साझा नेटवर्क
कमल पौडेल, बागलुङ असोज २० ।
नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा गुल्मीको आयोजनामा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता जनज्योती मावि मुनपा १ अरेवामा सम्पन्न भएको छ। मानविय सेवामा युवा तथा जुनियरको भूमिका विषयक सो प्रतियोगितामा जनज्योती मावि मुसिकोट नगरपालिकाका प्रतिभा पौडेल प्रथम, जनवोध मावि रुरुक्षेत्र गाउँपालिकाका पुस्पा पौडेल द्धितिय र देविस्थान मावि मालिका गाउँपालिकाका पवन रेग्मी तृतिय भएका छन्।
कार्यक्रममा गुल्मी जिल्लाका ११ पालिकाका प्रतियोगिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल (जिवन)ले रेडक्रसको मानविय सेवा प्रतिको भाव अनुकरणी भएकोले सेवामा जोडिनुपर्ने बताउनु भएको छ। वालप्रतिभाहरुको प्रस्तुतिले युवाहरुमा मानविय भावको जागरणको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै रेडक्रससंग नगरपालिकाले पनि सहकार्य गर्ने बताउनुभएको छ।
एक फरक प्रसंगमा मेयर खरेलले स्थानिय सरकारसँग जनताको अपेक्षा धेरै रहेको तर माथिल्ला सरकारहरुको केन्द्रिकृत मानसिकताका कारण बजेट सिमितता भएकोले अपेक्षित काम गर्न कठिनाइ भएको बताउनुभएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा गुल्मीका उपसभापति एवं जुनियर रेडक्रस युवा समितिका जिल्ला संयोजक कृष्ण प्रसाद भण्डारीले विद्यालयहरु सिकाइ सहजिकरणमा पूर्ण वालमैत्रि हुनुपर्ने, नेपाल रेडक्रस सोसाइटि जस्ता जनकल्याणकारी संस्थाहरुलाई जनप्रतिनिधिले सहयोग गर्नुपर्ने र पालिकाबाट अनिवार्य बजेटको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो। कार्यक्रम व्यवस्थापन गरिरहेको विद्यालयको तर्फवाट जनज्योती माविका प्रधानाध्यापक इश्वरी प्रसाद आचार्यले कार्यक्रम व्यवस्थापनको पक्ष जानकारी गराउँदै धन्यवाद व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको विचविचमा विद्यार्थी तथा शिक्षकहरुको साँस्कृतिक कार्यक्रम राखिएको थियो। कार्यक्रम नेपाल रेडक्रस सोसाईटि मुसिकोट समन्वय समितिका संयोजक भुवन केसिको अध्यक्षता, नेपाल युवा रेडक्रस सर्कल जनज्योती माविका उपाध्यक्ष करुणा पाठकको स्वागत मन्तव्य तथा शिक्षक नायक महलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। सो कार्यक्रममा रेडक्रसकर्मि, विद्यार्थी, विभिन्न विद्यालयका शिक्षकहरु, जनप्रतिनिधि, स्थानिय शैक्षिक व्यक्तित्व तथा पत्रकारहरुको सहभागिता रहेको थियो।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend