साझा नेटवर्क
रंजित चौरसिया,वीरगंज १२ कात्तिक ।
भ्रष्टाचारको मामिलामा गन्हाइसकेका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव कोल्हवी नगरपालिका बाराको कार्यभार सम्हाल्दा नगरवासी आश्चर्य चकित भएका छन् । भ्रष्टाचारको मामिलामा सूक्ष्म अनुभव बटुलेका अधिकृत यादवले तत्कालीन जिल्ला विकास समिति बारामा कार्यरत छदाँ भ्रष्टाचार सन्दर्भमा उनी माथि कारवाही हुँदा निलम्बनमा परेका थिए । पछि पावर र पैसाको दम्भले निलम्बन फुकुवा गराउँदै विभिन्न कार्यालयमा कार्यरत रहँदै पछिल्लो समयमा पर्साको पर्सागढी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निभाएका थिए । उनी पर्सागढीमा कार्यरत रहँदा विभिन्न शीर्षकमा विभिन्न व्यक्ति र फर्महरूको नाममा करोडौं करोड बेरुजु देखिएको छ ।
भ्रष्ट अधिकृत यादवले पर्सागढी लुट मच्चाइ राख्दा पर्सागढीवासीले उनको निकै विरोध गरेका थिए । पर्सागढीको विरोध पश्चात कोल्हवी नगरपालिका पुगेका अधिकृत यादवले केही महिना सहायकमा हाजिर भई अधिकांश समय बिदा बसेका थिए । उनै भ्रष्ट अधिकृत यादवले प्रमुख प्रशासकीय अधिकृतमा हालसालै बढुवा भई कोल्हवी नगरपालिकामा कार्यरत रहेका छन् । अधिकृत यादवलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य ठाउंमा पठाउन चाहेको भए पनि मन्त्री अनिता साहको श्रीमान् सञ्जय साहलाई चाँदीको जुता भेटी चढाई कोल्हवी नगरपालिकामा नै यादव आउन सफल भएको स्रोतको कथन रहेको छ । अधिकृत यादवले कोल्हवी नगरपालिकामा हाजिर भए देखि नै केही जनप्रतिनिधिहरू दाँतले औँला टोक्न बाध्य भएका छन् ।
बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती निवासी अधिकृत यादवले भ्रष्टाचारको कमाईबाट अकुत सम्पत्ति जोडन सफल भएको बताइन्छ । उनले कलैयाको मेनरोड मोतिबाग चौकमा आफ्नै भवनमा कलेज सञ्चालन गरेका छन् भने चन्द्रनिगाहपुरमा सुजुकीको सोरुम पनि सञ्चालनमा ल्याएका छन् । भ्रष्ट अधिकृत यादवले करिब साढे तीन वर्ष अगाडि पिपरपाती गाउँमा करिब डेढ बिगाहामा रहेको फूलबारी करिब ६५ लाखमा र पिपरपाती चौकमा करिब तीन महिना अगाडि २ कठ्ठा जमिन २२ लाखमा किनेको स्रोतले जनाएको छ । उनले यतिमात्र कहां हो र ? काठमाडौंमा १ कित्ता, हेटौडामा २ कित्ता, सिमरामा २ कित्ता र वीरगञ्जमा २ कित्ता घडेरीहरू भ्रष्टाचारको कमाईबाट किन्न सफल भएको बताइन्छ । उनको ३ वटा छोराहरू रहेका छन् भने एक जना अष्ट्रेलिया, एक जना भारतको पञ्जाब र एक जना काठमाडौंमा अध्ययन गरिरहेको स्रोतको कथन रहेको छ ।
लेखा अधिकृत सुरेन्द्र प्रसाद चौधरीको सहयोगमा कोल्हवी नगरपालिकामा लुटतन्त्र मच्चाउन सुरु गरेका भ्रष्ट अधिकृत यादवले भ्रष्टाचारको कमाईबाट आफ्ना र आफ्ना आफ्न्तका नाममा अकुत सम्पत्ति जोडन सफल भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा सचेत नागरिकहरू आश्चर्यमा परेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend