साझा नेटवर्क
साझा नेटवर्क, डडेलधुरा असार १६ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको मन जित्न सके मात्र काँग्रेस बलियो हुने बताएका छन । यसका लागि नेताहरूले ग्रासरुटबाट नै जनताको काम गर्नुपर्ने बताए । कांग्रेस डडेलधुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले ग्रासरुटबाट नै नेताहरूले काम गरे त्यसको प्रभाव देखिने बताएका हुन ।
नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलन लाई सम्बोधन गर्दै नेता महरले ‘कांग्रेस जनमैत्री हुनुपर्छ। त्यसका लागि हामीले जनताकै काम गर्नुपर्छ । ग्रासरुटबाट काम गर्ने नेताहरूले पनि इमान्दार भएर काम गर्नुपर्छ। त्यसैले स्थानीय पालिकादेखि माथिसम्मका नेताहरूले असल काम गरेमात्र ठिक ठाउँमा पुगिन्छ’, उनले भने । स्थानीय तहका जनप्रतिनिधि जनताको नजिकको सरकार भएकाले देखिनेगरि प्रभावकारी काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । 
उनले पछिल्लो समय नयाँका नाममा देखिएको हुण्डरी धेरैदिन नटिक्ने बताए । ‘कांग्रेस कार्यकर्ता केही हतोत्साहित भएका जस्ता, केही नपाइएको पो होकि भन्ने चिन्तनले ग्रसित देखिएका छन्। आत्तिनु पर्दैन। पानीको फोका धेरैबेर टिक्दैन । अहिलेका नयाँ शक्ति पानीको फोका जस्तै हुन् ।
यीनलाई फुट्न धेरै समय लाग्दैन । गफ चुटेरमात्र देश बन्दैन,’ उनले भने। उनले कांग्रेसका नेता कार्यकर्ताहरूलाई समाज र परिस्थितिलाई बुझेर सकरात्मक धारणा बनाइ अगाडी बढ्न सुझाव दिएका छन् । पार्टीभित्र केही कमी कमजोरी रहे पनि सुधार गरेर अगाडि बढ्नुपर्ने महरले बताए ।
‘पछिल्लो समय इतिहास कसैले खोज्दैनन् । सतही कुराको पछि लाग्छन् । जुन गलत छ। यसले मुलुकलाई दीर्घकालिन फाइँदा पुग्दैन,’ उनले भने । डडेलधुरामा बजेट धेरै परेको भनेर काठमाडौंमा विरोध भइरहेको र त्यसको तुक नरहेको पनि उनले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend