logo
  • शनिबार, साउन ३० २०८३

कांग्रेसले सरकारमा जाने मन्त्रीका नाम करिब टुंगायो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, चैत १२।
सत्ताको प्रमुख दल नेपाली कांग्रेसबाट सरकारमा सम्मिलित हुने व्यक्तिहरुमा पाँच जनाको नाम टुंगिसकेको नेताहरुले दाबी गरेका छन् ।कांग्रेसले आठ मन्त्रालयको दाबी गरे पनि सात मन्त्रालयमा चित्त बुझाउनुपर्नेमा नेताहरु विश्वस्त छन् । सात मन्त्री र एक राज्यमन्त्री हुने आकलन कांग्रेसभित्र छ । शीर्ष तहमा भएको छलफल र सभापति शेरबहादुर देउवाले दिएको आश्वासन लगायतले पाँच जनाको नाम टुंगिएजस्तै छ । कांग्रेस नेताहरुका अनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ मन्त्री बन्ने निश्चित छ ।
प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय एनपी साउद र सीता गुरुङ मन्त्री हुनेको सूचीमा रहेको कांग्रेस स्रोतको दाबी छ ।गृह मन्त्रालयको दाबी गरेका उपसभापति खड्का पार्टीबाट नेतृत्व गरेर सरकारमा जाने भएका छन् । तथापि, उनले गृहमन्त्रालय पाउने सम्भावना क्षीण छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्रालय आफ्नै दलबाट बनाउने पक्षमा छन् । गृह मन्त्रालय सम्भव नभए पनि खड्का पार्टीबाट नेतृत्व गरेर जान सहमत देखिएको शीर्ष तहका एक नेता बताउँछन् ।

पाँच जनाको नाम करिब टुंगिएकाले २ मन्त्री र १ राज्यमन्त्रीको नाम पार्टीभित्र चयन हुन बाँकी छ । सात मन्त्रीबाट संस्थापनइतरले ३ माग गरे पनि दुई जना मात्रै पाउने अवस्था रहेको नेताहरु बताउँछन् । त्यसो हुँदा संस्थापन पक्षले मन्त्री र राज्यमन्त्री १/१ र संस्थापनइतरले १ जना मन्त्रीको नाम टुंगो लगाउनुपर्ने हुन्छ ।

अर्का उपसभापति गुरुङ संस्थापनइतरबाट मन्त्री हुने पहिलो सूचीमा छन् । संस्थापनइतरका नेताहरुका अनुसार शेखर-गगन समूहबाट गुरुङको नाम टुंगिएजस्तै हो । संस्थापनइतरमा पहिलो वरीयता हुनुको साथै जनजाति हुनुको लाभ उनले उठाउने भएका छन् । सभापति देउवाले उपसभापति गुरुङलाई मन्त्रीको वचन दिइसकेको संस्थापन पक्षका शीर्ष नेताले दाबी गरे । अघिल्लो साता गुरुङ निवासमा भेट्न गएका कार्यकर्तालाई आफू मन्त्री बन्न लागेको उनले सुनाएका थिए ।

सभापति शेरबहादुर देउवाको सर्वाधिक जोडबल प्रवक्ता डा. प्रकाशशरण महतमा छ । देउवाले अर्थमन्त्रीको पदमा महतलाई पुर्‍याउन बल गरिरहेका छन् । नेतृत्व गरेर जाने इच्छा सहित महतले उपसभापति खड्कालाई रोक्न खोजिरहेको कांग्रेसभित्र चर्चा हुँदै आएको छ । अर्थ मन्त्रालयमा खड्काले जिम्मेवारी सम्हाले भने महतले परराष्ट्र मन्त्रीको दाबी गर्ने कांग्रेसका एक नेता बताउँछन् । महतसँग परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव पनि छ । तर, महत निकट एक नेताका अनुसार अर्थ मन्त्रालय बाहेकमा उनको कम रुचि छ ।

उद्योगपति विनोद चौधरीको पनि यो मन्त्रालयमा जानका लागि तीव्र लबिङ छ । सहमहामन्त्री किशोर सिंह राठोर यसपटक मन्त्री भइछाड्ने पक्षमा छन् । सभापति देउवाले आश्वासन दिए पनि राठोर ढुक्क भने भइसकेका छैनन् । मन्त्री हुने दौडमा संस्थापनबाट रामहरि खतिवडाको चर्चा अघिल्लो पङ्तिमा छ । ‘संख्या र मन्त्रालयको छलफल हुन अझै २/३ दिन लाग्ला जस्तो छ’ खतिवडाले भने ।

तेजुलाल चौधरी, अजय चौरसिया र रमेश रिजाल मधेशबाट मन्त्रीका आकांक्षी हुन् । चौधरी संस्थापनइतरका हुन् । सभापति देउवाले चौरसिया र रिजाल मध्येबाट एक जना रोजे भने संस्थापनइतरका चौधरी मन्त्री हुनबाट वञ्चित हुन्छन् । चौधरी राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् । भर्खर राष्ट्रपतिमा पौडेल पुगेकाले उनी पक्षीयलाई देउवाले मन्त्री नबनाउने सभापति निकट एक नेताले बताए ।

‘रामचन्द्र भर्खर राष्ट्रपति हुनुभएको छ । उहाँले भाग खोज्नुहुन्न’ संस्थापन पक्षका नेता भन्छन् । चौधौं महाधिवेशनबाट पौडेल समूहविहीन भएपछि चौधरी शेखर पक्षमा लागेका थिए । संस्थापन समूहबाट मोहन बस्नेत, उदयशमशेर राणा, वीरबहादुर बलायर लगायत पनि मन्त्रीको तीव्र आकांक्षी छन् ।

नेता शशांक कोइरालाले आफ्नो तर्फबाट १ जना मन्त्री हुनुपर्ने माग अघि सारेका छन् । दीपक गिरी र दीपक खड्का मध्ये एक जनालाई उनले मन्त्री बनाउन चाहेका छन् । संस्थापनइतर समूहमा रहेका गिरी नेता शशांक निकट छन् । उनकै पहलमा गत साता इतर समूहको भेला समेत भएको थियो । संस्थापनइतरमा जीवन परियार, बद्री पाण्डे, सञ्जय गौतम, डिगबहादुर लिम्बु मन्त्रीको आकांक्षी छन् ।

भौगोलिकता अनुसार मन्त्री छनोट मापदण्ड हुँदा सुदूरपश्चिमबाट साउद मन्त्री बने भने सहमहामन्त्री बद्री पाण्डेसहित बलायरको मन्त्री हुने बाटो रोकिनसक्छ । गत बिहीबार बसेको संस्थापनइतरको बैठकमा बोल्ने क्रममा नेता शेखरले मन्त्री हुन नपाए चित्त नदुखाउन आफूपक्षीय सांसदहरुसँग आग्रह गरेका थिए ।युवापुस्ताबाट मन्त्री हुनेको नाममा प्रदीप पौडेलको चर्चा छ ।

पौडेलको पक्षमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि सकारात्मक छन् । मन्त्री बनाउनका लागि पार्टीले समावेशिता, योगदान, प्रादेशिक सन्तुलन र क्षमतालाई मापदण्ड बनाएको छ । कांग्रेसले अर्थ, परराष्ट्र र रक्षासहित ७ मन्त्रालय पाउने सम्भावना छ । पार्टीले कुन-कुन मन्त्रालय पाउँछ भन्ने निश्चित भएसँगै त्यस अनुसार व्यक्ति छनोट हुने नेताहरु बताउँछन् । सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि आइतवार थप प्रगति भएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend