साझा नेटवर्क
साझा नेटवर्क,काठमान्डु जेठ २६ ।
भारत सरकारले सहयोगस्वरुप दिने भनिएको मुर्रा जातका १५ वटा राँगा नेपाल आइपुग्न दुई महिना लाग्ने भएको छ । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले भारतले नेपाललाई उपलब्ध गराउने भनेको १५ वटा मुर्रा राँगा आउन दुई महिना लाग्ने बताउनु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको यो सहमति अहिले निक्कै चर्चाको विषय पनि बनेको छ । नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ ।नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, नेपालगञ्ज र लहानमा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ ।
सूचना अधिकारी ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन् । उन्नत नश्लका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी देशभरिका किसानका गोठमा पुर्याइ भैँसीमा कृत्रिम गर्भाधान गराइ नश्ल सुधार गरिनेछ ।
भैँसीपालन पेसाबाट किसानपछि हट्दै गएको अवस्थामा आउने दिनमा भैँसीको नश्ल सुधारको कारण किसानलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend