logo
  • शुक्रबार, असोज ९ २०८३

पोखरिया नगरपालिकाका अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतो भ्रष्टाचार गर्नमा माहिर


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

रन्जित चौरासिया, वीरगंज, १८ बैशाख।  पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र लेखा प्रमुख मदिन्प महतोको रासलिला काण्डले व्यापक चर्चा पाएको जानकारहरू बताउँछन् । नगरपालिकाको बजेटलाई दुहुनो गाई बनाएका अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोले भ्रष्टाचारको रकमबाट मात्तिएर लुटतन्त्र मच्चाउदै रासलिला काण्डलाई प्रश्रय दिइरहेका योजना फाँटमा कार्यरत एक जना कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।

कमिसन बिना काम अगाडि बढाउन नजानेका अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोले भौतिक पूर्वाधार सम्बन्धी कार्यमा २० प्रतिशत र सामाजिक विकास कार्यमा न्यूनतम ३० प्रतिशत देखि लिएर ५० प्रतिशत सम्म कमिसन असुल्ने गरेको ती कर्मचारीको भनाई रहेको छ । कार्यालयमा काम लाग्ने टेबल, कुर्सी, दराज लगायतका जिन्सी सामानहरू हुँदाहुँदै पनि कमिसनको चक्करमा नयाँ सामान किन्ने र लाखौं लाखको समानै नल्याईकन अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोले भुक्तानी गरी भ्रष्टाचार गर्ने गरेको समाचार स्रोतले जनाएको छ ।

 सामाजिक कार्यको कयौं नक्कली फाइलहरू खडा गरी भुक्तानी भएका सो नगरपालिकामा हाल भइरहेको शिव महापुराण कथा ज्ञान महायज्ञमा पनि आवश्यकता भन्दा बढी खर्च देखाई अधिकृत श्रीवास्तवले भ्रष्टाचारको तानाबाना बुन्दै आइरहेको ती स्रोतको कथन रहेको छ । सामाजिक हिसाबले धार्मिक कार्य गर्नु, गराउनु राम्रो कार्य भए पनि अनावश्यक खर्च देखाई भ्रष्टाचारको तानाबाना बुन्नु राम्रो नरहेको पोखरियावासीहरु बताउँछन् ।

भ्रष्टाचारको कमाइबाट लेखा प्रमुख महतोले क्रेटा गाडी खरिद गरी सोही गाडीमा पार्टनरहरू राखी घुम्दै घुमाउँदै मोजमस्ती गरिराखेका छन् भने अधिकृत श्रीवास्तवले सरकारी गाडीमा घुम्दै घुमाउँदै मौज मस्ती गरिराखेको एक जनप्रतिनिधिले नाम नछाप्ने शर्तमा बताए । अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोको अव्यवहारिक कार्यशैलीका कारण पोखरिया नगरपालिका हरेक हिसाबले बदनाम हुदै गए पनि मेयर प्रद्युमन चौहान, उपमेयर रुबी ठाकुर लगायतका जनप्रतिनिधिहरूले जनताप्रति जिम्मेवार नहुँदा पोखरियावासीहरु दाँतले औला टोक्न बाध्य भएका छन् । नेपाल स्वास्थ्य हेल्थ इन्सपेक्सन समुह ७ औं तहका अधिकृत श्रीवास्तवले शुक्ला गण्डकी नगरपालिका, तनहुँबाट काजमा पोखरिया नगरपालिकामा आउँदा २०७९/६/२४ गते हाजिर हुनु पर्नेमा उनी २०७९/१०/१४ गतेका दिन हाजिर भएका थिए ।

 नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१)को (छ) मा बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था भए पनि भ्रष्ट अधिकृत श्रीवास्तवले लगातार करिब ११० दिन अनुपस्थित रहेको सन्दर्भमा कारवाही गरी पाउँ भनी राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबार काठमाडौंमा उजुरी परेको छ । सो उजुरी सन्दर्भमा केन्द्रले जिल्ला प्रशासन कार्यालय पर्सालाई एक पत्र लेखी छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ । भ्रष्ट अधिकृत श्रीवास्तवले आफूलाई बच्नको निमित्त कार्यालयको हाजिरी रजिस्टरमा रातो कलमले घर बिदा लेखेको स्रोतले जनाएको छ । तर उनको घर बिदा कसले स्वीकृत गरेका हुन ? सो खुलाएका छैनन् । अधिकृत श्रीवास्तवले प्रशासनका अधिकारीहरूलाई रिझाउन भरमग्दुर प्रयासरत रहेको समाचार स्रोतको कथन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend