साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन ४।
वामीटक्सार गुल्मीको मुसीकोट नगरपालिकामा यही फागुन १६, १७ र १८ गते ९ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरूको लागि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। नगरका ३० खोप केन्द्रबाट १० स्वास्थ्यकर्मी ६० जना तालिमप्राप्त स्वयंसेवक र आवश्यक सहयोगी परिचालनमा खोप दिन लागिएको मुसीकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक पुस्कर गौतमले जानकारी दिनुभएको छ।
फागुन १० गते देखि १५ गते सम्म नियमित खोप रहेको र १६ देखि १८ गते सम्म दादुरा रुबेला विरुद्धको विशेष खोप अभियान सञ्चालन हुने तथा ११ जनाको विशेष टोलीले अनुगमन गर्ने गौतमले जानकारी दिनुभएको छ। यसैबीच खोप अभियानलाई प्रभावकारी बनाउन पालिका स्तरीय खोप समन्वय समितिको अभिभुखिकरण कार्यक्रम वामीटक्सारमा सम्पन्न भएको छ।
कार्यक्रममा मुसिकोट नगरपालिकाकाका नगरप्रमुख जिवलाल खरेल (जिवन)ले खोप अभियान सफल बनाउन आह्वान गर्दै बालबालिकालाई रोगलाग्न नदिन अनिवार्य खोप दिनुपर्ने भएकोले सम्बन्धित बालबालिकालाई खोप केन्द्रमा लैजान आग्रह गर्नुभएको छ। त्यस्तै नगर उपप्रमुख गंगा श्रेष्ठले खोप प्रतिको नकारात्मक धारणा चिर्दै सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनु भएको छ।
कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर जिसीले दादुरा रुबेला बढि सङ्क्रामक रोग भएकोले अभियानमा कोही छुट्न नहुने भन्दै खोप सुरक्षित र प्रभावकारी भएको जानकारी दिनुभयो। नेपालले सन् २०२६ सम्म पूर्ण खोपयुक्त देश बनाउने घोषणा गरिसकेको छ। तर वर्तमानमा करिव ४ प्रतिशत वालवालिका खोपको पहुँचमा नपुगेको तथ्यांक रहेको छ। दादुरा रुवेलाको संक्रमण अझै नरोकिएको भन्दै सरकारले ५१ जिल्लामा यस वर्षपनि दादुरा रुवेला विरुद्धको विशेष खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend