साझा नेटवर्क
कमल पौडेल २२ साउन,बागलुङ । गुल्मीको मुसीकोट नगरपालिका वडा नं. १ विसौना कटौजेमा पहिरोले २ घर वगाउँदा ४ जना तथा बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ मा १ जनाको मृत्यू भएको छ। मुसीकोट १ मा मृत्यू हुनेमा वर्ष ४६ का गोरे विक, वर्ष ६७ का हुकुम बहादुर विक, वर्ष ६६ को मसुरी विक र साढे २ वर्षको रियान्सी विकको मृत्यू भएको मुसिकोट नगरपालिकाका उपमेयर गंगा श्रेष्ठले जानकारी दिनुभएको छ। २ जनाको घाइते अवस्थामा उद्धार गरिएको र थप उद्धारकार्य चलिरहेको प्रहरी चौकी पौंदि अमराईले जनाएको छ।
निरन्तर पानी परिरहेको र भौगोलिक रुपमा कठिनाइ भएकोले उद्धारमा समस्या भएको छ। बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ नयाँबस्तीमा पहिरोले पुर्दा १४ वर्षीय विधान परियारको ज्यान गएको वडाध्यक्ष कृष्ण बहादुर केसीले पुष्टि गर्नुभएको छ। गएरातिदेखि परेको वर्षाको कारण वडा नं. ९ मा २ भन्दा बढि घरहरू बगाएको र उद्धारको लागि कठिन भएको वडाध्यक्ष केसीले जानकारी दिनुभएको छ। त्यस्तै वडा नं. १० को आरुपाटा, बाख्रेमा पहिरोले ३ वटा घर बगाउँदा ३ जना बेपत्ता भएको वडा अध्यक्ष विरेन्द्र बुढाले जानकारी दिनुभएको छ।
त्यस्तै वडा नं. १० क्वाल्जिङमा लाल बहादुर परियारको घर बगाएको छ। घाइते भएका लालबहादुरलाई घाइते अवस्थामा उद्धार गरिएको वडाध्यक्ष बुढाले जानकारी दिनुभएको छ। भौगोलिक रुपमा निकै विकट भएकोले उद्धारमा कठिन भएको र इलाका प्रहरी कार्यालय भिमगिठे तथा बुर्तिबाङको टोली घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जानकारी दिएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend