साझा नेटवर्क
रंजित चौरसिया,वीरगंज २८ पौष । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवको काला कर्तुतहरुको बारेमा विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भए पछि उनी अतालिएर २३ गते सोमबारका दिन केही सीमित पत्रकारहरूलाई कार्यालयमै बोलाएर पत्रकार सम्मेलनको आयोजना गरी आफू भ्रष्टाचार नगरेको दाबी गरेका थिए । भ्रष्ट अधिकृत श्रीवास्तवको काला कर्तुतहरु बाहिर छताछुल्ल भए पछि उनी पर्सा र बाराका केही पत्रकारहरूलाई नगद र पेट्रोल गरेर करिब ५ लाख खर्चेको स्रोतले जनाएको छ । ७ लिटरका दरले दर्जनौं पत्रकारहरूलाई पेट्रोलको कुपन र घटीमा १० हजार र बढीमा २५ हजारसम्म नगदै रुपैयाँ दिई अधिकृत श्रीवास्तवले आफ्नो पक्षमा समाचार लेख्न अनुनयविनय गर्दै आएको ती स्रोतको भनाई रहेको छ । समाचार बाहिरिएपछि सच्चिएर कार्य गर्नुपर्ने ठाउँमा अधिकृत श्रीवास्तवले पोखरिया नगरपालिकालाई आफ्नो पुर्ख्यौली सम्पत्ति बनाई पत्रकारहरुमा मात्र लाखौं लाख खर्चेको कुरा मेयर प्रद्युम्न प्रसाद चौहान, उपमेयर रुबी ठाकुर लगायत वडाध्यक्षलाई थाहै नदिई गोप्य रूपले सो रकम खर्चेको स्रोतको कथन रहेको छ ।
पोखरिया नगरपालिकालाई घिनाउने कार्यमा तल्लिन देखिएका अधिकृत श्रीवास्तवको कार्यशैली देखि जनप्रतिनिधि तथा कर्मचारीहरू सन्तुष्ट नरहेको स्रोतले जनाएको छ । जिन्सीका सामानहरू खरिद नगरी जिन्सी प्रमुख मनोज साहको मिलोमतोमा लाखौं लाखको भुक्तानी गरेका अधिकृत श्रीवास्तव कुनै पनि कार्यको कार्यदिशा दिनुअघि नै कमिसन असुल्ने गर्ने गरेको भुक्तभोगीहरू बताउँछन् । कतिपयले काम सम्पन्न भएपछि पर्सनल कमिशन (पिसी) दिन्छु भनि आग्रह गर्दा समेत अधिकृत श्रीवास्तवले कमसेकम २० हजार दिनै पर्छ अरु पछि हिसाब गरौंला भनेर २० हजार नलिईकन कार्यदिशा दिने नगरेको ती भुक्तभोगीहरू भनाई रहेको छ ।
“एनि हाउ पैसा कमाउ” अभियानमा लागेका अधिकृत श्रीवास्तव हेल्थ ईन्सपेक्सन ७ औं तहको कर्मचारी भए पनि सो तहको दरबन्दी पोखरिया नगरपालिकामा नरहेपनि उनी स्वास्थ्य मन्त्रालयको अधिकारीहरूलाई प्रभावमा पारी काजमा खटिदै आएको बताइन्छ । उनको दरबन्दी तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिकामा रहेको स्रोतले जनाएको छ । कार्यालयको कर्मचारी देखि लिएर भुजापकौडीको नास्ता पसलसम्म कमिशन असुल्नमा माहिर मानिएका अधिकृत श्रीवास्तव २०८० असोज १८ गते देखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालदै कार्यालयको हरेक भुक्तानीमा कमिशनको मामिलामा आतंक नै मच्चाएको कर्मचारी स्रोतको भनाई रहेको छ ।
रक्सीलाई दुध सम्झेर खाने बानी बसाएका अधिकृत श्रीवास्तव कार्यालयबाट निस्कनासाथ ड्राईपोर्ट, चण्डालचौक वा बाइपासको एकदुई वटा होटलमा जिन्सी प्रमुख मनोज साह सँग समन्वय गरी दैनिक चेस गर्दै आनन्दका जीवनयापन गर्नमा मस्त रहने गरेको बताइन्छ । अधिकृत श्रीवास्तव असोज १८ गते प्रमुखको जिम्मेवारी लिनु भन्दा करिब ४ महिना अगाडि प्रमुख बन्नको लागि करिब २० लाख सम्म खर्च गर्दा समेत तत्कालीन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उनलाई नबनाई प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटालाई पठाएको स्रोतले जनाएको छ । तत्कालीन अधिकृत सापकोटा भदौ ५ गते सरुवा भई गइसकेपछि अधिकृत श्रीवास्तव पुनः प्रमुख बन्नको लागि काठमाडौंमा दौडधुप गरी मन्त्री अनिता साहलाई रिझाई बढीमा २ महिनाको लागि निमित्तको जिम्मेवारी पाएका थिए । अधिकृत श्रीवास्तवको २ महिना बितेपछि पुनः उनले २ महिनाको लागि करिब ५ लाख रुपैयाँ खर्चेर निमित्तको जिम्मेवारी लिन सफल भएको स्रोतले जनाएको छ । भ्रष्टाचार नगर्ने अधिकृत श्रीवास्तव प्रमुख बन्नको निमित्त पटकपटक खर्चेको रकम कहाँबाट र कसरी निकाल्ने हुन ? पोखरिया नगरवासीको लागि चासोको विषय बनेको छ । बाराको पचरौता नगरपालिका निवासी अधिकृत श्रीवास्तवले शुक्लागण्डकी नगरपालिकामा कार्यरत रहँदा करोडौं करोड भ्रष्टाचार गरी पोखरामा आलिशान महल ठड्याएका छन् भने वीरगंजको मुर्लीमा आलिशान महल रहेको स्रोतको भनाई रहेको छ ।
भ्रष्टाचार सन्दर्भमा सूक्ष्म अनुभव बटुलेका अधिकृत श्रीवास्तव मेयर प्रद्युमन चौहान, उपमेयर रुबी ठाकुर लगायतका जनप्रतिनिधिहरूलाई गुमराहमा राखी नगरपालिकालाई बदनाम गराउँदै आफ्नो दुनो सोझयाउने कार्यमा लागिपरेकोले समयमै सचेत नहुँदा आगामी दिनमा पोखरिया नगरपालिका अझै बदनाम हुदै जाने इमानदार कर्मचारीहरूको भनाई रहेको छ । करोडौं करोड दमपच गरी पोखरा र वीरगंजमा आलिसान महल ठड्याउन सफल भएका अधिकृत श्रीवास्तव माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा सचेत नागरिकहरू आश्चर्यमा रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend