साझा नेटवर्क
कमल पौडेल, बागलुङ भदौ १५।
प्रतिनिधि सभाका सांसद देवि प्रकाश भट्टचनले विप्रेषणले देश चलेको बताउनु भएको छ । आज खर्वाङमा भएको व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै सांसद भट्टचनले देश भित्र व्यवसायीक बातावरण नभएको र नेताहरुले बोल्ने गरेपनि काम नगरेको टिप्पणी गर्नुभएको छ।

उत्तरगंगा जलाशय युक्त विद्युत आयोजनाको लागि १÷२ महिना भित्रै बातावरणीय प्रभाव मुल्यांकनको काम बन मन्त्रालयबाट हुने तयारी रहेको जानकारी गराउँदै प्रभु ग्रुपका संस्थापक समेत रहेका सांसद भट्टचनले खर्वाङमा प्रभु बैंकको शाखा स्थापनाको लागि पहल गर्ने बताउनु भएको छ।
कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बजार क्षेत्र हराभरा गराउन छिट्टै काम गर्न लागेको जानकारी दिनुभएको छ। मध्यपहाडि लोकमार्ग संग जोडिएको बजार क्षेत्रमा फुलहरुले हराभरा गराउने भन्दै सवैको सहयोगको लागि आह्वान समेत गर्नुभएको अध्यक्ष अधिकारीले इलाका हुलाक कार्यालयलाई खर्वाङमै पुनःस्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रममा स्वागत तथा जानकारी मन्तव्य राख्दै वडा नं. २ का संस्थापक अध्यक्ष तथा जि.स.स. बागलुङका पूर्व उपप्रमुख विष्णु प्रसाद भुसालले खर्वाङ आर्थिक, सामाजिक र ऐतिहासिक हिसावले समेत महत्वपूर्ण भएपनि आर्थिक गतिविधिको चलायमान कम भएको भन्दै बैंकको आवश्यकता र औचित्य माथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रम व्यवसायी खगिश्वर अर्याल (विष्णु) को अध्यक्षता तथा पत्रकार कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. २ का व्यवसायी, विद्यालयका प्रधानाध्यापक, सहकारीकर्मि, वित्तिय क्षेत्रका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend