logo
  • शुक्रबार, असोज ९ २०८३

विनोदको परिवारलाई अमेरिका स्थित नेपाली क्लबको सहयोग


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

काठमाडौं, ३० भदौ । अमेरिकाको भर्जिनियामा रहेको नेपाली युवाहरूको क्लब ‘एभरेस्ट लाओन्स भलिबल क्लब’ले केही महिना अगाडि निधन भएका गुल्मीका भलिबल खेलाडी विनोद विकको परिवारलाई सहयोग पठाएको छ ।  क्लबले पठाएको सहयोग रकम बिहीवार काठमाडौंमा ‘गुल्मेली सहयोगी हातहरु’ अभियानको सहजिकरणमा विनोदका परिवारलाई हस्तान्तरण गरिएको छ ।

क्लबले स्थानीय प्रतियोगितामा भागलिदै जित हासिल गरि पुरस्कारस्वरूप पाएको पुरस्कारबाट  विनोदको परिवारलाई सहयोग स्वरुप ५६५ अमेरिकी डलर ( अक्षरेपी ७३ हजार ७ सय २० रुपैयाँ ) पठाएको हो । क्लबको तर्फबाट क्लब तथा प्रतियोगताका उत्कृष्ट खेलाडी अनिल भट्टराईमार्फत सहयोग उपलब्ध गराइएको र क्लबका सदस्य गोविन्द घिमिरेले समन्वय गरेको अभियानका उपाध्यक्ष विमल घिमिरेले जानकारी दिए ।

उक्त रकम मुसिकोट नगरपालिकाका निवर्तमान मेयर सोमनाथ सापकोटा, गुल्मेली सहयोग हातहरू अभियानका अध्यक्ष लिला खरेल र अन्य पदाधिकारीको उपस्थितिमा विनोद विककी आमा सीता विक र दिदी लक्ष्मी विकलाई हस्तान्तरण गरिएको हो । गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौर निवासी विनोद भलिबलका उत्कृष्ट र उदीयमान खेलाडी थिए । जिल्ला हुँदै नबौँ राष्ट्रिय खेलमा प्रदेशबाट छनोट भइ उत्कृष्ट प्रदर्शन गरेका विनोदको अल्पायुमै निधन भएको थियो । फोक्सोको क्यान्सरका कारण २० वर्षको उमेरमा विनोदको निधन भएको थियो ।

आर्थिक अवस्था कमजोर रहेको विनोदको परिवारका लागि उपचारको क्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका थिए । भौतिक रुपमा टाढा भएपनि भावनाले सँगै छौ – क्लब सहयोग रकमको साथमा क्लबले विनोदको परिवारको पीडामा भावनात्मक रुपमा सँगै रहेको सन्देश समेत पठाएको छ ।

सन्देशमा भनिएको छ, ‘मान्छेको अभाव पैसाले पूरा गर्न सक्दैन तरपनि पीडित परिवारको केही सामान्य आवश्यकता भने पक्कै पूरा गर्न सक्छ । एक  उदीयमान खेलाडीको अल्पायुको निधनले क्लब परिवार स्तब्ध छौं । भौतिक रुपमा टाढा रहे पनि हामी परिवारको साथमा छौ ।’  विनोद बिक उदीयमान खेलाडी रहेको, नगरपालिकाको गौरव रहेको र उपचारका लागि हरसम्भव प्रयास गर्दापनि बचाउन नसकिएको निवर्तमान मेयर सोमनाथ सापकोटाले बताए ।

अभियानका अध्यक्ष लिला खरेलले पीडामा रहेको विनोदको परिवारलाई सहयोग पठाउने क्लबलाई धन्यवाद दिए । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन अभियानका सचिव रमेश काउछाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend