रतिशत बजेट खर्च 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

  कमल पौडेल २९ साउन, बागलुङ । गुल्मीको मुसिकोट नगरपालिकाको आर्थिक वर्ष २०८०-८१ को वार्षिक समीक्षा कार्यक्रम वामीटक्सारमा सम्पन्न भएको छ। मुसिकोटमा गतवर्ष पुँजीगत तर्फ ७४.४१ प्रतिशत, चालु तर्फ ८६.६२ प्रतिशत गरि कुल ८२.८ प्रतिशत बजेट खर्च भएको छ। वार्षिक समीक्षा कार्यक्रममा पालिका भित्रका सबै शाखा प्रमुखहरूले आआफ्नो शाखाको प्रगति प्रस्तुत गर्नुभएको थियो। 

जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरू लगायत सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा राजनैतिक दलको तर्फवाट नेपाली काँग्रेस मुसिकोटका सभापति झविलाल भण्डारीले विकास योजनामा बेरोजगार सूचीमा सूचिकृतहरुलाई जोड्नुपर्ने, अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै वामीटक्सारमा इलाका प्रहरी र अस्पतालमा डाक्टरको लागि कदम अगाडि बढाउन नगरपालिकालाई आग्रह गर्नुभयो भने नेकपा माओवादी केन्द्र मुसिकोटका प्रमुख डिलाराम सापकोटाले तथ्याङ्क भन्दा जनअपेक्षालाई ध्यान दिन आग्रह गर्नुभएको थियो। 

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका सदस्य सावित्रा भण्डारीले स्थानीय सरकार आएपछि धेरै विकास भएको भन्दै अपेक्षित उपलब्धिको लागि थप ध्यानदिनुपर्ने भएको बताउनु भएको छ। उपप्रमुख गंगा श्रेष्ठले उपभोक्ता समितिको जागरुकता जरुरी रहेको भन्दै समयमै काम सक्नु अहिलेको चुनौती रहेको टिप्पणी गर्नुभएको छ। नगरप्रमुख जिवलाल खरेलले सवै मिलेर मात्रै सुन्दर मुसीकोट बनाउन सकिने भन्दै रचनात्मक सुझावको लागि आह्वान गर्नुभएको थियो।

 कार्यक्रमको अध्यक्षता गरिरहनुभएका मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले सिलिङ अनुसार बजेट नआउँदा भुक्तानीमा समस्या भएको, दरबन्दी अनुसार कर्मचारीको व्यवस्थापन नहुँदा कार्यसम्पादनमा समस्या भएको बताउनु भएको थियो। कार्यक्रम प्रशासन शाखा प्रमुख मुना ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend