साझा नेटवर्क
कमल पौडेल,२८ पुस, बडिगाड, बागलुङ । बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०८०-८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम जलजलामा सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा सर्वसिद्धि मिडिया प्रालिको सहजिकरणमा सञ्चालित सार्वजनिक सुनुवाइमा सेवाग्राहीले विद्युत, खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, फोहर व्यवस्थापन, प्रभावकारी अनुगमन, सेवा प्रवाहका सन्दर्भमा प्रश्नहरू उठाएका छन्। प्रश्नहरूको जवाफ दिँदै बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले फोहर व्यवस्थापनको लागि जग्गाको टुंगो लागेको तर काम गर्ने युवा नभेटेको बताउनु भएको छ। बडिगाड गाउँपालिकाले पूर्ण रुपमा सहयोग गर्ने तथा स्वरोजगार बन्न चाहने जनशक्ति खोजिरहेको भन्दै अध्यक्ष अधिकारीले कोही भए सम्पर्कमा आउन आह्वान समेत गर्नुभएको छ।

सवालको जवाफकै क्रममा अध्यक्ष अधिकारीले विद्युत हाइटेन्सन लाइन परिवर्तन गर्न पालिकाको तर्फवाट पहल गरेको तर पुरानो सर्वे सार्दा झन् ठूलो समस्या हुने देखिएकोले यथावत ठाउँमै हुने जानकारी आफूले पाएको, चालु वर्षमै केन्द्रिय विद्युत प्रसारण लाइन सवै वडामा पुर्याउने गरि काम भैरहेको भन्दै सडक पूर्वाधार र खानेपानीको काम निरन्तर भैरहेकोले छिट्टै सुधार हुने विश्वास व्यक्त गर्नुभएको छ। पर्यटन प्रवर्द्धनमा प्रभावकारी काम गर्न नसकेको स्वीकार गर्दै अध्यक्ष अधिकारीले पहिले पनि ठूलो लगानी भैसकेको चमेरे गुफा र थानपति मन्दिरलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा काम गर्ने, जलजलाको बौद्ध गुम्बा लगायत धार्मिक पर्यटनको प्रवर्द्धन, स्वास्थ्य तथा शिक्षा क्षेत्रको थप प्रभावकारिताको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै रणसिंह किटेनीको ढुंगाखानी समेत खोल्ने योजना सुनाउनुभयो।
कार्यक्रममा जवाफदेही वक्ताको रूपमै बोल्दै गाउँपालिकाका उपाध्यक्ष भिमसेन बनले कानुन विपरितका कुनैपनि काम नियमन हुनुपर्ने बताउँदै राज्य सोहि अनुरुप लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। बडिगाड गाउँपालिका भित्र १४ वटा लघुजलविद्युत आयोजनाको दीर्घकालीन उपयोगको लागि विद्युत प्राधिकरण संगै मिलेर काम गर्न लागेको भन्दै केही आयोजनामा वीनरक, काठमाडौं विश्व विद्यालय सँगको समन्वयमा थप दीर्घकालीन प्रयोगको परीक्षण गर्न लागेको जानकारी दिनुभएको छ।
त्यस्तै सवालको जवाफ दिँदै बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले सामुदायीक विद्यालय सुधारमा काम गरिरहेको भन्दै सुसासनमा नचुक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रममै वडा नं. ४ का अध्यक्ष मिलन रेश्मीले वडामा बजेट निकै कम हुने तर जनताको आकांक्षा बढिभएकोले समस्या समाधानमा प्रयत्नले पूर्णता नपाएको बताउनु भएको छ। वडाध्यक्ष रेश्मीले सवैमिलेर सामाजिक विकृति रोक्न लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रममा झविन्द्र बुढाथोकी, प्रेम गलामी, तिलक छन्त्याल, कमल प्रसाद खरेल, छविलाल छन्त्याल, समशेर श्रीस, भिम बहादुर विक, पुनम श्रीस, दिपक कुमार श्रीस, जगिराम काउचा, भिम बहादुर श्रीस, ढालेन्द्र रायमाझि, लिल बहादुर श्रीस, प्रेम सागर पुन लगाएतले सवाल उठाउनुभएको थियो। कार्यक्रममा पत्रकार कमल पौडेलले टिप्पणी गर्दै जनताले सरकारको अनुभूति गर्नुुपर्ने, जनप्रतिनिधि कुनै बाहानामा उम्किन नहुने भन्दै समाजलाई अराजकताबाट रोक्न राज्यको प्रभावकारीता अनिवार्य भएको बताउनु भएको थियो। कार्यक्रममा सर्वसिद्धी मिडिया प्रालिका समाचार प्रमुख राम प्रसाद घिमिरेले आचारसंहिताको जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजिकरण रेडियो परिवर्तनका स्टेसन प्रमुख विनोद रसायलीले गर्नुभएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend