logo
  • शनिबार, साउन ३० २०८३

मदानेका युवाको निजी लगानीमा तिलोत्तमामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

चक्र चन्द,गुल्मी असार ५ ।

रुपन्देहीकाे तिलोत्तमामा ४० करोड रुपैयाँकाे निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्ने भएकाे छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा बन्ने एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको एक कार्यक्रमका बीच शिलान्यास सम्पन्न गरिएको  छ ।

मैदान निर्माणका लागि करिब दुई वर्ष अघिदेखि जग्गा खरिद प्रक्रिया सुरु गरिएको थियो । पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणकाे प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक विनोद कुँवरले बताउनु भयाे । गएको दुई हप्ता झन्डै ८ सय ट्रक माटो हालेर जग्गा सम्याइएकाे थियाे ।

पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रङ्गशाला बनाइने र प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने याेजना रहेकाे कुँवरले बताउनुभयाे । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रङ्गशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।कुँवरले सरकारले एउटा राम्रो अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन नसकेको र चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय मैदान अलपत्र परेको अवस्थामा आफूले एकल लगानीमा मैदान निर्माण सुरु गरेको बताउनु भयाे । मैदान निर्माणको लागि अहिले नै रकम सुनिश्चित गरिएको उहाँको भनाइ छ ।

एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक कुँवर तथा चिफ अपरेटिङ अफिसर सुदीक्षा गौतमसँग यस रङ्गशालाको स्वामित्व रहेकाे छ । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी ट्रेनिङ इन्सिच्युट हो । पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डर रहनुभएकाे छ ।

यो क्रिकेट रङ्गशालामा होस्टल सहितको एकेडेमी र ट्रेनिङ सेन्टर रहने छ भने शक्ति गौचनलाई यसको जिम्मेवारी दिइएको छ । रङ्गशाला कम्पाउन्डमा चार तलाको भवन बनाएर १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने याेजना रहेकाे छ ।

यूएईमा लामो समय बसेर अवुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा रहनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend