साझा नेटवर्क
दाङ, १६ कार्तिक । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । दाङको घाेराही उपमहानगरपालिका ११ जगतपुरस्थित सहिद परिवारसँगको भेटघाटमा उहाँले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन सबै दलहरूबीच सहकार्य हुने धारणा राख्नुभयो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसकाे नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने सम्भावना बढेको औँल्याउँदै मन्त्री शर्माले महासचिव गुटेरेसले संघीय संसद्मा राखेको धारणा मुलुकका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।
सरकारले सत्य निरुपण तथा मेल मिलाप आयोग मार्फत शान्ति प्रकृयाका बाँकी काम टुङ्गोमा पुर्याउने तयारी भईरहेकाे बताउँदै शान्ति प्रकृयाको कामलाई पूर्णता दिन सम्पूर्ण दलहरू एकमत हुनेमा आफू विश्वस्त रहेकाे उहाँले उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रकृयाका बाकी कामलाई नजिकबाट हेरिरहेकाे धारणा राख्दै मन्त्री शर्माले याे विषयलाई छिटोभन्दा छिटो हलगरी नेपाललाई स्थायी शान्ति दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका शर्माले सरकारले पहिलो पटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिद प्रतिकाे सच्चा सम्मान भएको धारणा राख्नुभयो । राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरुकाे नाम थप्ने विषयमा सरकारले काम गरिरहेकाे जानकारी दिदै उहाँले सबै दलको सहमतिमा द्वन्द्वपिडितलाई न्याय दिने बताउनुभयो । भेटमा सहिद परिवारले गाउँको बाटा घाटा र खानेपानीका समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए । उनीहरूले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्तिहरू एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend