logo
  • शुक्रबार, असोज ९ २०८३

एनआरएनए आईसीसी सचिवमा युएई बाट मनोज गोर्खालीको उम्मेदवारी घोषणा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३


काठमाडौं ८ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) का विभिन्न अभियानहरूमा अग्रपंक्तिमै रहँदै– खट्दै आएका मनोज कुमार श्रेष्ठ गोर्खाली ले संघको एघारौँ महाधिवेशनमा आईसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका छन्।

दुबईका सफल व्यवसायी श्रेष्ठले ४ मुख्य एजेन्डा लिएर आईसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका हुन्। सन् २००७ देखि निरन्तर एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्देआएका श्रेष्ठ मध्यपूर्वमा लोकप्रिय मानिन्छन्। एनआरएनए एनसीसी युएईको उपाध्यक्ष, आईसीसी सदस्य, मध्यपूर्व उपसंयोजक हुँदै हाल मध्यपूर्व संयोजक रहेका श्रेष्ठ मध्यपूर्वमा विपत परेका नेपालीहरूले सम्झिने सबैभन्दा पहिलो व्यक्तिमा पर्छन्।

बाढी पीडित नेपालीहरूको उद्धार एवम् सहयोगार्थ ज्यान दिएर खटेका श्रेष्ठले कोभिड कालमा नेपालमा अक्सिजन सिलिन्डर पठाउने अभियानमा समेत नेतृत्वदायी भूमिका खेलेका थिए। आफूले गरेका सामाजिक कार्यहरूको प्रचारप्रसार गर्न नरुचाउने श्रेष्ठले आठौं र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएको तर्फबाट नेतृत्व समेत गरेका थिए।

श्रेष्ठले मध्यपुर्वमा रहेका नेपाली श्रमिकहरूको हकहितका लागि आईसीसीमा निरन्तर आवाज उठाउँदै आएका छन् भने कयौँपटक सरकारको ध्यानाकर्षण समेत गराएका छन्। प्रचारमुखी नभई काममुखी बन्नुपर्छ भन्ने सिद्धान्तबाट आफू प्रेरित भएको श्रेष्ठ बताउँछन्। आफूले अहिलेसम्म एनआरएनएमा रहेर गरेका सामाजिक कार्य र योगदानहरूको सबैले मूल्यांकन गरेका कारण यसपटक सचिवमा उम्मेदवारी दिन लागेको बताएका छन्।

मध्यपूर्वको नेतृत्व गर्दैगर्दा पाएको अवसर र विश्व यात्राले विश्वभर रहेका नेपालीहरूलाई एकताको सुत्रमा बाँधेर सबैको सर्वाङ्गीण हितका लागि लागिपर्न प्रेरित बनेको श्रेष्ठ बताउँछन्। वैदेशिक रोजगारीका लागि युरोपका, अफ्रिका, अमेरिका, अष्ट्रेलियामा रहेका नेपालीहरूको व्यथा समेत मध्यपूर्वमा कार्यरत नेपालीहरूको व्यथा भन्दा फरक नरहेको श्रेष्ठले बताए।

विश्वभर रहेका लाखौं नेपालीहरूको मुद्दामा नेपाल सरकारलाई जिम्मेवार बनाउन आफ्नो उम्मेदवारीले महत्त्व राख्ने श्रेष्ठको भनाइ छ। विश्वभरका एनआरएनए अभियानकर्मीहरूको माया र नेपाली समुदायको साथका कारण यसपटक आफूले अपेक्षित नतिजा प्राप्त गर्ने कुरामा आफू ढुक्क रहेको श्रेष्ठ बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend