साझा नेटवर्क
साझा नेटवर्क काठमाडौ फागुन २६ ।
माओवादी धाराका घटकहरूको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ। शुक्रबार बिहान सम्पन्न बैठकले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका सन्दर्भमा समान धारणाका साथ जनतामा जाने निर्णय गरेको छ। बैठकले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते संयुक्त अन्तरक्रिया गर्ने समेत निर्णय गरेको छ।
पत्रकार सम्मेलन अघि संयुक्त अपीलसमेत जारी गरिनेछ। अन्तरक्रियामा माओवादी घटकका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ। विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनुपर्ने भन्दै राजनीतिक स्थिरता र स्थायी शान्तिको पक्षमा जनतामा जाने निर्णय पनि गरेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द “विप्लव”, नेकपा (क्रान्तिकारी–माओवादी) का नेता सिपी गजुरेल, नेपाल समाजवादी पार्टीका नेता हिसिला यमी, नेकपा (बहुमत) का नेता हेमन्तप्रकाश ओली, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, नेताहरू कृष्णबहादुर महरा, देव गुरूङ, जनार्दन शर्मा “प्रभाकर”, देवेन्द्र पौडेल, खड्कबहादुर विक “प्रकाण्ड”, कर्णजीत बुढाथोकी लगायत उपस्थित हुनुहुन्थ्यो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend