साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन ०८ ।
आर्थिक वर्ष ०७९÷८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा बडिगाड गाउँपालिका जिल्लामा छैठौं स्थानमा परेको छ । बागलुङ जिल्लालाई हेर्दा ८६.२५ अंक सहित गल्कोट नगरपालिका पहिलो स्थानमा परेको छ भने ८४.७५ अंक सहित बरेङ गाउँपालिका दोस्रो स्थानमा परेको छ ।
८३.७५ अंक सहित बागलुङ नगरपालिका तेस्रोमा स्थानमा रहँदा ८२ अंक सहित जैमिनि नगरपालिका चौथोमा परेको छ । ७४.७५ अंक सहित निसिखोला पाचौं रहँदा ७३.५ अंक सहित बडिगाड गाउँपालिका छैठौंमा परेको हो । ७२.५ अंक सहित ताराखोला गाउँपालिका सातौं, ६९.७५ अंक सहित तमानखोला गाउँपालिका आठौं, ६७.७५ अंक सहित काठेखोला गाउँपालिका नवौं र ६३.२५ अंक सहित ढोरपाटन नगरपालिका जिल्लामा सवैभन्दा तल दशौं स्थानमा परेको छ ।
आर्थिक वर्ष ०७८÷७९ मा पनि ८४.५ अंक सहित गल्कोट नगरपालिका पहिलोमा थियो भने बडिगाड गाउँपालिका ७०.५ अंक सहित छैठौंमा नै थियो। गतवर्ष ७७.७५ अंक सहित दोस्रोमा रहेको ताराखोला यसपालि भने सातौं स्थानमा झरेको हो। भने गत वर्ष ७५ अंक सहित पाँचौं नम्बरमा रहेको बरेङले आफूलाइ सुधार गर्दै यस वर्ष दोस्रोमा उक्लीन सफल भएको हो।
आर्थिक वर्ष ७७÷७८ मा ७९.५ अंक सहित जिल्लामै पहिलो स्थानमा रहेको बडिगाड गाउँपालिका त्यसपछिका २ वर्ष लगातार अंक बढाउन सकेको छैन। आव ७७÷७८ मा ७७ अंक सहित दोस्रो स्थानमा रहेको गल्कोट नगरपालिका आफ्नो अंक बढाउँदै लगातार २ वर्ष पहिलो स्थानमा रहेको छ। ढोरपाटन लगातार स्कोरको सवैभन्दा पुछारमा रहँदै आएको छ।
संस्थागत क्षमता स्वमूल्यांकन अन्तरगत शासकीय प्रवन्धमा ९ अंक, संगठन तथा प्रशासनमा ८ अंक, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ अंक, वित्तिय एवं आर्थिक व्यवस्थापनमा ११ अंक, सेवा प्रवाहमा १६ अंक, न्यायिक कार्यसम्पादनमा ७ अंक, भौतिक पूर्वाधारमा १३ अंक, सामाजिक समावेशीकरणमा १० अंक, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ९ अंक र सहकार्य र समन्वयमा ६ अंक गरि कुल १०० अंकमा स्वमुल्यांकन हुने गरेको हो।
शासकीय प्रवन्धमा ९४.४४ प्रतिशत अंक पाएको बडिगाड गाउँपालिका वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा कमजोर देखिएको छ। वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ३८.८९ प्रतिशत अंक प्राप्त गरेको छ। वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९०.९१ प्रीतशत अंक प्राप्त गर्दा भौतिक पूर्वाधारमा भने ४८.१५ प्रतिशत मात्रै अंक प्राप्त गरेको छ।
सहकार्य र समन्वयमा ८३.३३ अंक प्राप्त गर्दा सामाजिक समावेशीकरणमा ७० प्रतिशत अंक प्राप्त गरेको छ। न्यायिक कार्य सम्पादनमा ८५.७१ प्रतिशत अंक प्राप्त गरेको बडिगाड गाउँपालिकाले सेवा प्रवाहमा ८१.२५ प्रतिशत, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ७७.२७ प्रीतशत र संगठन तथा प्रशासनमा ७५ प्रतिशत अंक प्राप्त गरेको छ।
नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) र स्थानीय तहको बित्तिय सुशासन जोखिम मुल्यांकन प्रणाली (एफआरए) सार्वजनिक गर्दै आएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend