साझा नेटवर्क
साझा नेटवर्क, कतार माघ २८ ।
गुल्मी सेवा समाज कतारले २०औ वार्षिकोत्सव आन्तरिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ । समाजले विभिन्न उदेश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको बनभोज कार्यक्रम यसवर्ष शुक्रबार सम्पन्न गरेको हो ।
समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पान्डेयको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक मित्र बिएसले स्वागत मन्तव्य राखेका थिए ।
विधिवत रुपमा उद्घाटन सहित अघि बढेको कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गत रहेका जिल्ला सस्थांका अध्यक्ष तथा प्रतिनिधि साथै कतारमा रहेका गुल्मेली तथा गैरगुल्मेलीहरुको उपस्थिति सहित मन्तव्य रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले गुल्मी सेवा समाज कतारले स्थापनाकाल देखी नै कतार तथा गृह जिल्लामा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको बताउदै खुलेर प्रशंसा गरेका थिए । समाजले बिगत लामो समयदेखि छात्रवृत्ति अभियान चलाएर गुल्मीका बालबालिकाहरुलाई शिक्षामा निकै ठुलो टेवा पुर्याएको वक्ताहरुको भनाई रहेको थियो ।
प्रमुख अतिथी पान्डेयले आफनो शुभकामना मन्तव्य बोल्दै प्रवासमा मात्र नभएर गृह जिल्लामा समेत परि आउने विभिन्न समस्यामा समाज सारथी बनेर उभिएको बताए । गुल्मीका बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित हुने वातावरण सिर्जना नहोस भन्ने उद्धेश्यले समाजले बिगत लामो समयदेखि छात्रवृत्ति अभियान चलाउदै आएको र थप निरन्तरता दिन समाजले चलाएका अभियानहरुमा सबैलाई जोडिन आग्रह समेत गरे ।
समाजका सह-सचिव कुमार राहादी मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति अर्यालले समाजले नितान्त सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्दै कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटनुहुने र कार्यक्रममा उपस्थित गुल्मेली तथा गैरगुल्मेली सबैलाई धन्यवाद प्रकट गरे ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता,निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मुल नाराका साथ सन २००३ मा स्थापना भएको समाजले कतार तथा गृह जिल्ला गुल्मीमा विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका खेल्दै आईरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend