साझा नेटवर्क
रंजित चौरसिया,वीरगंज पुष ११ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्सालाई खरानी बनाई सकेका अध्यक्ष बालगोपाल थापालाई हालसालै आएको पार्टी सर्कुलरले थापालाई घटुवा गरेको छ । गत भदौ महिनामा आएको पार्टी सर्कुलरमा बालगोपाल थापा केन्द्रिय कमिटी सदस्य, जिल्ला सह–ईन्चार्ज, अध्यक्ष तथा पर्सा क्षेत्र नं. १ को ईन्चार्जको रुपमा जिम्मेवारी पाएका थिए भने हालसालै आएको नयाँ सर्कुलरमा थापालाई सह–ईन्चार्ज र ईन्चार्जबाट हटाएर केन्द्रिय कमिटी सदस्य एवं जिल्ला अध्यक्षको मात्र जिम्मेवारी दिएको छ ।
तर उनले पाएको जिम्मेवारीमा औलाले गिनेर रहेका पर्साका कार्यकर्ताहरु अझ पनि असन्तुष्ट देखिएका छन् । थापाले पर्सा एकीकृत समाजवादीको नेतृत्व सम्हाले देखि पार्टी जिल्ला कमिटीको बैठक तीन पटक मात्र बसाएको र सचिवालयको बैठक नबसेको करिब १० महिना भईसक्दा पनि उनी पार्टीलाई अनिर्णयको बन्दी बनाउदै मौजमस्ती गरिराखेका छन् । बैठक नामको मात्र बसाउने र केन्द्रिय सर्कुलरहरु पटक–पटक आए पनि सो सम्बन्धमा बैठकमा एजेण्डा नै नराखी सो सर्कुलरहरुको ठाडो उलंघन गर्दै पार्टीलाई हालसम्म अनिर्णयको बन्दी बनाउदां समेत केन्द्रिय नेतृत्वले पर्सा नेतृत्वमाथि ध्यान नदिंदा पार्टी कार्यकर्ताहरु आश्चर्यमा रहेका छन् ।
पर्सा जिल्लाको १४ वटा स्थानिय तह र १८२ वटा वडामध्ये एक दुई वटा स्थानिय तह र दुई चार वटा वडा कमिटी नामको मात्र गठन बाहेक कहिं कतै थापाले कमिटी गठन गर्न सकेका छैनन्, तर थापाले केन्द्रिय कमिटीमा चारै तिर कमिटी गठन भएको र जनवर्गीय संगठनहरु चुस्तदुरुस्त रहेको भन्दै कागजी रिपोर्ट मात्र पठाएर एकीकृत समाजवादीलाई धोखा दिईरहेपनि पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरीको थापालाई भरपुर सहयोग रहेको कार्यकर्ताहरुको भनाई रहेको छ ।
पर्सा पार्टीलाई जिरो बनाएर आफु हिरो बन्न खोजेका थापाले अध्यक्षको दम्भ देखाउदै आफ्नो सम्बन्ध स्थापित मात्र गर्दै केन्द्रिय नेतृत्वको आँखामा धुलो झोक्दै गठबन्धनको सरकारको नाममा आतंक मच्चाउन पछि परेका छैनन् । पार्टीको लेटरपैड भजाउने र आफ्नो दुनो सोझ्याउनमा माहिर मानिएका थापा सँग पर्सामा गिनेचुनेर बँचेका कार्यकर्ताहरु टाढिदै गएका छन् । हालको परिस्थितिमा थापाले बैठक बसाउन प्रयास गरे पनि उनको नेतृत्वमा बैठक बस्ने स्थिति नरहेको जिल्लाको जिम्मेवार कार्यकर्ताहरुको भनाई रहेको छ ।
थापा कम्युनिष्ट बिचारको भएपनि उनमा कम्युनिष्टको आचरण नरहेको, कुशल संगठक नरहेको, तत्कालिन राजा ज्ञानेन्द्र विरुद्ध र अन्य आन्दोलन पटक–पटक हुँदा कुनै पनि आन्दोलनमा पर्सामा उनको उपस्थिति रहेन । उनी आन्दोलनताका कहिले काठमाडौं, त कहिले भारतको दिल्लीमा विभिन्न बहाना बनाएर लुकेर बसेका थापाले पार्टीको लोगोलाई भजाउदै आफ्नो सम्बन्ध स्थापित मात्र गर्दै आएको पर्साका पार्टी कार्यकर्ताहरुको भनाई रहेको छ ।
एकीकृत समाजवादी बन्दा पर्सामा पार्टी प्रति आकर्षित कार्यकर्ताहरु भए पनि थापाकै असंक्षमता र बानी व्यवहोराका कारण कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी बस्ने समाजवादीबाट बनेका वडाध्यक्षका उम्मेदवार डा. दिलिप कुशवाहा, वीरगंज महानगरपालिका वडा नं. १ का वडाध्यक्षका उम्मेदवार बिरेन्द्र कण्ठ, वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार सत्यनारायण मण्डल, वडा नं. २१ का वडाध्यक्षका उम्मेदवार जलन्धर पटेल, वडा नं. १२ र १४ लगायतका दर्जनौ उम्मेदवारहरु र जिल्ला बन कार्यालयको आपूर्ती समिति सदस्यमा रहेकी धर्मशिला यादव पनि पार्टी छोडिसकेका छन् ।
थापाकै असंक्षमताका कारण स्थानिय तहमा पर्सामा एउटा पनि वडा सदस्य जित्न सकेन । वीरगंज–११ बाट वडाध्यक्षका उम्मेदवार बनेका सत्यनारायण मण्डल र अध्यक्ष थापाको घर एउटै वडामा पर्छ । अध्यक्ष थापाले आफ्ना वडाका उम्मेदवार मण्डललाई पार्टीबाट पलायन गराईसके पछि थापाको वडामा थापा सँग नै हात मिलाउने कार्यकर्ता नरहेको सर्वविदितै छ । यतिमात्र कहाँ हो र ? संघिय र प्रदेश निर्वाचनमा सारा काम छोडेर कमाण्डरलाई चुनावमा होमिनु पर्ने ठाउँमा थापा विदेश पोर्चुगल (डेनमार्क) भ्रमणमा बुहारी बिरामी छ भन्दै हेर्न गए ।
संघिय चुनावमा पार्टी केन्द्रिय नेतृत्वले सुरुमा एक लाख र पछि एक लाख गरी दुई पटक पर्सा पार्टीको खातामा रकम पठायो । सो खाताको मोबाईल एसएमएसमा थापाकै नम्बर रहेको छ । तर सुरुको एक लाख आएको सन्दर्भमा पर्सा पार्टीलाई जानकारी दिए पनि दोस्रो पटकको रकमको बारेमा चुनाव बितेको करिब एक महिना पछि जानकारी गराए । सो कुराको पार्टीका अन्य नेता कार्यकर्ताहरु खोजबिन गर्दा थापाले आफुलाई रकम आएको बेला थाहा नभएको प्रतिक्रिया दिएका थिए । जबकि मोबाईल एसएमएसमा उनकै नम्बर रहेको छ ।
पर्सा पार्टीलाई बलियो र मजबुत बनाउनुको सट्टा तहसनहस बनाईसकेका अध्यक्ष थापाको विकल्प यथाशिघ्र केन्द्रिय नेतृत्वले खोजेन भने बाकी रहेका कार्यकर्ताहरु पलायन हुन बेर छैन् । लाजशर्म पचाएर अध्यक्ष पदमा बसेका थापाले जेसुकै गरे, नगरे पनि अन्य नेता कार्यकर्ताहरुको असन्तुष्टि रहे पनि केन्द्रिय सचिव नागेन्द्र चौधरीको सहयोगले थापाले अध्यक्ष पद जोगाउदै, पार्टीको लोगोलाई भजाउदै पर्सा पार्टीलाई जिरोमा झारिसके पनि केन्द्रिय नेतृत्वको बेलैमा आँखा नखुल्दां पार्टीप्रति बफादार पर्साका कार्यकर्ताहरु निराश देखिएका छन् ।
(लेखकः समाजवादी प्रेस संगठन नेपाल पर्साका कार्य समिति सदस्य हुन ।)
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend