साझा नेटवर्क
साझा नेटवर्क, मंसिर २०।
तारा एयर कम्पनीले मुस्ताङमा दुर्घटनाग्रष्त विमानको सामग्री संकलन सुरु गरेको छ।
कम्पनीले सोमबारदेखि मुस्ताङको थासाङ गाउँपालिका –२ मा पर्ने पानीपाथी हिमालको फेंद सानुसरे पहाडमा छरिएको दुर्घटनाग्रष्त विमानको सामग्री संकलन सुरु गरेको हो।
गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी टुईनेटर विमान मुस्ताङको सानुसरे पहाडमा दुर्घटनाग्रष्त भएको थियो। त्यसबेला विमानमा सवार १९ जनाले ज्यान गुमाएका थिए। तारा एयरको विमान दुर्घटना भएको ७ महिनापछि विमानको टुक्राटाक्री सामग्री उठाउँन सुरु गरिएको हो।
विमानको टुक्राटाक्री सामग्री संकलन गर्न स्थानीय प्रशासन, प्रहरी र एक्याप जोमसोमसँग अनुमति लिएको थियो। एयरले दुर्घटनाग्रष्त विमानको सामग्री संकलन गर्ने जिम्मा समाजसेवी एवं सडक सुपरभाइजर इन्द्रसिंह शेरचनलाई जिम्मा दिएको बताए । शेरचनकै अगुवाइमा अहिले पानीपाथी हिमालको सानुसरे पहाडमा विमानको टुक्राटाक्री सामग्री संकलन गर्ने काम सुरु भएको छ।
‘तारा एयरले विमानको सामग्री खोज्न र संकलन गर्न आफुलाई जिम्मा दिएको छ,’ शेरचनले भने,‘ मसहित ७–८ जना जनशक्ती लगाएर सामग्री संकलन गर्न थालेका छौं।’ उनले सानुसरे पहाडबाट सामग्री संकलन गरेर सडक मार्गमा ल्याई पुर्याउन एक हप्ता लाग्ने जानकारी दिए।
कम्पनीले त्यति बेला ब्ल्याक बक्स सम्बन्धित निकायमा पुर्याएपनि विमानको अन्य सामग्रीहरू पानीपाथी हिमालको सानुसरे पहाडमा छरपष्ट देखिन्थ्य । रासस।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend