साझा नेटवर्क
बारा ३० मंसिर। बाराको जितपुर सिमरामा आज ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना, जितपुर सिमरा उपमहानगरपालिकाको सहकार्य एवं जिल्ला प्रशासन कार्यालय कलैया बाराको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष गोविन्द चौलागाईको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले क्षणिक स्वार्थका लागि नियम विपरितका काम गर्दा भ्रष्टाचार बढेको बताए । अत्यन्तै बढी विवादित हुने बिषय सार्वजनिक खरिदको बिषयमा सचेत हुनुपर्ने उनले बताए । ‘बाराका कतिपय जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह नगर्दा जिल्लाको अधिकांस पालिकामा बेथिति बढेको छ । सिम्रौनगढ, पचरौता, आदर्शकोतवाल पालिकामा अझै बजेट पारित हुन सकेको छैन्’ प्रजिअ सापकोटाले भने । जितपुरसिमरा उपमहानगरपालिकाले आफ्ना कर्मचारीहरुलाई सुशासन र सेवा प्रवाहको बारेमा आयोजित प्रशिक्षण कार्यक्रम गर्दा प्रभावकारी भएको बताउँदै प्रजिअ सापकोटाले धन्यावाद व्यक्त गर्दै यस्ता प्रकारका छलफल, प्रशिक्षणमुलक कार्यक्रम अन्य पालिकाले समेत गर्न आवश्यक रहेको बताए । कार्यक्रममा सार्वजनिक खरिद कार्यालयका पूर्वसचिव डा.दामोदर रेग्मीले कार्यपत्र प्रस्तुत गरे छन् ।
कार्यपत्र प्रस्तुत गर्दै उनले सबैभन्दा नजिक र घरदैलोको सरकार भनेको पालिका सरकार नै भएकाले सुशासन र सेवा प्रवाह बढदै गएपछि सर्वसधारणले सन्तुष्टि प्राप्त गर्ने बताए । प्रभावकारी सेवा प्रवाह भए सुशासन कायम हुने बताउँदै उनले जनप्रतिनिधि होस वा कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्नुपर्ने बताए । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझा शासन र स्वशासनको बारेमा प्रकाश पार्दै उनले सरकारले राम्रो काम गरे जनताले रुचाउँने र जनता सन्तुष्टि भएको सरकार रहने भएकाले त्यही निर सुशासन कायम हुने उनले बताए । राजस्वको तीन तहका सरकारका बीचमा हुने बाँडफाँड, सार्वजनिक खरिद, बजेटको कार्यान्वयन लगायतका विषयमा डा.रेग्मीले आफ्नो धारणा राख्दै नियम कानूनको भित्र रहेर जनताको काम प्रभावकारी गरे सुशासन कायम हुने बताए । नायब महालेखा परीक्षक मधेस प्रदेश कार्यालयका प्रमुख श्याम भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै महालेखा परिक्षणको कार्यलाई प्रभावकारी बनाउँन दक्ष जनशक्तिको आवश्यकता भएको बताए । आचार संहितको पालना गर्दै लेखा परीक्षणको काम गर्दा कानूनी रुपमा पद्धति र विधि पुर्याएर गर्नुपर्ने उनले बताए । प्रदेश र स्थानीय तहको लेखा परिक्षणका काम गर्दा सबै प्रक्रिया एवं विधिलाई ध्यान दिदै अगाडि बढ्दा प्रभावकारी काम हुने उनले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले आव २०८०/०८१मा बाराबाट ३७० वटा उजुरी अख्तियारमा परेको बताए । भ्रष्टाचार, अनियमितता लगायतका विषयमा ति उजुरीहरू परेको उनले बताए । कार्यक्रममा आचार्यले सामाजिक उत्तरदायित्वका औजारहरुको प्रयोगका रुपमा सार्वजनिक सुनुवाई, जनसहभागिता, निष्पक्षतामा ध्यान दिदै अगाडि बढे भ्रष्टाचारलाई न्यनिकरण गर्न सकिने बताए । जितपुरसिमरामा आयोजित यस्तो प्रशिक्षणमूलक कार्यक्रमले सेवा प्रवाहका कार्यक्रम प्रभावकारी भएको बताउँदै प्रमुख आचार्यले मधेसका हरेक जिल्ला र पालिकामा यस्तो कार्यक्रम गर्दै जानुपर्ने र यसले सेवाग्राहीलाई सुशासनको प्रत्याभूति गराउँने विश्वास व्यक्त गरे ।
जीतपुर सिमरा उपमानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजीप्रसाद साहले पहिलो पाँचबर्षे कार्यकालमा ऐन, कानूनको अभावमा काम गर्न असजिलो भएको बताउँदै कानून निर्माण सम्पन्न भएसंगै संघीय कानूनको सहयोगमा सेवा प्रवाह प्रभावकारी बन्दै गएको बताए । सार्वजनिक खरिदमा समस्या देखिरहेको बताउँदै उनले जितपुर सिमरा उपमहानगरपालिकामा आव ०७८÷७९मा ४३ करोड ५३ लाख ९३ हजार बेरुजु रहेको बताए । गाउँघरको सरकार पालिका सरकार भएको बताउँदै उनले सेवा प्रवाहमा संघीय र प्रदेश सरकारभन्दा पालिका सरकार महत्वपूर्ण भएको बताए । सोही अनुसार पालिका सरकारबाट उपलब्ध गराउँनुपर्ने सेवाहरु आफूहरुले उपलब्ध गराईरहेको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभास साहले सार्वजनिक सेवालाई प्रभावकारी बनाउँदै अगाडि बढे सुशासन कायम गर्न सकिने बताए । जनताको काम जनप्रतिनिधि र कर्मचारीले तोकिएकै समयमा नगर्दा समस्या उठिरहेको बताउँदै उनले जनप्रतिनिधि र कर्मचारीको मनोमानीका कारण अहिलेको व्यवस्था माथि नै प्रश्न उठेको बताए । जनप्रतिनिधि र कर्मचारीले ढिलासुस्ती गर्दा सेवाग्राहीले समयमै सेवा पाउन नसकेको साहले बताए । आयोजक संस्थाका अध्यक्ष चौलागाईले सुशासन र सेवा प्रवाहको बारेमा जितपुर सिमरामा आयोजित कार्यक्रम सुरुवात भएको बताउँदै मधेस प्रदेशका सबै जिल्लामा यस्तो कार्यक्रम आयोजना गरिने बताए । पश्चिम मधेसबाट सुरु भएको कार्यक्रम पूर्वमधेसको सिरहा, सप्तरी लगायतका जिल्लामा समस्याहरूको पहिचान गर्दै आएका सुझावहरूलाई समेटेर काठमाडौंमा सरोकारवालाहरुको सहभागितामा समाधानका उपायका बारेमा बृहत छलफल कार्यक्रम आयोजना गरिने चौलागाइँले बताए । कार्यक्रममा बिभिन्न कार्यालयका कार्यालय प्रमुख, कर्मचारी, जीतपुरसिमरा उपमहानगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, सञ्चारकर्मी लगायतको विशेष सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले पालिकाबाट प्रवाह हुने सेवा, नागरिकता सिफारिस, घटना दर्ता, विकासका काम प्रभावकारी बन्न नसकेकोमा प्रश्न उठाउँदै सरोकारवालासँग जवाफ मागेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend