साझा नेटवर्क
कमल पौडेल २७ कार्तिक । बडिगाड, बागलुङ गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापाले देशमै सम्भावना रहेको र त्यसको पहिचान गरि उपयोग गर्न युवाहरू उत्साहित हुनुपर्ने बताउनु भएको छ। रिभरहिल युवा क्लब बडिगाड गाउँपालिका २, खर्वाङ बागलुङको १६ औं वार्षिकोत्सव तथा दिपावली मेला २०८० को समापन गर्दै उपसभामुख थापाले युवाहरूलाई देशमा केही छैन भन्ने हल्लामा नलाग्न आग्रह गर्दै युवा प्रति देशको अपेक्षा रहेको भन्दै आफ्नै देशमा काम गर्न आह्वान गर्नुभएको छ।
युवाहरूलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको भन्दै आफ्नै माटोको खातिर जुट्नुपर्ने बेला आएको औंल्याउनु भएको छ। यसैबीच मेलाको अवसरमा आयोजित खुला भलिबल प्रतियोगितामा आयोजक रिभर हिल युवा क्लव विजेता बनेको छ। विजेताले ५० हजार १ रुपैयाँ पुरस्कार जितेको छ। उपविजेता बनेको गल्कोट नगरपालिकाले ३० हजार १ रुपैयाँमा चित्त बुझाएको छ।
कार्यक्रमकै अवसरमा भएको ब्याडमिन्टन प्रतियोगितामा बुर्तिवाङका राजेन्द्र पौवि र मिथुन पौवि प्रथम तथा भुवाचिदिका टंक थापा र भिम पचभैया द्वितीय हुनुभएको छ। त्यस्तै खुल्ला रेकर्ड नृत्य प्रतियोगितामा द रिदम स्वायर डान्स ग्रुप हटिया प्रथम, विट वेट जलजला द्वितीया, बडिगाड डोजो तृतीय तथा युनिक एकेडेमी ले सान्त्वना स्थान प्राप्त गरेका छन्। कार्यक्रममा कलाकारहरू जुना श्रीस, राजेन्द्र घर्तिको प्रस्तुती रहेको थियो। कार्यक्रम रिभरहिल युवा क्लबका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता, कोषाध्यक्ष इन्द्र पुनको स्वागत मन्तव्य तथा सचिव अनिष पाठकको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend