साझा नेटवर्क
कमल पौडेल, बागलुङ्ग साउन ६ ।
बडिगाड गाउँपालिका वडा नं. ५ स्थीत खहरे खोलामा गएराति आएको भल÷रेलोले खौलार बजारको खहरेखोला तटिय क्षेत्र जोखिममा परेको छ। वडा नं. ५ को झुलेडाँडाबाट वडा नं. ४ को जुरेढुंगा जोड्ने सडक क्षेत्रबाट खसेको पहिरो र ढुंगा गिट्टी सहितको रेलो विहिवार राति झरेको थियो ।
रेलोले खोलाको सतह पुरेर पानी वस्तिमा पसेको छ भने झोलुंगेपुल नजिकको क्षेत्र तथा जलजला जाने सडकमा क्षति गरेको छ। स्थानिय कमलराज आचार्यले भन्नुभयो –“काइलिआमा विरामी हुनुहुन्थ्यो, सवै संगै थियौं, माथिवाट पहिले ठूलो आवाज आयो केहि समयपछि सलल माटोढुंगा सहित निकै ठूलो खोला आयो भागाभाग भयो, रेलोले फर्निचरका केहि काठ समेत वगायो ।
सो खोलाको कारण वडा नं. ५ र ४ जोड्ने सडक समेत विच्छेद भएको छ भने खौलार बजार जोखिममा परेको छ। मानविय क्षति नभएपनि स्थानिय भकभके खानेपानी अवरुद्ध भएको छ। ढाँडाको मुहान पुरेको छ। पाइप बगाएको तथा क्षति गरेकोले खानेपानी सञ्चालनमा समस्या भैरहेको स्थानिय टिका पाइजाले जानकारी दिनुभएको छ।
सोहि स्थानमा २०० वर्ष अगाडि ढाँडबाट पहिरो चलेर सवै पुरेको र पछि स्थानियले खेत बनाएको स्थानिय वृद्ध चिन्तामणि खरेलले बताउनु भयो। उहाँले भन्नुभयो–“बा हरुले भन्नुहुन्थ्यो यो सवै पुरेको रे २०० वर्ष अगाडि, एक पटक खोलो हिँडेको ठाउँमा फेरी खोलो पस्छ भन्थे हो रहेछ, पछि २०२० साल तिर पनि खोलो बढेर क्षति गरेको थियो।
स्थानिय रमेश घिमिरेले २०४२/४३ सालतिर खेत पुरेको आफैले देखेको दावि गर्नुभयो। हाल सवै खेत क्षेत्रमा बजार बढिरहेको छ। तत्कालको लागि पुरिएको खोलाको रेलोलाई वगाएर वा केहि व्यवस्थापन गरेर वस्ति जोगाउने गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भएको छ।
बडिगाड गाउँपालिकाका अध्यक्ष अधिकारी, उपाध्यक्ष भिमसेन वन सहित प्रहरी तथा प्राविधिकहरुको टोली डोजर लिएर घटनास्थल पुगेको थियो । खौलार बजार बडिगाड गाउँपालिकाको विस्तार हुँदै गरेको मुख्य बजार क्षेत्र हो। केहि वर्ष अगाडि सम्म खेत रहेको सो क्षेत्र मानववस्तिमा परिणत हुँदै गएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend