साझा नेटवर्क
काठमाण्डौ, असार ११ ।
नेकपा एमाले गुल्मीका तत्कालीन अध्यक्ष टोमलाल पाण्डेको ७०औं जन्मदिन पारेर काठमाडौंमा धुर्कोट काठमाडौ सम्पर्क मंचले स्मृती कार्यक्रम गरेको छ । शनिवार शंखमुल स्थित एआईए स्कूलको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न दलका नेता तथा पाण्डेका समकक्षीले टोमलाल पाण्डेको राजनीतिक सामाजिक जीवनका विविध पक्षमा चर्चा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले टोमलाल पाण्डेका विविध राजनीतिक र सामाजिक सेवाका पक्षमा प्रकाश पारेका थिए । उपमहासचिव ज्ञवालीले लामो समय गुल्मी जिल्लाको राजनीतिक र सामाजिक सेवामा आवद्ध पाण्डे नयाँ पुस्ताका लागि अनुकरणिय व्यक्ति रहेको स्मरण गरे । राजनिति म केन्द्रित बनिरहेको समयमा टोमलाल जस्ता त्यागी नेता सधै र सबैका उत्प्रेरणाका श्रोत रहेको उपमहासचिव ज्ञवालीले बताए ।
पाण्डेलाई सम्झदै नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले लामो समयदेखी आफू उहाँकै सानिध्यमा रहेर काम गरेको स्मरण गरेका थिए । पार्टीको काममा लमजुङमा रहेका सचीव विष्टले फोन मार्फत सम्बोधन गर्दै बिष्टले आफु सानैदेखि टोमलालको सरल र सहयोगी सोचबाट प्रभावित भएको बताउदै विद्यार्थी कालमा गरेको सहयोगको स्मरण गरे ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराइले धेरै मान्छे पद र शक्तिले अरुमाथि राज गर्ने तर टोमलाल त्याग र समर्पणले आम मानिसको दिलमा बसेको सच्चा इमान्दार नेता भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेका पुराना मित्र तथा वरिष्ठ बामपन्थी नेता लोककृष्ण भट्टराईले पुस्पलाल माओजस्ता र टोमलाल चाउएनलाई जस्ता नेता भएको बताए ।
०२७ सालमा पुस्पलालको हातबाट कम्युनिस्ट पार्टिको सदस्यता लिएर राजनितिमा होमिएका पाण्डेलाइ नेपाली काङ्ग्रेसका नेता त्रैलोक्य प्रताप शेनले आदर्श बामपन्थी नेताको रुपमा सस्मरण गरे । पाण्डे गुल्मी जिल्ला बार एसोसिएसनको अध्यक्ष समेत रहनु भएको थियो ।
पाण्डेका पुराना मित्र तथा वरिष्ठ अधिवक्ता रबिनारायण खनालले पाण्डे राजनिती, न्याय नीति र समाजसेवाको अथक योद्धा रहेको सम्झना गरे । माओबादी केन्द्रका केन्द्रीय सदस्य निलकण्ठ तिवारीले राष्ट्रियता अफठ्यारो परेको अहिलेको अवस्थामा टोमलाल पाण्डेजस्ता राष्ट्रबादी नेताको अभाव खड्किएको बताए ।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिनेश पन्थी, एमाले केन्द्रिय सदस्य गणेश खनाल, केन्द्रिय लेखा आयोग सदस्य भिम पौडेलले पनि पाण्डेको जीवनका बिबिध आयाम बारे प्रकाश पार्नु भएको थियो । नेपाली काङ्ग्रेसका नेता छन्द पहराई, गुल्मीका पुर्व सांसद टङ्क पोखरेल, नेकपा मालेका नेता ओम अर्याल र बाम बुद्धिजीवी खिमानन्द पन्थी, एमाले नेता सुशील भट्टराई र गणेश श्रीपालीले पनि कार्यक्रममा टोमलाल पाण्डेको बारेमा बोलेका थिए ।
पाण्डे बि.स २०३१ देखि २०३५ सम्म अबिभाजित अनेरास्ववियुको केन्द्रिय नेता हुनुहुन्थ्यो । यस्तै एमालेका हालका अध्यक्ष केपी ओली सस्थापक अध्यक्ष रहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको सस्थापक सचिव हुनुहुन्थ्यो । नेकपा एमाले धुर्कोट गाउँपालिका काठमाण्डौ सम्पर्क मन्चको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता मंचका अध्यक्ष विमल घिमिरेले गर्नु भएको थियो । भने संचालन मंचका सचीव रमेश काउछाले गर्नु भएको थियो ।
त्यस्तै सम्पर्क मंचले गुल्मीको धुर्कोटमा निर्माणधिन टोमलाल बोमलाल स्मृती भवनमा नेताद्वयको शालिक निर्माण गर्ने घोषणा गरेको छ । गुल्मीको वामपन्थी आन्दोलनमा अमूल्य योगदान दिएका नेताहरु स्वर्गीय टोमलाल पाण्डे र बोमलाल खड्काको शालिक निर्माण गरि धुर्कोटमा निर्माणाधिन भवनमा राख्ने मंचका अध्यक्ष विमल घिमिरेले जानकारी दिए । साथै नेताहरुको स्मृती ग्रन्थ प्रकाशनको तयारी गरिएको पनि घिमिरेले बताए । शालिक निर्माण र स्मृति प्रकाशनका लागि विभिन्न उपसमिति बनाएर काम शुरु गरिसकिएको मंचका सचिव रमेश काउछाले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend