साझा नेटवर्क
कमल पौडेल,बागलुङ माघ २ ।
गण्डकी प्रदेश सभाको उपसभामुखमा बागलुङ बडिगाडकी विना थापा निर्वाचित हुनुभएको छ। नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित थापाले ३२ मत ल्याएर निर्वाचित हुँदा कांग्रसका उमेदवार पार्वती तामाङले २६ मत ल्याउनुभएको थियो ।
थापालाई सत्तारुढ गठबन्धनका सांसदहरुको समर्थन थियो। थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद १ गरि कुल ३२ मत प्राप्त गर्नुभएको छ भने कांग्रेस सांसद तामाङले आफ्नो पार्टीका २६ मत प्राप्त गर्नुभएको छ । काँग्रेसको प्रदेश सभामा २७ जना सांसद भएपनि एक जना सांसद अनुपस्थित रहेका थिए ।
यस अघि पुस ३० गते गण्डकी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित हुनुभएको थियो ।
को हुन् विना थापा ?
गण्डकी प्रदेशको उपसभामुख विना थापा बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नं. १ ओवाङमा बुवा डिल बहादुर थापा तथा आमा ललिता थापाको कोखबाट वि.सं. २०३० चैत्र १५ गते कान्छि छोरीको रुपमा जन्मिनुभएको हो । राजनीतिकर्मि संगै महिला तथा बाल अधिकारकर्मि, सहकारीकर्मि र गैरसरकारीकर्मीको परिचय बनाउनुभएकी थापा विद्यालय उमेरवाटै राजनितिमा संगठित हुनुभएको थियो ।
वि.सं. २०४६ सालबाटै अनेरास्ववियूमा आवद्ध हुँदै राजनैतिक गतिविधिमा सक्रिय थापाले २०५३ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो। त्यसपछि निरन्तर राजनितिमा सक्रिय थापा गाउँ कमिटि, क्षेत्रिय कमिटि हुँदै हाल तेस्रो कार्यकालको लागि जिल्लाकमिटिमा क्रियाशिल रहनुभएको थियो। हाल अखिल नेपाल महिला संघको जिल्ला कमिटि सचिव रहनुभएकी थापा नेकपा एमाले जिल्ला कमिटि बागलुङको सचिवालय सदस्य समेत रहनुभएको थियो।
वि.सं. २०५४ सालदेखि सामाजिक तथा गैरसरकारी क्षेत्रमा जोडिनुभएकी थापा निरन्तर सामाजिक जागरण र महिला अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएको थियो। बडिगाड महिला तथा वालवालिका शसक्तिकरण केन्द्रको अध्यक्ष रहनुभएकी थापा महिला जागरण केन्द्र दगातुन्डाडाको पनि अध्यक्ष रहनुभएको थियो। दिदिवहिनि वचत तथा ऋण सहकारी संस्थाको सचिव तथा प्रवन्धकको रुपमा काम गर्दै आउनुभएकि थापा सञ्चार क्षेत्रमा समेत जोडिनुभएको थियो । बडिगाड गाउँपालिका २, खर्वाङमा रहेको रेडियो सारथी १०७.४ मेघाहर्जको सञ्चालक समितिको उपाध्यक्षमा रहनुभएकी थापा विगत ३ वर्षदेखि प्रशासकिय अधिृकतको रुपमा काम गर्दै आउनुभएको थियो ।
मानवअधिकार, महिला तथा बाल अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएकी थापा इमान्दार र कुशल व्यवस्थापकको रुपमा चिनिनुहुन्छ। नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा बागलुङको उपमन्त्रि भैसक्नुभएकी थापा जिल्ला सहकारी संघमा सदस्यको रुपमा जिम्मेवारी समेत बहन गर्नुभएको थियो। समाजशास्त्र विषयमा स्नतकोत्तर तहसम्म अध्ययन गर्नुभएकी थापा नेतृत्व विकास, महिला अधिकार, सिपमूलक सिर्जना, व्यवसायीक योजना लगाएतका विषयमा कुशल प्रशिक्षकको रुपमा समेत भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।
उपसभामुखको जिम्मेवारी प्राप्त गरेपछि लामोसमयको राजनीतिको प्रतिफल पाएको महसुस गर्नुभएकी थापाले पार्टिले पुर्याएको राजकिय जिम्मेवारी विगतको अनुभवले कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो –“जिम्मेवारी प्राप्त गर्दा खुसि नहुने कुरै भएन, खुसि नै छु र थप जिम्मेवारी तथा चुनौति थपिएको महसुस पनि गरेकी छु, राजनीतिक, सामाजिक क्षेत्रमा काम गरेको अनुभवलाई पूर्णरुपमा उपयोग गर्दै निष्ठापूर्वक जिम्मेवारी पुरा गर्नेछु।”
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend