साझा नेटवर्क
कमल पौडेल ०७ चैत्र, गुल्मी । गुल्मीको मुसीकोट नगरपालिकाले अति अशक्त अपाङ्गता भएकाहरूको संरक्षणको लागि अघिल्लो महिना अर्थात फागुन महिनाबाटै मासिक भत्ता उपलब्ध गराउने भएको छ। बुधवार बसेको कार्यपालिकाको बैठकले कार्यविधि पारित गरेसँगै अति अशक्त अर्थात आफ्नो व्यक्तिगत सफाइ समेत गर्न नसक्ने वा संरक्षक नभइ नहुने अपांगता भएकाहरूको लागि मासिक १ हजार उपलब्ध गराउने भएको छ।
नगरसभाको हिउँदे अधिवेशनले सामाजिक सुरक्षा तथा समाजकल्याण सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०८० पारित गरेको थियो। सोही ऐन अनुरूप कार्यविधि निर्माण गरि भत्ता वितरण गर्ने निर्णय भएको हो। मुसीकोट नगरपालिका भित्र ९५ जना क वर्गका अपाङ्गता भएका व्यक्तिहरू छन् तर सबैले भत्ता पाउँदैनन् मेयर जिवन खरेलले भन्नुभयो “जसले भोजन, शौच वा व्यक्तिगत सफाइ समेतको लागि सुसारे नभै हुँदैन त्यस्ता व्यक्तिहरूको लागि भत्ता वितरण गर्न लागेका हौं।” यस अघि नेपाल सरकारले अति अशक्त अपाङ्गता भएकाहरूको लागि मासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ।
नगर कार्यपालिकाले पारित गरेको कार्यविधिमा अति अशक्त अपाङ्गता भएका व्यक्ति पहिचानको लागि लगत संकलन समिति र उच्च स्तरीय निरीक्षण समितिको समेत व्यवस्था गरेको छ। नगरका सामाजिक विकास समितिका संयोजकको संयोजकत्वमा लगत संकलन समिति रहने छ भने उच्च स्तरीय निरीक्षण समितिमा मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था गरिएको छ। सर्जमिन मुचुल्का तथा वडा अध्यक्षको सिफारिसमा मात्रै सो भत्ता वितरण गरिने पालिकाले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend