logo
  • शुक्रबार, असोज ९ २०८३

कालिकामाई गापा अध्यक्ष बशिष्टले अदालतको आदेशलाई धज्जी उडाउदै, स्वास्थ्य शाखाका संयोजकलाई हाजिर गर्न दिएनन्


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

वीरगंज, असार ५।
पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ट कुमारले सम्मानित सर्वोच्च अदालतको आदेशलाई धज्जी उडाएका छन् । गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक योगेन्द्रप्रसाद चौरसियाले स्वास्थ्य शाखाको संयोजकको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सोही मुद्दाबाट चौरसियालाई स्वास्थ्य शाखाको संयोजक बनाउन आदेश जारी गर्दै कामकाज गर्न अवरोध नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरे पनि पालिका अध्यक्ष वशिष्टले पालिकाको हाजरी रजिष्टर आ दर्ता चलानी आफ्नो नियन्त्रणमा लिई हाजिर नगराएको जनाईएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा कर्मचारी चौरसियाले पत्रकार सम्मेलन गर्दै आफू र गाउँपालिका अध्यक्षबीच भएको विवादले नियमानुसार अदालतमा मुद्दा गरेर आदेश गराएर आए पनि अध्यक्षले नमानेको बताए ।

आफुलाई पालिका अध्यक्षले मनोमानी तरिकाले पालिकाको स्वास्थ्य संयोजकबाट हटाएको आरोप लगाए । अध्यक्ष बशिष्टले बिना कुनै कारण पूर्वाग्रही रुपमा २०७८ असारमा स्वास्थ्य संयोजकबाट हटाई तल्लो तहको कर्मचारी सन्त प्रसाद कम्करलाई स्वास्थ्य संयोजक बनाएकोमा म अदालतको शरणमा पुगेको थिए । अदालतले मलाई न्याय दिए पनि पालिका अध्यक्षले हाजरी रजिष्टर र दर्ता चलानी किताब नै लुकाई हाजिर हुनबाट रोक्दै न्यायलयको निर्णयलाई खुल्ला चुनौति दिरहेका छन् ।

पालिकाको सिनियर अहेब पदमा कार्यरत रही आएका आफूलाई अध्यक्षले नियमविपरीत हटाएर तल्लो तहका कर्मचारीलाई राखेको बताउँदै चौरसियाले नियम कानुन पनि मिचेको तथा न्यायको लागि अदालतबाट आदेश गराएर ल्याउँदा उल्टै आफ्नो कार्यकक्षमा तालाबन्दी गरेर हाजिरी गर्न नदिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले पालिका अध्यक्षले अदालतको आदेशलाई समेत नमान्दा आफू बाध्य भई पत्रकार सम्मेलन गर्नुपरेको बताए । चौरसियाले वैशाख २ गतेदेखि नै अध्यक्षले आफ्नो हाजिरी रजिष्टरमा रातो कलमले केरमेट गरी मन्त्रालयमा पठाएर हाजिरी गर्नबाट समेत वञ्चित गर्दै आएको बताए । आफ्ना समस्याहरुलार्ई लिएर चौरसियाले सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् ।

अध्यक्ष बशिष्टले कार्यकक्षमा ताला लगाए पछि पालिका उपाध्यक्षले तोकआदेश गरी हाजिर हुन प्रशासन शाखालाई पठाए पनि प्रशासन शाखाका सरोज साहले आफु सँग दर्ता चलानी नरहेको बताए थिए । चौरसिया मात्र नभई पालिकाका सम्पूर्ण कर्मचारीहरु गत सोमबार देखि हाजिर गर्न नपाएको बताउदै अध्यक्षले एक हप्ता देखि हाजरी रजिष्ट आफ्नो कब्जामा लिएको र दर्ता चलानी पनि कब्जामा लिएकोले सेवाग्रहीहरुको काम पनि हुन नसकेको सरोज साहले बताए ।

पालिकामा हाल प्रमुख प्रशासकीय अधिकृत बिहिन भएकोले कार्यालयको कामकाज लथालिङ्ग अवस्थामा पुगेको बताए । सो विषयमा गाउँपालिकाका अध्यक्ष वशिष्ट कुमारले काममा भन्दा पनि बढी राजनीतिमा योगेन्द्र चोरसियाले ध्यान दिने गरेका कारण पालिकाको स्वास्थ्य शाखा नै समस्यामा परेको बताए ।

कामभन्दा पनि केही मानिसलाई लिएर गुटबन्दी गरेर राजनीतिमा कर्मचारी भएर केन्द्रित भएका कारण आफूले नियमानुसार छैटौँ तहकै धीरज साहलाई स्वास्थ्य शाखाको संयोजकमा राखेको जिकिर गरे । पत्रकार सम्मेलनमा पालिकाका कर्मचारी एवं सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend