साझा नेटवर्क
कतार, माघ २० ।
नेपाल पत्रकार महासंघ कतार शाखाको आठौं अधिवेशन सम्पन्न भएको छ । नेपाली दूतावास कतारको सभाहलमा आयोजित आठौं अधिवेशनबाट अध्यक्षमा दिल कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन ।
कार्यसमितिको उपाध्यक्ष अर्जुन पौडेल, सचीव दिलिप पराजुली, सहसचिव सारदा भुजेल, कोषाध्यक्षमा लिलामणि पन्थी रहेका छ्न । त्यस्तै सदस्यहरुमा उद्दव बहादुर मगर, टेकराज थापा, सन्तोष कुवर, साबित्री सर्मा निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ सभापति रहेका थिए । विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष दिल श्रेष्ठले स्वागत मन्तव्य मार्फत उपस्थित सबैलाई स्वागत गरेका थिए ।
महासंघका केन्द्रिय अध्यक्ष तथा प्रमुख अतिथि बिपुल पोख्रेलले आफ्नो भनाइ राख्दै शाखाको निमन्त्रणामा पुनः कतार आउन पाएकोमा खुशी व्यक्त गर्दै भने, “शाखाको अन्त्यतै ठूलो पर्व मानिने अधिवेशनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न पाउनु र कतारमा सकृय संचारकर्मी एवं सामाजिक अभियन्ता तथा नेपाली समुदायसंग सात्क्षात्कार हुने अवसर दिएकोमा शाखा परिवारलाई हार्दिक आभार व्यक्त गरे ।
पोख्रेलले विदेशमा बसेर नेपाली पत्रकारितामा गरेको योगदानको प्रशंसा गरेका थिए । उनले पत्रकारीताका न्यूनतम दायरा पुरा गरेर लेख्ने कार्यलाई गति दिनपर्ने आवश्यकता औल्याए । मुलुक समृद्धि बनाउन पत्रकारको भुमिका धेरै रहेको भन्दै पोख्रेलले कतारमा बसेर सिकेको ज्ञान, पुजि, सीपलाई नेपालमा गएर लागू गर्न आग्रह गरे ।
यहाँ रहेका नेपालीलाई एकृकित गर्दै पत्रकार महासँघ कतार शाखाले देश निर्माणमा भुमिका खेल्नुपर्ने पनि पोख्रेलले बताए । अधिवेशनमा महासंघका केन्द्रीय सदस्यद्वय प्रदीप काफ्ले र ज्ञान प्रसाद पौडेल, नेपाली दूतावास कतारका नियोग उपप्रमुख कुमार राई, एनआरएनए आइसिसी, एनसिसी कतार, वैचारिक सङ्गठनका विभिन्न व्यक्तित्वहरूको विशेष आतिथ्यता सहित शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको समापन गर्दै महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाले आफनो ६ वर्षको कार्यकालमा कतारमा विभिन्न माध्यमबाट दुख र पिडामा परेका करिब ३७ जना नेपाली दाजुभाइलाई सुरिक्षित नेपाल पठाउन सकिएको र १३६ भन्दा बढी नेपालीलाई विभिन्न चरणमा सहयोग गरेको बताए ।
मियाले आफ्नो कार्यकालमा विभिन्न माध्यमबाट सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै नेपाली दूतावासले हल उपलब्ध गराएर अधिवेशन गर्न सहज भएको बताउँदै धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सहजीरण संघका सचिव अर्जुन पौडेलले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend